संघीय संरचना अनुकूल हुने गरी एन्फाकाे विधान संशोधनकाे तयारी

 साउन ९, २०७५ बुधबार १७:१३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - अखिल नेपाल फुटबल संघ एन्फाले बिधान संशोधनको तयारी गरेको छ । 


एन्फा नेतृत्वले संघीय संरचना अनुकूल हुने गरी विधान संशोधन गर्ने तयारी गरेको हो ।
 
एन्फाले कार्यनीति, ग्रासरुट, विधान र नियमावलीबारे छलफलका लागि बुधबार काठमाडौंमा अन्तरक्रिया तथा कार्यशाला गोष्ठी आयोजना गरेको थियो ।

आउँदो साउन ३० गते चितवनमा आयोजना हुने विशेष साधारणसभाले विधान संशोधनको अन्तिम निर्णय गर्नेछ ।
 
एन्फाले मुख्य गरी साधारणसभामा मतदान प्रतिनिधि तथा प्रदेश संरचनाको निर्माणका विषयमा विधान संशोधन गर्ने तयारी गरेको छ । बिधानको १९ वटा धारा संशोधन गर्ने एन्फाको तयारी छ ।
 
प्रस्तावित संशोधित बुँदामा धारा ३९.१ लाई संशोधन गरी प्रदेश फुटबल संघको स्थापना गरिनेछ । सातै प्रदेशमा गठन भएका प्रदेश फुटबल संघले प्रदेश भरिका जिल्ला तहमा कार्य गर्नेछ । 

पहिलो पटक गठन गर्न लागिएको प्रदेश संघ आगामी चार वर्षका लागि तदर्थ समितिको रुपमा रहनेछ भने एन्फाको केन्द्रीय चुनाव सकिएपछि निर्वाचन गरिनेछ ।
 
प्रदेश संघले प्रदेशस्तरीय फुटबल लिग आयोजना गर्नुपर्ने बिधानमा उल्लेख गर्न लागिएको छ । जिल्ला लिगका विजेता टोलीहरुले त्यस लिगमा सहभागिता जनाउनेछन् । 

जिल्ला लिग सञ्चालन गर्नका लागि कम्तिमा ६ टोलीबीचको प्रतिस्पर्धा अनिवार्य गर्ने प्रस्ताव गरिएको छ । यसअघिको बिधानमा कम्तिमा १० टोली सम्मिलित हुनुपर्ने उल्लेख छ ।
 
त्यस्तै जिल्ला फुटबल संघको हकमा नयाँ दर्ता गराउनुपरेमा जिल्लामा क्रियाशील कम्तिमा ६ क्लबका प्रतिनिधिबीच सहमति गरी कार्यसमिति निर्माण गर्न सकिने प्रस्ताव गरिएको छ ।
 
यसैगरी केन्द्रिय प्रतिनिधि तथा मतदाताको हकमा व्यापक फेरबदलको प्रस्ताव गरिएको छ ।

एन्फाको निर्वाचनमा सदस्य जिल्ला संघ, ए, बी र सी डिभिजन क्लब तथा खेलाडी, प्रशिक्षक, रेफ्री र महिला संघका प्रतिनिधि गरी ७७ मतदाता हुन्छन् ।
 
प्रस्तावित विधानमा मतदाता संख्या ७७ नै भए पनि जिल्ला फुटबल संघको प्रतिनिधिको ठाउँमा प्रदेश फुटबल संघले मतदाता तथा प्रतिनिधि पठाउने व्यवस्था गर्न लागिएको छ । 

जसअनुसार प्रदेश नम्बर १ बाट १० जना मतदातासहित ३० जना महाधिवेशन प्रतिनिधि रहनेछन् ।
 
त्यस्तै प्रदेश नम्बर २ बाट ८ जना मतदातासहित २४ जना, प्रदेश ३ बाट ११ जना मतदातासहित ३३ जना, प्रदेश ४ र ५ बाट समान ६ जना मतदातासहित १८ जना, प्रदेश ६ र ७ बाट समान २ जना मतदातासहित ६ जना प्रतिनिधि केन्द्रिय अधिवेशनमा आउनेछन् ।
 
बुधबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबलको विकासका लागि मेरुदण्ड मानिएको ग्रासरुट कार्यक्रम आउँदो भदौ २९ गते बालदिवसको दिनदेखि ४५ वटै जिल्लामा एकैसाथ सुरुआत गर्ने जानकारी दिनुभयो ।
 
कार्यक्रममा एन्फा अध्यक्षले भन्नुभयाे, ‘नेपाली फुटबलको बलियो बनाउनका लागि जबसम्म जग बलियो बनाउन सक्दैन, तबसम्म घर बलियो हुन सक्दैन भनेजस्तै हामीले भदौ २९ गते बालदिवसको उपलक्ष्य पारेर सबै जिल्लामा ग्रासरुट लेभलको कार्यक्रम एकैपटक लागू गर्दैछौं ।’
 
उनले नीतिगत पारदर्शिताका लागि सार्वजनिक नीति नियामावलीदेखि विधान संशोधन गर्नेसम्मको कुरा पहिलो पटक सार्वजनिक छलफलबाट तय गर्न लागिएको बताए ।
 
अध्यक्ष शेर्पाले प्रतियोगिता आयोजना गर्ने तथा नियमन गर्ने जिम्मा एन्फाको भए पनि पूर्वाधार निर्माण गर्ने काम स्थानीय सरकार तथा प्रदेश सरकारको भएको भन्दै प्रदेश पाँचमा पूर्वाधार निर्माणका लागि गरिएको तदारुकता अन्य प्रदेशका लागि पनि मार्गदर्शक हुने धारणा राख्नुभयो ।
 
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाली फुटबलको विकासका लागि अखिल नेपाल फुटबल संघ एन्फासँग सहकार्य गर्ने उद्घोष गर्नुभएकाे छ ।
 
काठमाडौंमा एन्फाले आयोजना गरेको कार्यनीति, ग्रासरुट, बिधान र नियमावलीबारे अन्तक्र्रिया तथा कार्यसाला गोष्ठीमा आफ्नो भनाइ राख्दै मेयर शाक्यले एन्फाले अनुरोध अनुसार फुटबलको बिकासमा सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

सबै प्रक्रिया पूरा गरी सम्झौता गरिने मेयर शाक्यको भनाइ छ ।
 
मेयर शाक्यका अनुसार महानगरले क्लबलाई सहयोग गर्ने कि लिगको पुरस्कार प्रायोजन गर्ने भन्नेबारे अन्तिम निर्णय भइनसकेको तर, यी मध्ये एउटा कार्यक्रममा आफ्नो साथ रहने जानकारी दिनुभयो ।
 
पाँच वर्षपछि यसै वर्षबाट सहिद स्मारक ए डिभिजन लिग सञ्चालन हुँदैछ ।

जसमा रेलिगेसन नहुने प्रावधान राखेको भन्दै एन्फाको आलोचना भइरहेका बेला क्लबका प्रतिनिधिहरु सम्मिलित अन्तरक्रियामा एन्फा लिग कमिटीका संयोजक विज्ञानराज शर्माले नहुनु भन्दा लिग भएको राम्रो भन्ने मान्यताअनुसार रेलिगेसन बिना नै भए पनि लिग सञ्चालन गर्न लागिएको बताए ।

उनले आफूले लिगका लागि तीनवर्षे योजना बनाएको र त्यसपछि रेलिगेसनको व्यवस्था गरिने दावी गरे ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया