कोरोना भाइरसको असर : पर्वतारोहण रद्द, अर्थतन्त्रमा धक्का

 फागुन ३०, २०७६ शुक्रबार १२:४:५३ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै – सरकारले कोरोना भाइरस (काेभिड–१९) को त्रासका कारण यस वर्षको वसन्तकालीन मौसमको हिमाल आरोहण रद्द गरेको छ ।

यस वर्षको वैशाख/जेठमा हुने सगरमाथा सहित सबै हिमालकाे आरोहण रद्द भएकाे पर्यटन विभागका निर्देशक मिरा आचार्यले जानकारी दिनुभयो । यस वर्ष विभिन्न हिमाल आरोहणका लागि पाँच वटा समूहले अनुमति लिएका थिए । उनीहरुको अनुमति रद्द हुने र थप अनुमति नदिने आचार्यले बताउनुभयो । 

सरकारले चार सय १४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । गएको वर्षको वसन्तकालीन मौसममा विभिन्न ३२ वटा हिमाल आरोहणका लागि एक सय १६ दलका आठ सय ९५ जनाले अनुमति लिएका थिए । यस वर्ष पनि त्यही सङ्ख्याको हाराहारीमा आरोहीहरु आउने अनुमान गरिएको व्यवसायीहरुले बताएका थिए ।

तर कोरोना भाइरसले विश्वव्यापी माहामारीको रुप लिएपछि सरकारले यस वर्षको वसन्तकालीन सबै आरोहण रद्द गरेको हो । धेरैजसो पर्वतारोहीहरु अमेरिका, भारत, चीन, बेलायत, जापान र दक्षिण कोरियाबाट आउँछन् ।  

अर्थतन्त्रमा धक्का 

सगरमाथा आरोहणका लागि एक जना विदेशी आरोहीले ११ हजार डलर रोयल्टी बुझाउनुपर्छ । अरु हिमालमा समेत गरी वसन्तकालीन मौसममा सरकारले वार्षिक ६० करोडको हाराहारीमा रोयल्टी मात्र असुल गर्छ । हिमाल आरोहण रद्द हुँदा रोयल्टी शून्यमा झर्छ । रोयल्टी मात्र हैन आरोहण व्यवसाय निकै महँगो व्यवसाय भएकोले आरोहणबाट नेपालको पर्यटन क्षेत्रमा राम्रो आम्दानी भइरहेको अन्नपूर्ण एक्सपिडिशनका कार्यकारी निर्देशक कामी शेर्पा बताउनुहुन्छ ।

पर्वतारोहणका लागि एक आरोहीले एक पटकको नेपाल बसाइमा औसतमा ४० लाख हाराहारी खर्च गर्छन् । सरकारी रोयल्टीदेखि हवाई भाडा, शेर्पा सहयोगी, खाना–बसाइ, होटेल खर्च, उपकरण र अक्सिजन जस्ता आधारभूत आवश्यकताका लागि मात्र त्याे रकम खर्च हुने गरेको शेर्पा बताउनुहुन्छ । नेपालमा वसन्तकालीन आरोहण सिजनमा मात्र पर्वतारोहण क्षेत्रका कारण तीन अर्बभन्दा धेरैको कारोबार हुने व्यवसायीहरु बताउँछन् ।  

भरियादेखी पाँच तारे होटलसम्म प्रभावित

पर्वतारोहण व्यवसायबाट भरिया र किसानदेखि पाँच तारे होटलसम्मले फाइदा लिरहेका छन् । आरोहण रद्द हुँदा यी सबै क्षेत्रमा असर गर्नेछ । पर्यटकको भारी बोक्ने भरिया, हिमाली रुटका होटल, पसल, शेर्पालगायत हिमाल आरोहण सहयोगीहरु नराम्रोसँग प्रभावित हुन्छन् । आरोहणको मौसममा काम गरेर बाँकी समय बिताउनेहरुको रोजीरोटी नै गुम्ने व्यवसायीहरु बताउँछन् ।

अन्नपूर्ण एक्सपिडिशनका कार्यकारी निर्देशक कामी शेर्पा भन्नुहुन्छ, ‘यसको असर चौतर्फी पर्छ, सिजनका लागि भनेर गरिएको उत्पादनले बजार वा मूल्य पाउँदैन, भरियाहरुले भारी बोक्न पाउँदैनन्, शेर्पाहरुले कामै पाउँदैनन् । त्यस्तै हाम्रा कम्पनी डुब्छन्, हिमाली क्षेत्रमा सिजनमा होटल गरेर आम्दानी गर्नेहरुको आम्दानी ठप्प हुन्छ, काठमाण्डौका होटलदेखि सरकारको राजश्व पनि रोकिन्छ ।’

खुम्बु क्षेत्र सुनसान

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको सगरमाथा क्षेत्रमा यस बेला चहलपहल सुरु भइसक्नु पर्ने हो । चिसो छल्न खुम्बुबाहिर गएका व्यवसायीहरु फर्किएर होटललगायतका व्यवसाय सुरु गरिसकेका छन् । तर पर्यटक नपुग्दा सुनसान रहेको छ । नाम्चेका होटल व्यवसायी लमाकाजी शेर्पा भन्नुहुन्छ, ‘खुम्बु पूरै सुनसान छ, यतिबेला त दिनमा ५/७ सय पर्यटक आउनुपर्ने हाे तर ५/७ जना आउन पनि मुश्किल छ, होटलहरु पूरै खाली छन्, भारी बोक्ने लगायतका काम खोज्दै आएकाहरु बेखर्ची हुन थालेका छन्, यहाँ त रोगको त्रासभन्दा घर खर्च चलाउने त्रास बढेको छ ।’ 

खुम्बु क्षेत्रमा रहेका साना ठूला गरी झण्डै तीन हजार होटल पसलहरु दुई मौसममा गरी ६ महिना सञ्चालन हुन्छन् । अझ राम्रो कारोबार हुने वसन्तकालीन मौसममै पर्यटक नपुग्दा व्यवसायी मारमा परेका छन् । सगरमाथा क्षेत्रसँगै अरु हिमालमा जाने रुटका व्यवसायीहरु पनि हिमाल आरोहण रद्द भएपछि समस्यामा परेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया