मास्ककाे कालाेबजारी राेक सरकार

 फागुन २४, २०७६ शनिबार १४:३२:१३ | विना न्याैपाने
unn.prixa.net

हेर्दा ठूलै अफिसरजस्तो देखिने तर मास्क भने पुरानै लगाएर बस बिसौनीमा  बसिरहनुभएको थियो काठमाण्डौको बानेश्वरका शैलेन्द्र श्रेष्ठ । पहिला दुई दिन बिराएर उहाँले मास्क परिवर्तन गर्नुहुन्थ्यो । तर अहिले बजारमा मास्कको चरम अभावले गर्दा उहाँले एउटा सर्जिकल मास्क हप्तामा दुई पटक धोएर लगाउनुहुन्छ । ‘सर्जिकल मास्क धोएर लगाउनु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि लागाउनपर्ने बाध्यता छ,’ श्रेष्ठले दुखेसो पोख्नुभयो ।   

यस्तै, काठमाण्डौकै जोरपाटीकी गीता पौडेलले धेरै पसल धाएर पनि मास्क पाउन सक्नुभएन । मनको सन्तोष मेटाउन कपडाको मास्क लगाएको उहाँ बताउनुहुन्छ । ‘सरकारले जाबो मास्क त उपलब्ध गराउन सक्दैन भने हामीले अरु के आश गर्ने ?,’ पौडेलले आफ्नो आक्रोश प्रश्नमा व्यक्त गर्नुभयो ।  

अभाव भएकै हो त ?  

उहाँहरु त प्रतिनिधि पात्रमात्रै हुनुहुन्छ । यसरी दिनभरि मास्क खोज्दै पसल पसल धाउँदा पनि नपाउने सर्वसाधारण धेरै छन् । कतिपय औषधि पसलेले कैयौं गुणा बढी मूल्यमा मास्क बेचेका छन् भने कतिपयले मास्क लुकाएर साइनबोर्डमा ‘मास्क छैन’ लेखेका छन् । 

चीनको वुहान सहरबाट कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएपछि मास्कको प्रयोग बढेको छ । सङ्क्रमणबाट बच्न नेपालमा पनि ‘एयर फिल्टर मास्क’ र साधारण पेपर मास्कको माग अत्याधिक बढेको छ । मास्क खोज्दै प्रत्येक दिन हजारौं सर्वसाधारण आउन थालेपछि औषधि पसलहरुले ‘नो मास्क, सरी’ लेखेर टाँसेका छन्  ।

सरकारी अस्पतालको औषधी पसलमा समेत मास्क पाइँदैन । औषधि पसलहरुले मास्क लुकाएको आरोप लागिरहेको बेला काठमाण्डौको थापाथलीमा रहेको समी फार्मेसीकी सञ्चालक समी खनाल भने आरोप अस्वीकार गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले धेरै पैसा लिएर बेच्ने गरेको सही हो । तर अहिले मास्क पाउनै मुस्किल छ । मास्क ल्याउन धेरै ठाउँमा पहल गरेका छौं तर पनि पाइएको छैन,’ उहाँले भन्नुभयो । 

आआफ्नै दाबी 

मास्क उत्पादक देशहरुले पछिल्लो समय मास्क निर्यात गर्न बन्द गरेको र नेपालमा मास्क उत्पादन गर्ने उद्योग खासै नरहेकाले मास्कको अभाव भएको फार्मेसी सञ्चालकहरु बताउँछन् । नेपालमा सर्जिकल मास्क उत्पादन हुने दुईवटा कम्पनी मात्र रहेको र ती कम्पनीले पनि बजारमा मास्क नपठाएको व्यापारीहरुको भनाइ छ । तर मास्क उत्पादन गर्ने कम्पनीहरुले भने पहिलाजस्तै मास्क उत्पादन गरेर बजारमा पठाएको दाबी गरेका छन् । 

मास्कको उत्पादन बढाउन औषधि व्यवस्था विभागले प्रविधिजन्य उत्पादन गर्ने संस्थालाई जिम्मेवारी दिएको थियो । तर कच्चा पदार्थको आयात रोकिँदा उत्पादन हुन सकेको छैन । बि.स. २०७२ सालदेखि मास्क उत्पादन गर्दे आएको क्लिन सिटी प्राइभेट लिमिटेडका प्रमुख सुकदेव जोशीले भन्नुभयो,’ ‘हामीले दैनिक ६ हजार मास्क उत्पादन गरेका छौँ । तर पनि बजारमा यसको अभाव छ । सरकारले छानबिन गर्नुपर्छ ।’

पहिला केहीले मात्रै प्रयोग गर्ने मास्क अहिले सबैले प्रयोग गर्न खोज्दा अभाव भएको सहजै अनुमान गर्न सकिन्छ । नेपालमा मास्कको कच्चा पदार्थ बनाउन सकिँदैन । त्यसैले चीन र भारतबाट ल्यानुपर्ने बाध्यता छ । ‘अहिले उत्पादन भएका मास्क स्वास्थ्य मन्त्रालय, वीर अस्पताल तथा धुलिखेल अस्पतालमा जाने गरेका छन् । उहाँहरुले कसरी मिलाउनुभएको छ, थाहा छैन,’ जोशीले भन्नुभयो । 

कालोबजारी गरे कारबाही

औषधि विभागले भने नेपालमा कोरोना भाइरसको सम्भावित खतरालाई ध्यानमा राखेर सुरक्षा सामग्रीहरुको मौज्दातलाई निर्यात नगर्न, नगराउन आग्रह गरेको छ । मास्कको पर्याप्त मौज्दात कायम राख्न र खुद्रा बिक्री गर्दा तोकेभन्दा बढी मूल्यमा बिक्री नगर्न समेत विभागले व्यवसायीहरुलाई आग्रह गरेको छ । औषधि विभागका सूचना अधिकृत तथा मेडिकल व्यवस्थापक सन्तोष केसीले केही औषधि पसललाई बढी मूल्य लिएको र मास्क लुकाएको आरोपमा कारबाही भएको छ । 

कुनै पनि भाइरसको सङ्क्रमणबाट बच्न मास्कको प्रयोग बाह्रै महिना गरिन्छ । कोरोना भाइरसबाट बच्ने एउटा उपाय भनेको मास्क प्रयोग गर्नु हो । तर यतिबेला बजारमा भाइरसप्रतिरोधी मास्कको मात्र नभइ सामान्य मास्कको पनि अभाव भएको छ । अमेरिकाले मास्क उत्पादकलाई सरकारलाई मात्र मास्क बेच्न भनेको छ । तर अव्यवस्था र कालोबजारीका कारण नेपालका अस्पतालहरुमा स्वास्थ्यकर्मीकै लागि पनि मास्कको अभाव छ । 

औषधि पसलहरुले मास्कको कालोबजारी गरे वा लुकाएकोे पाइए कारबाही गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिइसकेको छ । त्यसअनुरुप औषधि विभागले अनुगमन पनि गरेको छ तर प्रभावकारी हुन सकेको छैन । 

मास्कको चरम अभाव हुँदा पनि सरकार बेखबरजस्तो बनेर बस्नु उचित होइन । मास्कको अभाव हटाउन सरकार सम्वेदनशील भएर लाग्नैपर्छ । किनभने चीनबाट फैलिएको कारोना भाइरसको सङ्क्रमण नेपालको उत्तरमा रहेको हिमालले रोक्न सक्दैन । 

अन्तिम अपडेट: चैत २३, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया