काेराेनाकाे असर प्रिमियर लिगमा, म्यान्चेस्टर सिटी र आर्सनलबीचकाे खेल स्थगित

 फागुन २८, २०७६ बुधबार १२:२७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) का कारण पहिलो पटक इङ्ग्लिस प्रिमियर लिगको खेल स्थगित गरिएको छ । बुधबार राति आज राति हुने म्यान्चेस्टर सिटी र आर्सनल बीचको खेल स्थगित गरिएको बीबीसीले जनाएको छ ।

विश्वका विभिन्न देशका फुटबल गतिविधि भाइरसका कारण प्रभावित भए पनि प्रिमियर लिग भने नियमित सञ्चालन भइरहेको थियो । युरोपा लिगको खेलमा आर्सननलले १३ दिनअघि घरेलु मैदान इमिरेट्समा ओलम्पियाकोससँग प्रतिस्पर्धा गरेको थियो ।

ग्रिक फुटबल क्लब ओलम्पियाकोसका मालिक इभानगेलोस मारिनाकिसलाई कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएपछि सिटी र आर्सनलबीचको खेल स्थगित गर्न मेडिकल टिमले सुझाव दिएका थिए । आर्सनलका केही खेलाडीले खेलका दौरा मारिनाकिससँग भेट गरेका थिए ।

सरकारको आदेशलाई कडाइका साथ लागू गर्न क्लब तयार रहेकाले सम्पर्कमा आएका खेलाडीलाई आइसोलेशनमा राखिएको आर्सनलले जनाएको छ । त्यही कारण सिटीविरुद्ध आर्सनलका खेलाडी उपस्थित नहुने भएपछि प्रिमियर लिग खेल स्थगित गर्न तयार भएको हो ।

यसका बाबजुद प्रिमियर लिगका बाँकी खेलहरु तत्काल स्थगित गर्ने कुनै योजना भने नभएकाे बताइएको छ । कोरोना भाइरसकै कारण इटालियन लिग सिरी ए स्थगित गरिएको छ ।

स्पेनिस ला लिगा खाली स्टेडिययमा खेलाउन आदेश दिइएको छ । च्याम्पियन्स लिगलगायत अन्य खेलहरु पनि अहिले बन्द ढोकामा खेलाइएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया