कोरोनाले रोकेन वैदेशिक रोजगारीलाई, फागुनमा ५० हजार नेपाली विदेश गए

 चैत ६, २०७६ बिहिबार ११:५७:३१ | बेदानन्द जाेशी

काठमाण्डौ – कोरोनाको जोखिम बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल घटेको छ । तर ओहोरदोहोर रोकिएको छैन । कोही ट्रलीमा सुटकेश राखेर ट्याक्सी भएतिर लम्किदै छन् भने कोही ट्याक्सीबाट ओर्लेर टर्मिनलतिर जाँदै छन् । 

सर्लाहीका ब्रह्मदेव चौधरी पनि हातमा पासपोर्ट र पिठ्यूँमा झोला बोकेर मलेसिया जानको लागि टर्मिनलतिर लाग्नुभयो । वैदेशिक रोजगारीमा जानेहरुको लागि प्रवेश गर्न बनाइएको गेट अगाडिको लाइनमा उभिनुभयो ।

त्यतिबेला मलेसियामा दुईसयभन्दा बढी नागरिकमा कोरोनाको संक्रमण देखिइसकेको थियो ।

ब्रम्हदेव आफैलाई पनि त्यो कुरा थाहा थियो । तर उहाँलाई भने कोरोनाको डरले छोएन । आफ्नो पारिवारिक समस्याको अगाडि कोरोनाको त्रास फिका लाग्यो ब्रह्मदेवालाई ।

‘के गर्ने घरको समस्या छ, भिसा पनि लागिसक्यो, विदेश नजाउँ भने खान लाउन कसले दिन्छ हामीलाई ?’ मनको पीडा लुकाएर फिस्स हाँस्दै ब्रह्मदेवले भन्नुभयो, ‘हामीजस्ता युवाहरुलाई कोरोना लाग्दैन भन्छन् नि त ।’

ब्रह्मदेवजस्तै मोरङका विजय गहतराज पनि त्यही दिन साउदी जानको लागि विमानस्थल पुग्नुभएको थियो । उहाँलाई पनि कोरोनाको संक्रमणबाट बच्न घरमा बस्नेभन्दा पनि जानैपर्ने बाध्यता आइलाग्यो । एक महिनाको बिदामा घर आउनुभएका विजयको दुई दिनपछि बिदा सकिने थियो । समयमै काममा नफर्किए जागिर गुम्ने डरले उहाँ साउदी फर्किनुभयो ।

‘नेपालमा कोरोना फैलिएको छैन, सुरक्षित त यतै छ नि’, उहाँले भन्नुभयो, ‘साउदीमा कोरोना फैलिसक्यो भन्छन् तर गर्ने के त, नगए जागिर नै छुट्छ ।’
विजयसँग ड्राइभिङको सीप छ । साउदीमा पनि उहाँले ट्रक चलाउने काम नै गर्नुहुन्छ । तर नेपालको भन्दा कमाइ राम्रो भएपछि उहाँलाई वैदेशिक रोजगारीले तान्यो । 

तर एक मनले काममा समयमै नफर्के जागिर छुट्छ कि भन्ने डर लाग्छ । अर्को मनले कोरोनाका कारण नेपालमै बसौँ भन्ने लाग्छ । 

‘तर गर्ने के’, उहाँले ठट्यौली पारामा भन्नुभयो, ‘वैदेशिक रोजगारीको भर छैन, कोरोनाको डर छैन ।’

कोरोनाले रोकेन वैदेशिक रोजगारीलाई

ब्रह्मदेव चौधरी र विजय गहतराज जस्तै गएको महिना फागुनमा मात्रै करिब ५० हजार नेपाली श्रमिक वैदेशिक रोजगारीको लागि विश्वका विभिन्न देशमा पुगेका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार फागुनमा मात्र ४९ हजार ४ सय ५० जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।जसमध्ये यूएई जानेहरु धेरै छन् । यूएईको लागि १२ हजार १ सय ६ जनाले श्रम स्वीकृति लिए । जसमा १ हजार ७ सय ४२ महिला रहेको विभागको तथ्यांकले देखाएको छ ।

यस्तै साउदीको लागि ७९ महिला श्रमिक समेत गरी ११ हजार २ सय १५ जनाले श्रम स्वीकृति लिएका छन् ।

मलेसियाको लागि १० हजार ९ सय १५ र कतारको लागि ८ हजार ४ सय १३ जनाले श्रम स्वीकृति लिएका छन् । कुवेतमा २ हजार २ सय ९२, बहराइनमा ७ सय ३०, ओमानमा ५ सय १३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै ५ सय २१ जनाले जापानको लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

कोरोनाको संक्रमण बढिरहेको बेला संक्रमित देशमै नेपाली श्रमिक रोजगारीको लागि गइरहेका छन् । माघ महिनामा पनि ५२ हजार नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका थिए । फागुनमा केही घटे पनि जाने क्रम भने रोकिएन । 

तर पछिल्लो पटक श्रम स्वीकृति नै दिन बन्द गरेपछि चैतमा वैदेशिक रोजगारीमा जानेहरुसको संख्या धेरैले घट्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनले वैदेशिक रोजगारीलाई महामारीको घोषणा गरेपछि नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई फागुन ३० गतेदेखि श्रम स्वीकृति दिन बन्द गरेको छ ।

नेपाली श्रमिक कार्यरत देशमासमेत कोरोना भाइरसको जोखिम बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिश्चितकालका लागि श्रम स्वीकृति बन्द गरिएको हो ।

शुक्रबारदेखि आउँदो वैशाख तीन गतेसम्म खाडीका देश, मलेसिया र दक्षिण कोरियासहित यूरोपमा रहेका नेपाली नागरिक पनि नेपाल फर्किन पाउने छैनन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया