ह्याट्रिक हिराे इलिसिसले एटलान्टालाई च्याम्पिन्स लिगकाे क्वार्टर फाइनलमा पुर्‍याए

 फागुन २८, २०७६ बुधबार ७:४४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भ्यालेन्सियालाई हराउँदै इटालियन क्लब एटलान्टा पहिलाे पटक युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गरेकाे छ । 

बन्द रङ्गशालामा भएको खेलमा जाेसिप इलिसिसले चार गोल गर्दा दोस्रो लेगमा एटलान्टा चार–तीनले विजयी भयो । पहिलो लेगमा एटलान्टा चार–एकले विजयी भएको थियो । 

खेलको तेस्रो मिनेटमा नै भ्यालेन्सियाका डिफेन्डर मोक्तार दियाखाबीले डिबक्सभित्र इलिसिसलाई लडाएपछि एटलान्टाले पेनाल्टी पायो । जसलाई इलिसिसले नै गोलमा परिणत गरे । 

२१ औँ मिनेटमा केभिन गामिरोले भ्यालेन्सियाका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

पहिलो हाफ सकिन दुई मिनेटअघि दियाखाबीको ह्याण्डबलका कारण एटलान्टाले अर्को पेनाल्टी पायो । त्यसलाई पनि इलिसिसले गोलमा परिणत गर्दै पहिलो हाफअघि एटलान्टालाई समग्रमा ६–दुईकाे अग्रता दिलाए ।

दोस्रो हाफ सुरु भएको ६ मिनेटमा गामिरोले र ६७ औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर इलिसिसलाई भ्यालेन्सियाले रोक्न सकेन । 

७१ औँ मिनेटमा २० यार्ड टाढाबाट हानेको प्रहार गोलमा परिणत गर्दै इलिसिसले ह्याट्रिक पूरा गरे । उनी च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो स्लोभेनियन खेलाडी समेत बने ।

८२ औँ मिनेटमा इलिसिसले अर्को गोल गरेपछि एटलान्टाले समग्रमा आठ–चारको जित निकाल्यो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया