१७ वर्षको परदेश बसाईमा पहिलो पटक डर र अभाव देखेँ

 चैत १०, २०७६ सोमबार १९:४७:३ | मेरो कथा मेरो भोगाई

कोशराज राई/कुवेत ।

मैले जीवनको १७ वर्ष परदेशमा बिताएँ । तर यस्तो अनुभव अहिलेसम्म गर्नु परेको थिएन । दुःखसुख त परदेशमा हुन्छ नै तर पहिलो पटक फरक महसुस हुँदैछ । भोजपुर हो मेरो घर । तीन वर्ष कतारमा बिताएँ । कुवेत आएको पनि १४ वर्ष भइसक्यो । ट्याक्सी चलाउँछु ।

सामान्य अवस्थामा राम्रो नै थियो । ठाउँ राम्रो । काम पनि रोजाईकै हुँदा जन्म ठाउँ र देशबाट टाढा भए पनि मन भुलेको थियो । तर अहिले एक्कासी कोरोनाको त्रासले मन त डराएको छ नै अवस्था पनि अघिपछि कहिल्यै नेदेखेको नभोगेको भोग्न परिरहेको छ । साँझ कर्फ्यु लागेपछि बाहिर जान पार्इंदैन । कोठामा नै बस्ने हो । इन्टरनेट साथीभाइले पोष्ट गरेका जानकारी र खबरहरु पढ्ने हो ।

अरुको दख्दा साह्रै दुःख पनि लाग्दो रहेछ । कतिलाई यहाँको प्रहरीले पक्राउ पनि गरिरहेको छ । कोरोनाको त्राससँगै अहिले स्थानीय नियम नमान्दा पक्राउ परिने कारबाही हुने त्रास पनि उत्तिकै हुन्छ । त्यसैले हामीले सबैले सावधानी अपनाउन पर्छ । अरु पक्राउ परे, यस्तो भयो भन्ने कुरा सुन्दा मात्र पनि नमिठो लाग्दो रहेछ । यस्तो अवस्थाको सामाना गर्न पर्दा दुःख पनि लाग्ने रहेछ ।

मलाई त अहिले कोरोनाको त्राससँगै काममा पनि समस्या भएको छ । म ट्याक्सी चलाउँछु । मानिसहरु नै आवतजावत नहुने भएपछि व्यवसाय पनि धरापमा पर्न थालेको छ । दैनिक साहुलाई पैसा बुझाउन पर्ने हुन्छ । कमाइ गरेर नै खान र बस्नको व्यवस्था गर्न पर्छ । अहिले त हिँडडुल गर्नै गाह्रो छ भने कमाइ हुने कुरा पनि भएन । अर्को कुरा ट्याक्सी चलाउन पनि त कोरोनाको डर नै हुनेरहेछ ।

यस्तै अवस्था लामो समस्यसम्म रहेमा के गर्ने भनेर सोच्न सकेको छैन । गाह्रो त पक्कै हुन्छ नै । यसअघि यस्तो अभाव थिएन । हरेक कुरा सजिलो थियो । मास्कदेखि सेनिटाइजरसमेतको अभाव हुन थालको छ ।

यो अवस्था भनेको डराउनेभन्दा पनि सावधान हुने हो । तर डराउन्न भने पनि के होला भन्ने डर छ । न कामको भर छ । अहिले परदेशमा मसहित सबैलाई गाह्रो त छ । त्यसैले काम र कमाइमा भन्दा पनि कोरोना सङ्क्रमणको जोखिमबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं । सरकारले जारी गरेको सुरक्षा सतर्कता पालना गरौं ।

अन्तिम अपडेट: असार १४, २०७७

तपाईको प्रतिक्रिया