विदेशमा कमाएको पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गरौं

 फागुन ४, २०७६ आइतबार १६:१६:४८ | डा. गुणाकर भट्ट

वैदेशिक रोजगारीमा गएका दाजुभाइ दिदीबहिनीले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान गरिरहनुभएको छ, त्यसमा दुईमत छैन । उहाँहरुले आफ्नो कमाई परिवारको शिक्षा, स्वास्थ्यदेखि अतिआवश्यक आवश्यकतामा खर्च गर्नुभएको छ । यसले मानव पुँजी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

अहिले विप्रेषण आप्रवाहको अवस्था हेर्ने हो भने नेपालमा बढ्दै गइरहेको छ । २० वर्षअघि कुल ग्राहस्थ उत्पादनको १० प्रतिशतजति विप्रेषण आप्रवाह देखिन्थ्यो भने अहिले त्यसको अनुपात २५ प्रतिशत रहेको छ । केही वर्षअघि त कुल ग्राहस्थ उत्पादनसँगको विप्रेषण आप्रवाह हेर्दा त २९ प्रतिशतसम्म पनि पुगेको अवस्था हो। 

अहिले ८ सय ८० अर्ब विप्रेषण आएको छ । यसमा खाडीका देशमा जाने नेपालीको महत्वपूर्ण योगदान छ । त्यसबाहेक अरु विभिन्न देशबाट पनि विप्रेषण आउँछन् ।

हाम्रो छिमेकी देश भारतबाट पनि उल्लेख्य मात्रामा विप्रेषण आप्रवाह हुने गरेको छ । तर केही वर्ष अघिको तथ्याँक हेर्ने हो भने नेपालमा प्राप्त हुने विप्रेषण अर्थात रेमिट्यान्स निकै कम उत्पादनमुलक क्षेत्रमा खर्च भएको पाइन्छ ।

सन् २०१०/०११ मा केन्दीय तथ्याँक विभागले नेपाल जीवनस्तर सर्वेक्षण गर्‍यो । त्यसकै आधारमा अहिले हामीले विश्लेषण गरिरहेका छौं । पछिल्लो तथ्याँक भने आउन बाँकी छ ।

अहिले चौथौ नेपाल जीवनस्तर सर्वेक्षण गर्न केन्द्रीय तथ्याँक विभाग गइरहेको छ । यो अध्ययनमा ९ हजार घरपरिवारको नमुना लिइन्छ । यसले नयाँ तथ्याँक पक्कै आउँछ । 

उत्पादनमुलक क्षेत्रमा कम लगानी हुनुको कारण

केन्द्रीय तथ्याँक विभागले गरेको नयाँ सर्वेक्षणपछि नयाँ तथ्याँक ल्याउने छ । तर त्यो बेलाको तथ्याँकलाई आधार मान्दा हामीले के बिर्सन हुँदैन भने नेपालमा विप्रेषण आप्रवाहको  विदेशी विनिमय सञ्चितीमा अथवा देशको अर्थतत्रमा योगदान पुग्न थालेको १० वर्ष मात्र भएको थियो । र प्रारम्भिक अवस्थामा विपे्रषण आफ्नो अवश्यकतामै खर्च हुन्छ ।

हामीलाई विप्रेषण पठाउने मानिस कस्ता छन् भनेर पनि ध्यान दिनु पर्छ । जस्तै विप्रेषण पठाउनेहरु भनेको गाउँठाउँका युवा जसले नेपालमा रोजगारी प्राप्त गर्नुभएन, जसलाई आफ्नो घरपरिवारको जीनव निर्वाहका लागि परदेश जानु पर्‍यो ।

उहाँहरुलाई परिवारलाई कसरी पाल्ने, शिक्षा स्वाथ्यमा कसरी लगानी गर्ने भन्ने चिन्ता हुन्छ । त्यसैले पनि मानिसले सिधै उद्योगधन्दामा लगानी गर्नेभन्दा पनि आफ्नै घरको अवश्यकतामा बढी खर्च गर्छ । गरिबी निवारण, लत्ताकपडासँग बढी खर्च हुन्छ । त्यसैले सुरुमा आम्दानीको ठूलो हिस्सा नेपालमा मात्र नभएर विश्वमै अत्यावश्यक कुरामा खर्च हुने गर्दछ । 

त्यसैले हाम्रो परिवेश, हाम्रो वस्तुस्थिती के हो त भन्दा अत्यावश्यक आवश्यकता परिपूर्ति गरिसकेपछि पनि मानिसले स्वभाविक रुपमा आधारभूत आवश्यकताको परिपूर्ति नै खोज्छ । बल्ल मात्र उत्पादनमुलक क्षेत्रमा लगानी गर्छ । त्यसैले पनि नेपालमा विप्रेषण उत्पादनमुलक क्षेत्रमा कम मात्रामा लगानी भएको हो ।

उत्पादनमुलक क्षेत्र

साना मझौला उद्योग, कृषि, पशुपालन, सानो व्यापार । ठूलो क्षेत्र हेर्ने हो भने गाउँमा कुनै हाइड्रोपावर आइरहेको छ त्यसमा लगानी गर्ने, त्यसैगरी बन्द व्यापार व्यवसाय लगायतलाई अहिले हामीले प्राथमिकताको क्षेत्र भनेर तोकेका छौं ।

तर हामीले यो उत्पादनमुलक र यो अनुत्पादनमुलक क्षेत्र भन्दैनौं । किनभने यो मानिसको आवश्यकतामा भर पर्छ । कुनै व्यस्त डाक्रटका लागि गाडी उत्पादनमुलक हुन सक्छ तर कुनै कलेज पढ्ने विद्यार्थीलाई मोटरसाइकल उत्पादनमुलक क्षेत्र नहुन पनि सक्छ । त्यसैले, हामीले नेपालका लागि राष्ट्रिय प्राथमिकताका क्षेत्र तोकेका छौं ।

जस्तो कृषि, पर्यटन, साना मझौला व्यवसाय आदि । जहाँ हामीले बैंकिङ क्षेत्रको लगानीलाई बढी केन्द्रित गरिरहेका छौं । र विप्रेषण आप्रवाह पनि बैंकिङ क्षेत्रको लगानी जुटाउने एउटा महत्वपूर्ण आधार चाहिँ हो । विपे्रषण उत्पादनमुलक क्षेत्रमा लागनी भएको छैन भने पनि बैंकहरुको निक्षेपको महत्वपूर्ण स्रोत भनेको रेमिट्यान्स नै हो । 

त्यो विपे्रषण आप्रवाह भोलि बैंकिङ क्षेत्रमा निक्षेपको रुपमा आउँछ । र त्यसपछि बैंकहरुले त्यसलाई विभिन्न क्षेत्रहरुमा लगानी गर्छन् ।

हामीले के भन्यौ भन्दा बैंकहरुले कम्तिमा पनि कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रमा जसले हाम्रो आयातलाई घटाउन मद्दत पुर्‍याउँछन्, निर्यातलाई प्रवद्र्धन गर्दछन् र रोजगारी सृजना गर्छन, दिगो आर्थिक विकासमा मद्दत गर्छन्, ती क्षेत्रमा बैंकले कम्तिमा २५ प्रतिशत लगानी गनै पर्छ भनेका छौं ।

र त्यो बैंकहरुको लगानीको महत्वपूर्ण स्रोत भनेको निक्षेप हो । तर पनि लामो समयसम्म विप्रेषण अनुत्पादन क्षेत्रमै लगानी भइरह्यो भने यसले नेपालको अर्थबजारमा थुप्रै चुनौतीहरु भने ल्याउँछन् । 

उत्पादनमुलक क्षेत्रमा लगानी नहुँदाका असर

विप्रेषण साँच्चिकै उपभोगमा मात्र लामो समयसम्म खर्च भयो भने त्यसले आयात बढाउँछ । आयात बढ्दा त्यसले आन्तरिक रुपमा उत्पादन नहुने, बजार नहुने र उद्यमशिलता पनि नहुने जस्ता चुनौती अर्थतन्त्रमा सृजना हुन्छन् ।

यसले गर्दा कहिलेकाहीँ के हुन्छ त भन्दा १० डिजिज पनि भनिन्छन । जस्तै पैसा आउँदासम्म हामी मोजमस्तीमा हुन्छन् । उपभागको लेभल पनि माथि हुन्छ । तर नआउँदा त्यसलाई कसरी निरन्तरता दिने भन्ने चुनौती हुन्छ । त्यसैले रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउन आवश्यक छ । युवालाई उत्पादनमुलक क्षेत्रमा लागनी गर्न प्रोत्साहन गर्नपर्छ । 

कहाँ लगानी गर्ने त भन्दा राष्ट्र बैंकले प्राथमिकताका क्षेत्र तोकेको छ । अहिले सरकारले वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ । आर्थिक वर्ष २०६६÷६७ देखि सुरु गरेको हो ।

तर आर्थिक वर्ष २०६६/६७ देखि २०७४/७५ सम्म हेर्ने हो भने ११ अर्बको वैदेशिक रोजगार बचत पत्र निष्काशन भयो । तर त्यसको खरिद भने ५ प्रतिशत मात्र भयो।

त्यसैले हामीले वैदेशिक रोजगारीमा गएकाको बचत वैदेशिक रोजगार बचत पत्रमार्फत राष्ट्रिय पुँजी निमार्णमा लगानी गर्न सकियोस्, त्यसलाई भोलि सरकारले विकास निर्माणका, पूर्वाधारका परियोजनामा उपयोग गर्न सकियोस् भन्ने हो । 

हामीले वैदेशिक रोजगार बचतपत्र वर्षभरी नै खुल्ला राख्ने भनेर राखेका छौं । उत्पादनमुलक क्षेत्र भनेर ठूलो सूची छैन । व्यक्तिले नै आफ्नो उद्ययमशिलता विकासका लागि सानो पसल या कुनै व्यवसायको विस्तार गर्न सक्नुहुन्छ । बचत भयो भने लगानी गर्न सकिन्छ । हामीले कृषि क्षेत्र भनेका छौं । यसमा पनि ठूलो स्कोप छ । आफ्नो रुची अनुसार काम गर्न सक्नुहुन्छ । 

उर्जा भनेका छौैं । तपाईँहरुले हाइड्रोपावरमा लगानी गर्न नसक्नुहोला । तर अबका दिनमा प्रदेश सरकारले जारी गर्ने वैदेशिक रोजगार बचतपत्रमार्फत स्थानीयस्तरमा हुने काममा पनि लगानी गर्न सकिन्छ ।

भोलिका दिनमा प्रदेश सरकारले आफ्नो क्षेत्रबाट विदेश गएका व्यक्तिहरुलाई लक्षित गर्दै वैदेशिक रोजगार बचतपत्र जारी गर्ने पनि हुन सक्छ । आफ्नो बचत आफ्नै ठाउँमा लागानी हुँदा अपनत्व पनि हुन्छ । 

त्यसैले अबका दिनमा थप बचत गर्नुहुन्छ भने वैदेशिक रोजगार बचतपत्र खरिद गरेर पनि राष्ट्रिय महत्वका पूर्वाधारमा योगदानको एउटा बाटो खोल्न सक्नुहुन्छ । त्यसबाट राम्रो ब्याज पनि पाइन्छ ।

बैंक खातामा जम्मा गरेर लोन लिन सक्नुहुन्छ । भोलि फर्किएपछि उद्यमशिलता विकासका लागि पनि यसलाई प्रयोग गर्न सक्नुहुन्छ । यो नै तपाईँहरुको बचतको महत्वपूर्ण सुरुवात हुनसक्छ ।
 

अन्तिम अपडेट: असार ५, २०७७

डा. गुणाकर भट्ट

भट्ट नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशकसँगै प्रवक्ता तथा सूचना अधिकारी हुनुहुन्छ 

1 Comments

  • कर्ण थापा

    Feb. 16, 2020, 4:40 p.m.

    के चिजमा कसरी लगानी गर्ने र त्यस्को के ग्यारेन्टी छ त्यो भयो भने त लगानी गर्ने हजारौ छन। उदाहरणका लागि पचास हजार महिनाको कमाउनेले महिनाको पाँच हजार त लगानी जसरी पनि गर्छ नि जम्मा गर्न सक्छ नि। तर त्यो वातावरण सरकारले मिलाइदिनु पर्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया