काठमाण्डौमा कोरोना बिरामीकाे उपचार भइरहेको अफवाह फैलाएकाे अभियाेगमा युवक पक्राउ

 चैत ८, २०७६ शनिबार १७:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नर्भिक अस्पतालमा कोरोना भाइरस सङ्क्रमित बिरामी भेटिएको भन्दै फेसबुक म्यासेन्जरमार्फत अफवाह फैलाएकाे अभियाेगमा एक युवक पक्राउ परेका छन् । 

रामेछाप घर भइ भक्तपुर, सिपाडोल बस्दै आएका २० वर्षीय विजय थापा मगर पक्राउ परेकाे प्रहरी प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयाे । 

उनले काठमाण्डौका नर्भिक र टेकु अस्पताललगायत अन्य अस्पतालमा कोरोनाका बिरामीकाे उपचार भइरहेको र बिरामीकाे ज्यान नै गएको भन्दै अफवाह फैलाएका थिए । 

अस्पताल प्रशासनले भने आफ्नो अस्पतालमा कारोना सङ्क्रमणकाे कुनै बिरामीको उपचार नभएको विज्ञप्तिमार्फत जानकारी गराइसकेको छ । प्रहरीले गलत हल्लाकाे पछि नलागेर सरकारको आधिकारिक सूचना र जानकारीमा विश्वास गर्न पनि आग्रह गरेको छ ।

मुलुकी अपराध संहिताअनुसार अफवाह फैल्याउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया