नेपाली क्रिकेटका लागि विदेशी प्रशिक्षकको खोजी हुँदै

 फागुन २६, २०७६ सोमबार १२:१३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले नेपाली क्रिकेट टीमका लागि विदेशी प्रशिक्षक खोज्ने काम जारी रहेको बताउनुभएको छ ।

सचिव प्याकुरेलले विदेशी प्रशिक्षक राख्ने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्सँग कुरा भइरहेको बताउनुभयो ।  

अहिले नेपाल एक दिवसीय मान्यता प्राप्त टीम भएकोले त्यसैअनुसारको प्रशिक्षकको खोजीमा संघ रहेको प्याकुरेलले बताउनुभयो । अर्को प्रसङ्गमा उहाँले नेपाली टीमको प्रदर्शनबारे समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।  

कीर्तिपुरमा भएको त्रिकोणात्मक सिरीज र हालै थाइल्याण्डमा सम्पन्न एसीसी इस्टर्न रिजन टी २० मा नेपालले गरेको प्रदर्शनका विषयमा समीक्षा गरिने प्याकुरेलको भनाइ छ । क्रिकेटमा आजैको मेहनतले आजै नतिजा नआउने प्रष्ट पार्दै उहाँले विगतको मेहनतले नेपाली टीमले नतिजा हासिल गरेको बताउनुभयो ।

तर यसबीचमा क्रिकेट संघ नहुँदा र घरेलु क्रिकेटको संरचनाको अभावमा नयाँ खेलाडीहरु आउन नसक्नु दुर्भाग्यपूर्ण भएको सचिव प्याकुरेलले भन्नुभयो ।  

‘खेल हो, हारजित हुनु स्वभाविक हो । तर अहिले नेपाली टीमले क्षमताअनुसार प्रदर्शन नगरेको देखिन्छ । अब टीम व्यवस्थापन र क्रिकेट संघ बसेर गम्भीर समीक्षा गर्नुपर्छ,’ उहाँले भन्नुभयो । 

‘क्रिकेट संघ नहुँदा टीमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकै थियो । नतिजा राम्रो आएकै थियो ।  संघ नभएर के भयो भन्नेको जमात पनि त्यतिबेला थियो ।’ भन्दै प्याकुरेलले संघ निलम्बनमा पर्दा त्यतिबेला प्रभाव नपरेको तर त्यसको असर अहिले देखिन थालेको बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया