प्रदेश २ : मधेश प्रदेश नाम पनि अस्वीकृत, राजधानीका लागि केही बेरमा मतदान हुने

 चैत ४, २०७६ मंगलबार २१:१९:४३ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश २ को नामाकरणका लागि प्रस्तावित मधेश प्रदेश पनि नाम जारी मतदानबाट अस्वीकृत भएको छ । 

सत्तारुढ समाजवादी तथा राजपाले संयुक्त रुपमा दर्ता गराएको मधेश प्रदेश नाममा पनि ६० मत मात्र आएकाले अस्वीकृत भएको हाे । यसअघि प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टीले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७, कांग्रेसको मिथिला भोजपुराको पक्षमा २८ तथा असन्तुष्ट सांसदहरुको मध्य मधेश प्रदेशले ४२ मत ल्याएपछि तीनवटै प्रस्तावमा दुई तिहाई मत नपुगेपछि स्वतः अस्वीकृत भएका थिए ।

निर्वाचन प्रक्रिया अनुसार प्रतिपक्षी दल नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशबाट मतदान सुरु हुँदै मिथिला भोजपुरा र मध्य मधेश प्रदेशको नाममा मतदान भएको हो । नामाकरणको मतदान सकिएलगतै स्थायी राजधानीको लागि निर्वाचन हुनेछ ।

नामाकरणका लागि प्रतिपक्षी नेकपाले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सत्तापक्ष तथा कांग्रेसका असन्तुष्टहरु सांसदहरुले मध्य मधेश र सत्तारुढ समाजवादी तथा राजपाले संयुक्त रुपमा मधेश प्रदेश प्रस्ताव दर्ता गराएको थियो ।

प्रदेश सभाका सभामुख सरोजकुमार यादवको मतदानबाट मतदान साढ‍ दुई बजेदेखि सुरु भएको हो । सभामुखपछि उपसभामुख उपमा देव, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सहित क्रमशः अन्य मन्त्री र सांसदहरुले मतदान गरेका थिए ।

प्रदेश २ मा १ सय ७ सांसद रहेकोमा संघीय समाजवादी पार्टीका ३१, राजपा नेपालका २५, नेकपाका ३२, कांग्रेसका १९ सांसद रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया