'रियल मड्रिड म्यानचेस्टर सिटी र पेप काेहीसँग पनि डराउँदैन'

 फागुन १४, २०७६ बुधबार ८:५३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – च्याम्पियन्स लिगमा बुधबार राति स्पेनकाे क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब म्यान्चेस्टर सिटी प्रतिस्पर्धा गर्दैछन् । प्रशिक्षक पेप ग्वार्डिओला पुरानो प्रतिद्वन्द्वीको मैदानमा फर्कँदा रियल मड्रिडका समर्थक फेरि एक पटक उनको विरोधमा हुनेछन् । 

खेलाडी र प्रशिक्षकको भूमिकामा ग्वार्दिओलाले रियल मड्रिडविरुद्ध कयौँ पटक खेलेका छन् । म्यान्चेस्टर सिटीका प्रशिक्षकका रुपमा भने ग्वार्डिओला पहिलो पटक रियल मड्रिड जाँदैछन् । उनको लक्ष्य पहिलो लेगमा अग्रता लिनु हो, जसले इतिहाद स्टेडियममा हुने दोस्रो लेगमा आफूलाई सहज हुनेछ ।

बार्सिलोनाका प्रशिक्षक हुँदा ग्वार्डिओलाले सात पटक रियल मड्रिडको मैदानमा गएर खेले । जसमा उनले पाँच खेल जिते भने एउटामात्र हारेका थिए । 

प्रशिक्षकका रुपमा जिनेदिन जिदान र पेप पहिलो पटक एक अर्काका विपक्षमा देखिँदैछन् । रियलका प्रशिक्षक जिदानेले म्यान्चेस्टर सिटी वा ग्वार्डिओला कोहीसँग पनि रियल मड्रिड डराउँदैन भनेका छन् । 

‘यो खेल मड्रिड भर्सेस म्यान्चेस्टर सिटी हो, जिदाने ग्वार्डिओलाको होइन,’ खेलअघिकाे सम्मेलनमा जिदानेले भने । 

उत्कृष्ट फर्ममा रहेको सिटीमा रहिम स्टर्लिङ इन्ज्युरी पछि फर्किएका छन् । घुँडाको इन्ज्युरीबाट इमेरिक लापोर्ते पनि अभ्यासमा फर्किएका छन् । लेरोई साने भने अझै पनि इन्ज्युरीबाट मुक्त हुन सकेका छैनन् ।

रियल मड्रिडमा भने इडिन हाजार्ड इन्ज्युरीका कारण मैदान बाहिरै रहनेछन् । ग्यारेथ बेल टिममा फर्किएका छन् ।

बुधबार नै हुने प्रिक्वार्टर फाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टस र फ्रेन्च क्लब ओलम्पिक लियोन प्रतिस्पर्धा गर्दैछन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया