भारतीय मिडियाले मलाई ‘भिलेन’ बनाए, म वार्ता गर्न तयार छु : इमरान खान

 साउन १०, २०७५ बिहिबार १९:१५:३७ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा बुधबार भएको संसदीय चुनावमा पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ सबैभन्दा ठूलो पार्टीका रुपमा उदाउने भएको छ । यसका साथै इमरान पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने निश्चितजस्तै भएको छ । 

चुनावमा हात पारेको सफलतापछि पत्रकार सम्मलेन गर्दै इमरानले २२ वर्षको लामो लडाईँपछि मात्रै आफू यो ठाउँमा आइपुगेको बताएका छन् । उनले आफू चुनावी प्रचारमा गरेका सबै बाचा पूरा गर्ने बताएका छन् । 

भारतसँगको सम्बन्धका पनि आफूले सुधार चाहेको बताउँदै कश्मीर विवाद दुई देश बसेर सल्टाउनु पर्ने उनले बताए । अहिलेसम्म आरोप–प्रत्यारोपकै मात्र सिलसिला जारी रहेको बताउँदै इमरानले अब दुई देशबीचको सम्बन्धका सुधार आउने बताएका छन् । आफूलाई भारतीय मिडियाले भिलेनका रुपमा प्रस्तुत गरेको बताउँदै आफू सम्बन्ध सुधारका लागि तत्पर रहेको इमरान खानले बताएका छन् । उनले भने, ‘हिन्दुस्तानी मिडियाले मलाई फिल्मको भिलेनका रुपमा प्रस्तुत गरे । सबैभन्दा राम्रो हामी व्यापार गरौँ । सबै समस्या टेबलमा बसेरै हल गरौँ । यदि हिन्दुस्तानी नेता तयार छन् भने वार्ता लागि हामी पनि तयार छौँ ।’

पाकिस्तानलाई विश्वमै आर्थिक र सबै प्रकारले शक्तिशाली देश बनाउने इमरानले बाचा गरेका छन् । लामो समयदेखि तनावग्रस्त अवस्थामा रहेको बलूचिस्तान प्रान्तमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न पहल गर्ने बताउँदै मतदानमा सहभागी भएकोमा सबै बलूचिस्तानका नागरिकलाई उनले धन्यवाद दिएका छन् । 

आफ्नो सरकार कसैको विरुद्धमा नहुने बताउँदै इमरानले जसले कानुन तोड्छ त्यसैलाई मात्रै कारबाही गरिने बताएका छन् । भ्रष्टाचारले देश तहसनहस भएको भन्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाइने उनले प्रतिवद्धता जाहेर गरेका छन् ।  सरकार अत्यन्तै मितव्ययी तरिकाले सञ्चालन हुने बताउँदै इमरान आफूले बादशाह जस्तो जीवन नबिताउने बताएका छन् । 

विदेश नीतिका बारेमा बोल्दै इमरान खान भन्छन्, ‘चीन हाम्रो असल मित्र हो । उसले हामीलाई अवसर प्रदान गरेको छ त्यसको हामी प्रयोग गर्नेछौँ । गरिबी हटाउनका लागि हामीले चिनियाँ मोडेल अपनाउन सकिनेबारे सोच्नेछौँ । चीनले भ्रष्टाचार अन्त्य गर्यो । यसबाट पनि हामी केही सिक्नेछौँ ।’


 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया