प्रदेश २ सरकारले दलित आवास निर्माण गर्ने

 फागुन २३, २०७६ शुक्रबार १५:३६:५० | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ सरकारले दलितहरुका लागि दलित आवास निर्माण गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकबाट प्रदेशका आठ वटै जिल्लामा प्रत्येक जिल्ला गरी सयको दरले दलित आवास घर निर्माण गर्ने निर्णय गरिएको जनाइएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सप्तरीबाट सुरुवात हुने दलित आवास निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिइनेसमेत बैठकबाट निर्णय भएको जानकारी दिनुभयाे ।

त्यस्तै मन्त्रिपरिषद बैठकबाट ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्रदेशमा कक्षा १ देखि ८ सम्मका विपन्न दलित एवं मुस्लिम छात्रालाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय समेत गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकबाट प्रदेश अनुगमन तथा मूल्यांकन दिग्दर्शन २०७६ लाई स्वीकृति दिनुका साथै प्रदेश सरकारको मन्त्रालय तथा आवास रहेको जनकपुरको मधेश भवनमा प्रादेशिक रेडियो सञ्चालन गर्न जग्गा दिने, प्रदेश मुद्रण छापाखाना निर्माण गर्ने लगायतको निर्णय गरिएको मन्त्री यादवले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया