संघीयतामा देश गइसकेको छ तर दिमागमा संघीयता छैन : शेखर कोइराला

 फागुन १२, २०७६ सोमबार १५:२२:५८ | शेखर काेइराला
unn.prixa.net

काठमाण्डौ - अन्तरिम संविधान निर्माणताका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी संघीयताको पक्षमा थिएनन् भनेर हामीले स्पष्ट रुपमा भन्दिए हुन्छ ।

संघीयताको पक्षमा को थियो त भन्दाखेरी मधेशी दलहरु मात्र थिए भन्नेमा शंका छैन । किनभने अन्तरिम संविधान बन्ने बेलामा राज्यको पुनर्संरचना गर्ने भनेर भनियो र मधेशमा आन्दोलन भयो । त्यसपछि संघीयतामा जाने भन्नेमा दलहरु सहमत भएको धेरै वर्ष भएको छैन । 

पहिलो मधेश आन्दोलनको बेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले पहिलो सम्बोधन गर्नुभयो । आन्दोलित मधेसी जनतालाई चित्त बुझेन । त्यसपछि कोइरालाले दोस्रो सम्बोधन गर्नुभयो । अनि मात्र मधेसी जनताले आन्दोलन स्थगित गरे र संविधान संशोधन भयो । यसरी देशमा संघीयताले प्रवेश पायो ।

कांग्रेस, एमाले र माओवादी पार्टी संघीयता नमाने नि हुन्छ र राज्यलाई अलिकति पुनर्संरचना गरिदिए हुन्छ भन्ने अवधारणाबाट नै हिँडेका थिए । त्यसकारण पनि संघीयता कार्यान्वयनमा अहिले अप्ठ्यारो महसुस भइरहेको छ । 

दोस्रो कुरा, कम्युनिस्टहरु आधारभूत रुपमा जनवादी केन्द्रीयतामा विश्वास गर्छन् । जुन पार्टीले जनवादी केन्द्रीयतामा विश्वास गरेको हुन्छ, त्यसले संघीयतामा विश्वास गर्नै सक्दैन । बरु नेपाली कांग्रेसले संघीयतामा विश्वास गर्ला, कम्युनिस्टहरुले त गर्नै सक्दैनन् । 

विश्वको राजनीतिक मानचित्रमा हेर्नुस् न । कुन देशमा संघीयता छ । त्यो कस्तो संघीयता छ । कम्युनिस्ट मुलुकहरुमा हेर्नुभयो भने संघीयता छैन । त्यहाँ छ भने पनि नाममात्रको संघीयता छ ।

यो कुरालाई पनि हामीलाई दिमागमा राख्नुपर्ने हुन्छ। यसलाई दिमागमा राखेनौं भने संघीयता सफल हुन सक्दैन । हामीले आफ्नो मनस्थिति परिवर्तन गरेर जानुपर्ने आवश्यकता मैले देखेको छु । 

संघीयता संकटमा छ कि भन्ने आशंका नेपालमा सर्वव्यापी छ । अहिलेको दुर्भाग्य कस्तो छ भने संघीयतामा देश गइसकेको छ तर दिमागमा संघीयता छैन । सातै प्रदेशका मुख्यमन्त्रीहरु संघीयताको पक्षधरै हुनुहुन्छ । तर केन्द्र नै संघीयताको पक्षमा छैन । जसले विभिन्न किसिमका घटनाहरु संघीयताको विपक्षमा भइरहेका छन् । 

अहिले पहिचानको मुद्दा कतै देखिँदैन । मलाई अहिले पनि सम्झना छ तीन तहका सरकारको लागि संवैधानिक सुचीहरु बनाउँदा अहिले यत्तिकै राखौं, यसैगरी राखौं भनेर मस्यौदा समितिमा धेरै वादविवाद भएका थिए । योभन्दा धेरै विवाद नगरौं भन्ने थियो । तर त्यहीअनुसार सूचीहरु तयार गरियो । 

स्थानीय सरकार र प्रदेश सरकारबीचको सम्बन्ध के हो अझ पनि स्पष्ट छैन । प्रदेश र केन्द्र सरकारको सम्बन्ध पनि स्पष्ट छैन । संघीयतालाई कार्यान्वयन गर्न र सबल बनाउन भनेर हामीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग बनाएका छौं । 

त्यो आयोगमा एक जना राखिदिनुभएको छ । आजको दिनसम्म पनि त्यो आयोग पूर्ण हुन सकेको छैन । यसरी संघीयता एउटा राम्रो व्यवस्था होइन भन्नेतिर गइरहेका छौं कि भन्ने चिन्ता मलाई लागेको छ । 

इमान्दारीपूर्वक भन्ने हो नेपाली कांग्रेसले संघीयता चाहेकै थिएन । तर मलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने संघीयता नेपालमा हुनुपर्छ र अलि बढी अधिकार प्रदेश सरकारलाई दिनुपर्दछ । स्थानीय सरकारलाई धेरै अधिकार भयो कि जस्तो मलाई लागेको छ । 

प्रदेश सरकारसँग केही अधिकार छँदै छैन भन्दा पनि हुन्छ । त्यस्तो अवस्थाबाट हामी जाँदै छौं । त्यसैले संघीयतालाई सफल बनाउन हामी राजनीतिक पार्टीहरु गम्भीर हुनुपर्दछ ।

अहिले जुन पार्टी सरकारमा छ संघीयता सफल बनाउन उसको भूमिका सबभन्दा महत्त्वपूर्ण छ। संसदीय प्रणालीमा प्रतिपक्षको भूमिका र खासगरी प्रमुख प्रतिपक्षको भूमिका पनि संघीयतालाई सफल बनाउन त्यतिकै जरुरी हुन्छ । 

अहिले पनि नेपाली कांग्रेस संघीयताको पक्षमा देखिँदैन । त्यसैले संघीयता टुहुरोजस्तो भएको चिन्ता मलाई लागिरहेको छ । त्यसकारण संघीयतालाई जीवन्त रुपमा अगाडि बढाउन देशैभरि बहस र खबरदारीको आवश्यकता छ । 

देशमा कस्तो अवस्था देखिरहेको छु भने एकातिर संघीयताको कार्यान्वयन सन्तोषजनक छैन भने अर्कोतिर लोकतन्त्र पनि नियन्त्रित भइराखेको छ । नियन्त्रित लोकतन्त्रजस्तो सबै अधिकार एक जना व्यक्तिमा केन्द्रित भइसकेपछि लोकतन्त्र पनि रहँदैन, संघीयता पनि चल्दैन ।

 त्यसैले देशलाई नियन्त्रित लोकतन्त्रबाट बचाउनुपर्ने आवश्यकता छ । भ्रष्टाचारलाई पनि न्युन गर्दै जानुपर्ने छ । संघीयतालाई केन्द्रविन्दुमा राखेर यी सबै काम गर्‍यौं भने हामी पक्कै पनि सफल हुन्छौं । होइन भने लोकतन्त्र पनि जान्छ, संघीयता पनि सकिन्छ । 

(नेपाल वैकल्पिक अध्ययन समाजले हालै काठमाण्डौमा आयोजना गरेको समकालीन विमर्श शृङ्खला-१८ मा कांग्रेस नेता कोइरालाले व्यक्त गर्नुभएको विचारको सम्पादित अंश)            
          

अन्तिम अपडेट: चैत १, २०८०

शेखर काेइराला

शेखर काेइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया