अमेरिका लैजाने भन्दै ठगी गर्ने पक्राउ

 फागुन १६, २०७६ शुक्रबार १५:५२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राजदूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

सिन्धुपाल्चोककाे मेलम्ची नगरपालिका-९ घर भएर काठमाण्डौको थलीमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो । खडकाले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकी राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाइ विभिन्न व्यक्तिलाई ठगी गरेको पाइएको छ ।

पीडितको उजुरीका आधारमा खड्कालाई प्रहरीले पक्राउ गरेको हो । खड्काले अहिलेसम्म १० जनाभन्दा बढी व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँ देखि ४ लाख रुपैयाँ सम्म ठगी गरेको पाइएको छ । पीडितहरुले विभिन्न प्रलोभन देखाएर आफूहरुबाट पटक पटक पैसा लिएको बताएका छन् ।

खड्काले सुरुमा फोन गर्ने र अर्कैं व्यक्तिको नाउँ लिँदै नम्बर लिएको बताउने गरेको पीडितहरुले बताएका छन् । काठमाण्डौको बानियाँटारमा बस्दै आएका भिमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकी राजदूतावासको आईडी कार्ड देखाएर राजदूतावासमा काम गर्ने मारिया भन्ने व्यक्तिको फोटोसमेत देखाएकोले आफूहरुले विश्वास गरेको बताउनुभयो ।

उहाँले धरानमा रहेका आफ्ना बहिनी ज्वाइँलाई समेत भेटाएकाे र खड्काले अमेरिका लैजाने भन्दै उनीहरुलाई पनि ठगी गरेको बताउनुभयो । सुनारले आफूलाई खड्काले महाराजगञ्जको पुलिसबिट अगाडि रहेको कफी हाउसमा बोलाएर कुरा गरेर पैसा लिएको बताउनुभयो । 

खड्काले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभी सम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफूहरुलाई प्रलोभनमा पारेको पीडितहरुले बताएका छन् । खड्काले बैंक र आईएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकाले नगद नै बुझाएको उनीहरुको भनाइ छ ।

खडकाले पटक पटक शङ्का लाग्नेगरी कुरा गरेपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका हुन् । रकम दिने बेलामा खडकाको फोटो खिचेको आधारमा आफूहरुले प्रहरीमा उजुरी दिएको समेत उनीहरुले बताए ।

त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पीडितहरुले बताएका छन् । प्रहरीले आराेपित खडकालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।    

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया