उमेर नपुगेकी बेहुली लिन तीन सय जन्ती लिएर गएका बेहुला रित्तै फर्काइए

 फागुन २८, २०७६ बुधबार २०:४:१५ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - उमेर नपुगेकी बालिकाको विवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले बुधबार एउटा विवाह रोकेको छ ।

गजुरी–६, मिलनटारका ध्रुव सुवेदीले उमेर नपुगेकी छाेरीकाे विवाह गर्न लागेपछि गाउँका महिलाअधिकारकर्मीहरुले विवाह रोक्न प्रहरीलाई खबर गरेका थिए । ध्रुवकी १८ वर्षीया छाेरीकाे गल्छी गाउँपालिका–६, बाहुन पलाङका कृष्ण अधिकारीका २९ वर्षीय छोरा कविराजसँग विवाह हुँदै थियाे ।

बेहुली लिन गजुरी जाँदै गरेकाे कविराजकाे जन्तीकाे टाेलीलाई प्रहरीले आदमघाटबाट फर्काएको थियो ।

बेहुलाका बावु कृष्ण अधिकारीले छाेराकाे बिहेका लागि २ ओटा बससहित अरु गाडीमा झण्डै तीन सय जना जन्ती लिएर आउँदै गरेको खबर पाएपछि बैरेनी प्रहरीचौकी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरीले विवाह रोकेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिनुभयो ।

स्थानीय आमा समूहले उमेर नपुगेकोले विवाह नगरिदिन बारम्बार मौखिक अनुरोध गरे पनि नमाने पछि विवाह रोकिएको थियो । माइती पक्षलाई विवाह रोक्न आदेश दिएको प्रहरीले जन्तीलाई आदमघाटमा रहेकाे सशस्त्र प्रहरी बेसक्याम्पबाटै फर्काएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया