अठोट र भाेगाइले डाक्टर बन्नुभएका बराल

 फागुन १६, २०७६ शुक्रबार १४:१४:४९ | विना न्याैपाने
unn.prixa.net

‘मनैदेखि आँट भयो भने असम्भव केही हुँदैन भन्ने सुनेको थिएँ । त्यो आफ्नै जीवनमा प्रमाणित भयो’, यो अभिव्यक्ति हो आर्थिक कठिनाइको सामना गर्दै एक सफल चिकित्सकको रुपमा स्थापित हुनुभएका वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर गेहनाथ बरालको । 

डा. बराल पाठेघरको मुखको क्यान्सर भएका बिरामीको उपचार गर्ने शल्यचिकित्सकको रुपमा परिचित हुनुहुन्छ । उहाँले चिकित्सा क्षेत्रमा २५ वर्ष सेवा गरिसक्नुभएको छ । 

सानै उमेरदेखि डाक्टर बन्ने सपना, आत्मविश्वास र लगनशीलताले सफल चिकित्सक बन्नुभएको उहाँको भनाइ छ । 

झापामा जन्मिनुभएका डा. बरालले आफै र आफ्ना आफन्तहरु बिरामी हुँदा धेरै दुःख पाउनुभएकोले डाक्टर बन्नैपर्छ भन्ने अठोट गर्नुभयो ।  

‘सानोमा आफै बिरामी पर्दा वा परिवारका सदस्यहरु बिरामी हुँदा अरुको भरमा बस्नुपर्ने र कति रात त नसुतेरै बिताउनुपर्ने भएकोले आफै डाक्टर बन्नुपर्छ भन्ने लाग्यो,’ डा. बरालले भन्नुभयो, ‘डाक्टर बनेपछि अरुको सेवा गर्न पनि पाइने र आफै बिरामी हुँदा पनि सजिलो हुने भनेर चिकित्सा क्षेत्रमा लाग्नुपर्छ भन्ने लागेको थियो ।’

झापामा खेतीकिसानी गरेर जीविका चलाइरहेका गरिब किसानका छोरा हुनुहुन्थ्यो डा. बराल । बुवाआमाले खेतीकिसानी गरेरै बराललाई सरकारी स्कुलमा एसएलसीसम्म पढाए । 

खेतबारीको अन्न र तरकारी बेचेर उहाँको परिवारले जसोतसो पढाइ खर्च जुटाएको थियो । झापाको गौरादहमा रहेको जनता माध्यमिक विद्यालयबाट एसएलसी पास गर्नुभएका डा. बरालले धरानबाट आईएस्सी उत्तीर्ण गर्नुभयो । 

आईएसी पास गरेपछि एकातिर बरालले आफ्नो सपना पूरा गर्ने योजना बनाइरहनुभएको थियो भने अर्कोतिर घरमा बुवाआमाले ‘छोराले आईएसी पास ग¥यो, अब त जागिर खाएर घरमा पैसा पठाउला’ भन्ने सोचिरहेका थिए । 

बुवाआमाको आश र आफ्नो सपनामध्ये कुन पूरा गर्ने भन्ने द्विविधाले उहाँलाई सताउँथ्यो । 

परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण उहाँले डाक्टर बन्ने सपना बुवाआमालाई सुनाउनुभएन । 

छोराले पैसा कमाएर पठाउला भन्ने आशमा रहेका बाबुआमालाई उहाँले निराश बनाउन चाहनुभएन र आफ्नो सपना पनि साकार पार्नै पर्ने थियो । त्यसैले बुवाआमाको चाहना अनि आफ्नो सपना एकै साथ पूरा गर्न उहाँले महाराजगञ्जको चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबीबीएस अध्ययन गर्न सुरु गर्नुभयो ।

डा. बरालले भन्नुभयो, ‘घरमा एमबीबीएस पढ्छु भन्यो भने त खर्चको कुरा आउँछ । वर्षको दुई पटक नगदेबाली बेचेर आएको पैसाले घरखर्चको स्रोत जुटाउनुपथ्र्यो । घरबाट पैसा निकाल्ने स्रोत थिएन । खर्च धेरै लाग्छ भनेर बुबाआमालाई तनाव दिन्नँ भनेर एमबीबीएसको भर्ना गरिसकेपछि मात्र मैले उहाँहरुलाई भनेँ ।’

त्यसपछि घरबाट एक रुपैयाँ पनि नलिएर काठमाण्डौ आउनुभएका बरालले ‘होम ट्युसन’ पढाएर एमबीबीएस पढ्ने खर्च जुटाउनुभएको थियो । 

आईएसी पढ्दादेखि नै बरालले घरबाट खर्च माग्न छोड्नुभएको थियो । होम ट्युसनबाट आउने पैसाबाट केही रकम घरखर्चका लागि बाबुआमालाई पनि पठाउनुहुन्थ्यो । 

उहाँले भन्नुभयो, ‘एमबीबीएसको कक्षा ५ बजे सकिएपछि काठमाण्डौमा घर–घर पुगेर बालबालिकालाई पढाएर राति १० बजे होस्टेल पुग्थेँ र १० बजेपछि १२ बजेसम्म लाइब्रेरीमा गएर दुई घण्टा आफ्नो पढाइ गर्थेँ । ट्युसन नपढाएको भए म एमबीबीएस पढ्न सक्दैनथेँ ।’

आफ्नो अध्ययन खर्च र परिवारको खर्चले गर्दा डा. बरालसँग एमबीबीएसका महँगा किताबहरु किन्न पैसा पुग्दैनथ्यो । आफैसँग किताब नभए पनि उहाँले कलेजको पुस्तकालयका पुस्तककै भरमा एमबीबीएस पूरा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले एमबीबीएसमा किताब नै किनिनँ भन्दा नि हुन्छ । पुस्तक किन्ने पैसा नै पुग्दैनथ्यो । त्यसैले एक÷दुई वटा पुस्तकबाहेक लाइब्रेरीका पुस्तक पढेर नै एमबीबीएस पास गरेँ ।’

सन् १९९१ मा एमबीबीएस उत्तीर्ण गरेपछि डाक्टर बन्नुभएका बरालले पहिलो पटक धरानको कोशी अञ्चल अस्पतालमा बिरामी जाँच्न सुरु गर्नुभयो । उहाँले त्यहाँ डेढ महिनामात्र काम गर्नुभयो । 

त्यसपछि पाटन अस्पतालमा मेडिकल डाक्टरको रुपमा १५ महिना काम गर्नुभयो । त्यसपछि सन् १९९३ मा लोक सेवा पास गरेर सरकारी चिकित्सकको रुपमा धादिङको एक प्राथमिक स्वास्थ्य केन्द्र पुग्नुभयो । 

धादिङ हुँदा उहाँले एमडी पढ्ने तयारी थाल्नुभयो । धादिङबाट उहाँकोे सरुवा चितवनको भरतपुर भयो । महिलाको उपचार गर्ने पुरुष डाक्टर हुनुभएकोले होला ! डा. बरालसँग बिरामीले रोग देखाउन र समस्या बताउन असहज मान्थे । स्त्री रोग विशेषज्ञको रुपमा डा. बरालसँग नेपालका धेरै अस्पताल र केही विदेशका अस्पतालमा समेत काम गरेको अनुभव  छ ।

डा. बराल गएको १० वर्षदेखि थापाथलीको प्रसूति तथा स्त्री रोग अस्पतालमा सेवा गरिरहनु भएको छ । महिलाको रोग उपचार गर्ने पुरुष डाक्टर भएकाले बरालसँग पहिला पहिला बिरामीले रोग देखाउन र बताउन असहज मान्दथे । अहिले भने अवस्था केही फेरिएको छ ।

‘कतिपय पाठेघर फुटेर आएका महिलाहरुको अवस्था हेर्दा मन खिन्नहुन्छ । तर समयमै शल्यक्रिया गरेर ज्यान बचाउन पाउँदा धेरै खुशी लाग्छ,’ डा. बरालले भन्नुभयो, ‘यसरी अप्रेशन गरेर धेरै बिरामीको ज्यान बचाएको छु ।’  

डा. बरालको अनुभवमा पहिलाको तुलनामा महिलाहरु अहिले आफ्नो स्वास्थ्यप्रति सचेत बन्न थालेका छन् ।

उहाँले सन् १९९५ मा गाइनोकोलोजी प्रसूति तथा स्त्री रोग विशेषज्ञमा स्नातक गर्नुभयो  । त्यतिबेला नेपालमा स्नातकोत्तरमा एमडीको कार्यक्रम खुलिसकेको थियो । तर आर्थिक भार धान्न नसकेपछि अर्को वर्ष सरकारी कोटामा नाम निकालेर एमडी अध्ययन गर्नुभयो । 

एमडी पढ्दै गर्दा कलेजको होस्टलमा बस्न पाइँदैन थियो । काठमाण्डौबाहिर कोठा लिनुपर्ने भएपछि उहाँलाई कलेज आउन र जान असहज भयो । त्यसपछि होम ट्युसन पढाउन नभ्याउने भएपछि ‘के खोज्छस् कानो आँखा’ भनेको जस्तै भएको थियो । 

उहाँले त्यही बेला छात्रवृत्ति पाउनुभयो । अनि त्यो पैसाबाट उहाँले मोटरसाइकल किन्नुभयो । जसले कलेज आउजाउ गर्न सजिलो भयो ।

डा. बरालले कोरियामा गएर गाइनो अंकोलोजीमा फेलोशिप पनि गर्नुभयो  । त्यसपछि सन् २००८ देखि थापाथलीको प्रसूति गृहमा पाठेघरसम्बन्धी क्यान्सर भएका महिलाहरुको शल्यक्रिया तथा उपचार सुरु गर्नुभयो । 

डा. बरालकै योगदानबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा महिलाको पाठेघरको क्यान्सरसम्बन्धी अध्ययन कार्यक्रम सुरु भयो । थापाथलीको प्रसूति गृहमा पाठेघरको मुखको क्यान्सरको उपचार डा. बरालकै पालामा सुरु भएको हो ।  

‘मैले गाइनो अंकोलोजीमा फेलोशिप गरेपछि प्रसूति गृहमा पाठेघरको मुखको क्यान्सर भएर आएका बिरामीहरुको शल्यक्रिया गर्न सुरु गरेँ,’ डा बरालले भन्नुभयोे, ‘मैले मात्र जानेर हुँदैन, नयाँ पुस्ताले पनि सिक्नुपर्छ भनेर न्याम्समा पाठेघरको क्यान्सर र त्यसको सर्जरीको विषयमा रिसर्चहरु गर्न लगाएँ ।’

उहाँ थापाथली अस्पतालमा हुँदा काठमाण्डौ बाहिरबाट आएकी एक महिलालाई हृदयघात भएको आशङ्कामा एनेस्थेसियाको टोलीले उपचार गरेको थियो । 

‘तर उहाँको रक्तश्राव नरोकिएपछि मलाई खबर गरियो । म ५ मिनेट ढिला गएको भए के हुनथ्यो थाहा छैन । तर समयमा नै पुगेर रक्तश्राव रोक्न सकेँ र उहाँको ज्यान बचाउन सफल भएँ । यो घटना कहिल्यै भुल्न सक्दिनँ ’, डा. बरालले भावुक हुँदै सुनाउनुभयो ।   

यसरी डा. बरालले आफ्नो २५ वर्ष लामो चिकित्सा यात्रामा धेरै सुत्केरी तथा स्त्री रोगबाट पीडित महिलाहरुको ज्यान बचाउनुभएको छ । आकस्मिक रुपमा अस्पताल आइपुग्ने बिरामीलाई शल्यक्रिया गरेर बचाउन पाउँदा जीवनभरको सफलता र खुशी भनेकै यही हो जस्तो लाग्छ डा. बराललाई ।  

अन्तिम अपडेट: साउन ४, २०७७

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया