'हिजाेआज हाच्छिउँले तर्साउँछ, गाडीभित्र कसैले खोक्दा पनि डर लाग्छ'

 चैत ६, २०७६ बिहिबार १३:४०:४० | मल्लिका थापा
unn.prixa.net

काठमाण्डाै – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमणका कारण नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बताइसकेको छ ।

तर यो अवस्थामा सबैभन्दा बढी जोखिम रहेको सार्वजनिक यातायातको क्षेत्रमा के गर्ने भन्ने विषयमा नेपाल सरकारले खासै चासो दिएको पाइँदैन । यद्यपि सरकारी निकायले बारम्बार सामाजिक दुरी कायम गर्न आग्रह गरिरहेको छ  ।

अब सार्वजनिक सवारी साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसारप्रसार गर्न नपाइने भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध पनि गरेको छ । साथै सार्वजनिक यातायातमा सवारी धनीलाई यातायात चलाउनुअघि प्रत्येक दिन समय समयमा गाडी सफा गर्न र 'स्प्रे' छर्कन निर्देशन दिइएको छ ।

कोरोना भाइरसले विश्व नै आतङ्कित भएको बेला सरकारले गरेको निर्णय उचित छ तर पनि काम विशेषले यात्रा गर्नु पर्नेहरुलाई भने कतै सङ्क्रमण भइहाल्ने हो कि भन्ने चिन्ता छ । काठमाण्डाै उपत्यकामा चल्ने सार्वजनिक यातायातको यात्रा अझ जोखिमपूर्ण छ ।

लगनखेल–भक्तपुर रुटमा चल्ने बसमा भेटिनुभएका चाँगुनारायणका रमेश बुढाथोकी भन्नुहुन्छ, 'कोरोना भाइरस रोक्न सरकार मात्र अग्रसर भएर हुँदैन । तपाईँ, हामीले पनि सावधानी अपनाउन जरुरी छ । अर्काे देशमा सरकारले यसो गर्‍याे, उसो गर्‍याे भनेर चिया गफ गर्नुकाे साटो आफ्नो सुरक्षामा ध्यान दिन जरुरी छ । हामीले आफ्नो स्वास्थमा ध्यान नदिने हो भने सरकारकाे प्रयासले मात्र केही हुँदैन ।'

यस्तै काठमाण्डाैकाे सुन्दरीजल रुटमा चल्ने बसका चालक ईश्वर महर्जन बसभित्र कसैले मुख छोपेरै खोक्दा पनि त्रास फैलिने गरेको बताउनुहुन्छ । ‘बसभित्र कसैले हाच्छिउँ गरे भने त आतङ्क मचिन्छ, अरु यात्रु बीचमै ओर्लेर हिँड्ने अवस्था आएको छ’, उहाँ भन्नुहुन्छ, ‘यसले गर्दा हाम्रो आम्दानीमा असर परेको छ । यात्रुले पनि बिरामी भएको खण्डमा अरुलाई पनि सर्न सक्छ भनेर सावधानी अपनाउनुपर्छ ।' 

नेपालमा कोरोना देखिएको अवस्थामा सार्वजनिक यातायात सबैभन्दा छिटो सङ्क्रमण बढ्ने क्षेत्र भएकाले जोखिम कम गर्न विभिन्न यातायात व्यवसायीले आ–आफ्नो क्षेत्रबाट सावधानी अपनाइरहेका छन् । 

साझा यातायातले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि दैनिक रुपमा आफ्ना गाडीहरु सफा गर्न थालेको छ । बसका सिट, ह्याण्डल र बढी छोइने अरु भागमा पनि पटक पटक स्यानिटाइजरले सफा गर्ने गरिएको साझा यातायातले जनाएको छ । 

यस्तै सुन्दर यातायातका विद्युतीय बस चढ्न शरीरकाे तापक्रम जाँच अनिवार्य गरिएको छ । चक्रपथमा गुडिरहेका सुन्दर यातायातका विद्युतीय बसमा तापक्रम परीक्षण गरेर मात्र चढ्न पाइन्छ । कोरोना भाइरसविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्न तथा सार्वजनिक उत्तरदायित्व निर्वाह गर्नका लागि यो यस्ताे कदम चालिएकाे सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताउनुभएको छ । यो बसमा 'इन्फ्रारेड थर्मोमिटर' मार्फत स्वास्थ्य जाँच गरिन्छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले कोरोना भाइरसको त्रासका कारण सार्वजनिक यातायातमा यात्रुकाे सङ्ख्यामा ५० प्रतिशतले कमी आएकाे बताउनुभएको छ । उहाँले भन्नुभयो , 'विदेशमा काम गर्न गएका नेपाली आउन छोड्नु, विदेशबाट आउने पर्यटक घट्नु, भारतसँगका विभिन्न नाकाहरु बन्द हुनु र अति आवश्यक काम बाहेक नेपालीहरु बाहिर हिँड्न छोड्नु यसको मुख्य कारण  हो ।' 

व्यवसायीले आफ्नो तर्फबाट गर्न सक्ने सवारीसाधन सरसफाइदेखि सवारी चालक तथा सहचालकलाई मास्क उपलब्ध गराउने लगायत काम गरेको सिटौलाले दाबी गर्नुभयो । सार्वजनिक यातायातको क्षेत्र कोरोनाको उच्च जोखिममा रहे अनुसार सरकारको तयारी कम रहेकाे तथा व्यवसायी र यात्रुमा त्रास बढेकाे छ ।

'हामी आफ्नै पैसाले स्यानिटाइजर, थर्मोमिटर, मास्क (मुखावरण) किन्न तयार छौँ तर बजारमा उपलब्ध त हुनुपर्‍याे नि ! परेको खण्डमा यात्रुलाई समेत मास्क दिन सकियोस्, यात्रु वा स्टाफको ज्वरो जाँच्न सकियोस्', सिटौलाले भन्नुभयो । 

सरकारले विभिन्न बसपार्कमा हेल्थ डेस्क समेत राख्नुपर्ने उहाँको तर्क छ।  कोरोना भाइरसको सङ्क्रमणको त्रासमा चालक र  सहचालकहरु पनि छन् । त्यसैले स्यानिटाइजर उपलब्ध नहुँदा पनि सरकारले ठाउँठाँउमा साबुन पानीको व्यवस्था गर्नेतर्फ ध्यान दिनुपर्ने सिटौलाको सुझाव छ । यात्रु घटेपछि बस पनि त्यतिकै सङ्ख्यामा घटाउन बाध्य हुने अवस्था आएको उहाँकाे भनाइ छ । अहिले काठमाण्डाैका सार्वजनिक यातायातमा पनि चाप घटेको छ । 

सार्वजनिक यातायातको क्षेत्र सबैभन्दा बढी मानिसको आवत जावत हुने क्षेत्र हो । यातायात व्यवसायीले आफ्ना सवारीमा चढ्ने यात्रुको सुरक्षामा ध्यान दिन ‘स्यानिटाइजेशन’ को व्यवस्था गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार भाइरस सर्ने पहिलो माध्यम नै खोक्दा र हाच्छिउँ गर्दा निस्कने छिटा हो । सुरक्षित रहन सङ्क्रमित व्यक्तिबाट ६ फिटको दुरी अपनाउनुपर्छ । सार्वजनिक यातायातमा चढ्दा सर्जिकल मास्क नभए कपडाको मास्क भए पनि लगाउनुपर्ने उहाँँको सुझाव छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया