ए डिभिजन लिग : मछिन्द्र र आर्मीबीचकाे खेलसँगै ४३औँ संस्करण आजबाट सकिँदै

 फागुन ३, २०७६ शनिबार ११:५१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिगको ४३औं संस्करण आजबाट सकिँदैछ । आज यो संस्करणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब प्रतिष्पर्धा गर्दैछन् ।

यही खेलले उपाधिको छिनोफानो पनि गर्नेछ । लिग तालिकाको शीर्ष स्थानमा आर्मी छ भने एक अंक कम रहेको मछिन्द्र दोस्रो स्थानमा छ । १२ खेलमा दुबै टिमले नौ जित, दुई बराबरी र एक हारको नतिजा निकालेका छन् । तर, अघिल्लो संस्करणको लिगमा पुछारबाट दोस्रो स्थानमा रहेको मछिन्द्र एक अंकको कारवाहीका कारण पछि छ ।

तालिकामा आर्मी २९ अंकका साथ शीर्ष स्थानमा छ भने मछिन्द्र २८ अंकसहित दोस्रो स्थानमा छ । क्लब इतिहासमै पहिलो लिग जित्ने लक्ष्यमा रहेको मछिन्द्रलाई जित अनिवार्य छ । पहिलो उपाधिको नजिक रहेको आर्मीलाई भने बराबरी पर्याप्त छ ।

२०६३ को लिगमा उत्कृष्ट प्रदर्शन गरेको आर्मी अन्तिम खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएर उपविजेतामा सीमित बनेको थियो । यसअघिको सिजनमा पनि आर्मीले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, उसलाई बराबरीको नतिजाले डुबाएको थियो ।

पछिल्लो समय ‘स्पिड र फिटनेस’ का कारण आर्मी विपक्षीको टाउको दुखाई बन्दै आएको छ ।

अघिल्लो सिजनको ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबका झण्डै एउटा सेट र केही उत्कृष्ट खेलाडी सम्मिलित गरेको मछिन्द्र पनि बलियो अवस्थामा छ । उसले यो सिजन २४ गोल गरिसकेको छ । त्यसमाथि आज विमल घर्तिमगर पनि मछिन्द्र टिममा हुनेछन् ।

मनाङबाट गएका कप्तान विराज महर्जन, वैकल्पिक कप्तान सुजल श्रेष्ठ, विशाल राई, गोलकिपर विशाल श्रेष्ठ, लगायतका खेलाडी मछिन्द्रमा रहेका कारण उसको यो लिगमा प्रदर्शन राम्रो भइरहेको छ ।

लिगको आजको खेल दशरथ रंगशालामा दिउँसो एक बजे सुरु हुनेछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया