शेयर बजारमा समयावधि थप, दैनिक ५ घण्टा काराेबार हुने

 चैत २, २०७६ आइतबार १२:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजारमा आइतबारदेखि दैनिक पाँच घण्टा कारोबार सुरु भएको छ । बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार हुँदै आएकोमा आइतबारदेखि बिहान साढे १० बजेदेखि दिउँसो ४ बजेसम्म कारोबार हुने भएकाे हो ।

अब बिहान साढे १० बजेदेखि ११ बजेसम्म प्रारम्भिक कारोबार र ११ देखि ४ बजेसम्म बोलकबोल र अन्तिम कारोबार हुने नेप्सेले जनाएको छ । नेप्सेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले फागुन ३० गते पत्र पठाएर कारोबार समयावधि बढाउन निर्देशन दिएको थियो ।

पाँच घण्टा कारोबार गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेकोले कारोबार समय बढाइएको धितोपत्र बोर्डका प्रवक्ता निरोज गिरीले उज्यालोलाई जानकारी दिनुभयो । परिक्षणको रुपमा कारोबार समय बढाइएको र एक हप्तापछि पुनर्विचार गर्न सकिने गिरीको भनाइ छ । कारोबार समय बढाउँदा लगानीकर्तालाई सहज हुने उहाँको दाबी छ ।

तर लगानीकर्ताहरुले भने नेप्सेले अनुपयुक्त समयमा कारोबार अवधि बढाएको भन्दै विरोध जनाएका छन् । विश्वभरि कोरोनाको माहामारी फैलिएर शेयर बजार अस्तव्यस्त भइरहेको बेला नेपालमा कारोबार अवधि घटाउनुको साटो बढाएको भन्दै लगानीकर्ताले विरोध जनाएका हुन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया