‘लकडाउन’ नेपाल : सरकारले अत्यासमा गरेको हतास निर्णय

 चैत ६, २०७६ बिहिबार १२:४६:४ | गोपाल गुरागाईं
unn.prixa.net

भोलिदेखि नेपाल लगभग ‘लकडाउन’ हुँदैछ । अब विदेशी त परै जाओस्, काम गर्न र घुम्न देशबाहिर गएका नेपाली समेत यो महिनाभरि आफ्नो देश फर्कन पाउने छैनन् । कोरोनाको कहरमा चीनको वुहान छटपटाइरहेको बेला नेपाल सरकारले हतार हतार एक सय ७५ जना नेपालीलाई उद्धार गरी ल्याएको महिना दिन पुगेको छैन । ती कसैमा पनि कोरोना भेटिएन । कोरोनाका कारण नेपालमा अहिलेसम्म कसैको ज्यान गएको छैन, एक जना बाहेक कसैमा भेटिएको पनि छैन । 

कोरोना जाँच गरी माग्न टेकु जाने नागरिकलाई जाँच्ने उपकरणको अभाव छ । अभावका बीच पनि विश्व स्वास्थ सङ्गठन (डब्ल्यूएचओ) ले तोकेको प्रोटोकल पुगेका कोरोनाको शङ्का लागेका बिरामीको परीक्षण भइरहेकै छ, त्यो रोकिएको छैन । महामारीको रोकथाम, जाँच र उपचारका लागि चीनले आफू सहयोग गर्न तयार रहेको भनेर सरकारका उपप्रधानमन्त्रीले जानकारी पनि दिनुभयो । तर नेपाल सरकारले चीनसित के कस्तो सहयोग मागेको छ भन्ने कुरा अहिलेसम्म सरकारको कुनै अङ्ग वा निकायले नागरिकलाई बताएको छैन । 

देशमा महामारी जाँच्ने उपकरणको अभाव छ । महामारीसम्बन्धी ज्ञान र अनुभवको कमी त युरोप र अमेरिकामा समेत छ । नेपालमा त झन् हुने नै भयो । तर चीनले दिन्छु भन्दा पनि आफूलाई चाहिने ज्ञान र सामानको सूची बनाउन छाडेर सरकार एकाएक देशलाई ‘लकडाउन’ गर्ने निर्णयमा पुगेको छ ।

बुधबार बिहान र बेलुकाको बीच आकाश जमिन फरक हुने यस्तो के परिस्थिति देखियो र सरकारले यो डरलाग्दो निर्णय गरेको हो ? सरकारका निर्णय कुनै न कुनै आधारमा टेकेरै भएका हुन् भने ती आधार के के हुन् ? कोरोनाको कारण ठप्प भएको पर्यटन व्यवसायीलाई भावुक कुरा नगर्न सुझाउने उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा भएको ‘लकडाउन’ गर्ने निर्णय चाहिँ के कति वैज्ञानिक आधारमा गरिएको हो ?

महामारीको रोकथाम अति आवश्यक छ तर के नेपाल ‘लकडाउन’ नै गर्नुपर्ने अवस्थामा पुगिसकेको हो ? ‘लकडाउन’ यसको सबैभन्दा अन्तिम विकल्प हो, जुन अहिले युरोपका देशले गरेका छन् । कोरोना फैलिएका सबै देशले लकडाउनको निर्णय गरिसकेका छैनन् । केही देशले मात्र यो अन्तिम विकल्प अपनाएका छन् । अस्ट्रेलियामा महामारीको त्यत्रो हाहाकार छ तर उसले लकडाउन गरेको छैन । 

त्यसो भए के त अब हाम्रा सबै विकल्प सकिएका हुन् ? के नेपालले महामारीको रोकथाम गर्न र महामारी फैलिहाले त्यसको उपचार गर्न यो ‘लकडाउन’ गरेको हो ? सरकारका निर्णय हेर्दा ढुक्क हुने आधार छैनन् । २५ जनासम्म भेला हुन पाउने, पसलहरु खुल्लै रहने, यातायातका साधन चल्ने जस्ता सरकारी निर्णय हेर्दा रोकथाम गर्नकै लागि मात्र यस्ता निर्णय भएका हुन् भनेर पत्याइ हाल्न सकिँदैन ।

एसिया महादेश र विश्वमै पनि नयाँ–नयाँ महामारी देखिनु र फैलिनु बितेका दुई दशकमा सामान्य भइसकेको छ । तर यो अवधिमा देखिएका महामारीले अघिल्लो शताब्दिमा जस्तो भयावह अवस्था पैदा भएको छैन । सन् १९१८ मा फैलिएको फ्लुमा झण्डै पाँच कराेड मानिसको ज्यान गयो । भनिन्छ, पहिलो विश्व युध्द रोकिने एउटा कारण नै त्यो महामारी भइ दियो । त्यो महामारीमा परी भारतको कुल जनसङ्ख्याको ५ प्रतिशत सखाप भयो । तर त्यसपछिका 'सार्स' र 'मर्स' जस्ता कोराना महामारीहरुमाथि विज्ञान र ज्ञानमार्फत मानिसले छिटै नै विजय पाएको छ । अहिलेको कोरोना भाइरसकै कुरा गर्ने हो भने पनि चार महिनाको अन्तरालमा चीनले महामारीमाथि विजय पाएको दाबी गरेको छ । र आफूले आर्जन गरेको ज्ञान र अनुभव महामारी फैलिरहेका देशसित बाँड्न थालेको छ ।

चीन मात्र यस्तो देश हो, जोसित अहिलेको विश्वमा कोरोना (कोभिड–१९) महामारीमाथि एक किसिमले विजय नै पाएको अनुभव र ज्ञान छ । महामारीविरुद्ध लड्ने साधन, उपकरण, सीप र दक्ष जनशक्ति भएकै युरोपका देशले चीनको सहयोग लिइरहेका छन् । तर चीनले हामीलाई दिने भनेको सहयोग लिने कुरालाई यथावत् राखेर सरकार एकाएक देशलाई ‘लकडाउन’ गर्न अघि सरेको छ । सरकारी निर्णयका कारण बाटाघाटा मात्र होइन, कार्यालय, कारखाना तथा मानिसको चहलपहल हुने सबै स्थान एकाएक सुनसान र उजाड भएका छन् । सरकारी निर्णयले नेपालीका मनमा त्रासको महामारी चल्न थालेको छ । 

कोरोना जस्ता श्वासप्रश्वाससम्बन्धी महामारीबाट बच्ने उपाय रोग लाग्नै नदिनु हो र यसका लागि भिडभाडबाट बच्नु आवश्यक छ । यो महामारीबाट बच्नका लागि एकान्तवास अथवा 'आइसोलेशन' मुख्य उपाय हो तर त्यो उपाय कार्यान्वयन गर्न अन्तिममा मात्र सरकारहरुले लकडाउनको निर्णय लिन्छन् । 

महामारीको रोकथाम गर्न नागरिकलाई एकान्तवासमा पठाउनु अघि नेपालले गर्नुपर्ने काम त यसको रोकथाम, पूर्वतयारी र उपचारको बन्दोबस्तसम्बन्धी ज्ञान र अनुभवको आदान प्रदान हो । किनभने पहिलेका महामारीले धेरै मानिसको ज्यान लिनुको मुख्य कारण महामारीसम्बन्धी सूचना र ज्ञानको अभाव र फैलावट थियो । अहिले महामारी जुन गतिमा फैलिँदैछ, महामारीसम्बन्धी ज्ञान र सूचना त्योभन्दा पनि छिटो गतिमा फैलिरहेको छ । सरकारले नै प्रयत्न गर्ने हो भने यसको फैलावट र गति अझै दुई गुना बढ्न सक्छ । तर सरकारको निर्णय ज्ञान र सूचनाबाट भन्दा पनि सामाजिक सञ्जालको हल्लाबाट प्रभावित भएको स्पष्ट अनुभव हुन्छ ।

हल्ला र सूचना छुट्याउन नसकेर सरकारले अहिले टण्टै साफ हुने ठानेर देशलाई एकाएक आतङ्कित बनाउने निर्णय गरेको छ । महामारीबाट जनमानस जति आतङ्कित थियो, सरकारको यो निर्णयपछि देश र विदेशमा रहेका नेपालीबीच एकाएक त्रासको महामारी फैलिएको छ । नेपाली नागरिक हिजैदेखि एकसाथ कोरोना र सरकारले खडा गरेको त्रासका दुईटा महामारीले थिचिएका छन् ।

कोरोनासित फ्रण्ट लाइनमा बसेर जुध्ने स्वास्थ्यकर्मीको ठूलो हिस्सा सरकारको निर्णयबाट छक्क परेको छ । प्रधानमन्त्रीलाई प्रभावमा पारेर एसईई रोक्न सफल भएका निजी स्कुलका सञ्चालकहरु र सरकारी अस्पताललाई औषधि र उपकरण बेच्ने  मेडिकल माफियाहरु चाहिँ सरकारको यो निर्णयपछि अति खुसी र प्रफुल्ल देखिएका छन् ।  

याे पनि पढ्नुस्

अन्तिम अपडेट: चैत ८, २०८०

गोपाल गुरागाईं

गोपाल गुरागाईं  चार दशकदेखि छापा र रेडियो पत्रकारितामा हुनुहुन्छ। 

8 Comments

  • Rd

    March 23, 2020, 3:58 a.m.

    जे गर्यो नेपाल सरकारले धेरै राम्रो काम गर्यो। के नेपाल इटालीको जस्तो भय पछि लक डाउन गर्नु पर्थियो? I would say this had to be done earlier. USA Australia, Canada and Europe did not take it seriously that's why this happened. Govt. must lock down borders, people must stay home. Stay safe stay healthy.

  •  0 Reply
  • Prem

    March 22, 2020, 10:45 a.m.

    Writer is ill minded. Are you waiting for COVID 19 to come in Nepal and then lockdown. Prevention is better than cure. If it enters in our country, there is chance that you can be the first patient and may or may not be recovered. Can we prevent after it enters Nepal and multiply. Don't ever write to write. Make sense of your writing. It's time to unite and help government and remain self preventive. Spread good humor in this time.

  •  0 Reply
  • Paawan

    March 22, 2020, 7:04 a.m.

    Should lock down Nepal.

  •  0 Reply
  • पज्ञानी गुरु

    March 21, 2020, 7:42 p.m.

    पत्रकार महोदय , तिमी नै सकियौ भने भोलि कस्को बिरोध गरौला र? तेसैले नेपाली जनताको लागि सरकारले गरेको निर्णय सहि छ ।

  •  0 Reply
  • Suresh

    March 20, 2020, 12:05 p.m.

    In a country like Nepal whick lacks equipments to test covid-19 as per news spread about our designated hospitals. Even though people have heard about the massive spread of Corona virus in many countries including our neighborhood countries i.e. India and China, people of Nepal seem very care free in every aspect i.e. social events, which are very high risk of rapid spreading Corona virus. In my opinion the government decision of semi- lock down is the only option for the country like Nepal rather than locking down after the spread of virus. Regarding the help and assistance getting from China can be processed and brought immediately which will be very effective in the present scenerio. The long awaited SEE exams, all the schools and the children are excited and prepared. I believe there will be any benefits to either students or to schools. It's not fair to say that school owners will be happy with the news issued. Instead of indefinite postpone of the exams it would have been better if the exams are taken in the respective schools where the students are studying which will be effective.

  •  0 Reply
  • indra

    March 20, 2020, 7:11 a.m.

    lock down is the best preventive measure. since Nepal is land locked country and difficult to control POE through ground crossing. it's not meaning ful to lockdown once virus gets start to spread because looking at health system and transportation system of Nepal it's uncontrollable to stop community spread once it gets spread. System strengthening is not short-term, magic business which could be improved overnight. Government should take solid decision and we people should help to government decision in regards to step taken by government.

  •  0 Reply
  • Jeeban Gurung

    March 19, 2020, 5:12 p.m.

    जब संग्क्रमण फैली सक्छ तेसपछी लक्दौन गर्नुको केमत्लब ? यूरोप अमेरिका ले तेही कमजोरीको फल भोग्दैछ !

  •  0 Reply
  • Santos

    March 19, 2020, 1:13 p.m.

    अनि कोरोना परीक्षण टेकु अस्पतालमा मात्र त्यो पनि सिमित।काठमाडौं बाहिरका लाई कसरी परीक्षण गर्ने हो? भगवान भरोसा??!!!! सरकारको योजना जानकारीमा आवोस।

  •  0 Reply

तपाईको प्रतिक्रिया