कोरोना सङ्क्रमणको शङ्का लागेमा कहाँ सम्पर्क गर्ने ?

 चैत ११, २०७६ मंगलबार ९:५२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना भाइरस (कोभिड १९) को जाँच टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै गर्न सकिन्छ । तर कोरोनाको उपचारको लागि सरकारले सबैजसो अस्पतालमा आइसोलेशन बेडको व्यवस्था गरेको छ । ती अस्पतालले नमुना लिएर परीक्षणको लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउनेछन् र कोरोना लागेको वा नलागेको पुष्टि टेकु अस्पतालले गर्नेछ  । 

कोरोनाको मुख्य लक्षण उच्च ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने भएमा काठमाण्डौका सबै मुख्य अस्पताल सहित जिल्ला अस्पतालहरुमा जान सकिनेछ । अहिले सबैजसो सरकारी अस्पतालले कोरोना सङ्क्रमणको शङ्का लागेका बिरामीको उपचार गर्ने कक्ष अर्थात् आइसोलेशन वार्डको व्यवस्था गरिसकेका छन् । 

कोरोनाको विशेष उपचार गर्न सेना र सशस्त्र प्रहरीलाई मुख्य जिम्मेवारी

कोरोना सङ्क्रमितको उपचारको लागि सरकारले सुरक्षा निकाय र उनीहरुका संस्थालाई नै अघि सारेको छ । काठमाण्डौको सतुङ्गलमा रहेको सशस्त्र प्रहरीको अस्पताललाई डेडिकेटेड कोरोना अस्पताल बनाउन प्रक्रिया सुरु भएको छ । अस्पताललाई आवश्यक पर्ने साधन, स्रोत र जनशक्तिका बारेमा सरकारलाई प्रतिवेदन बुझाइसकिएको छ । 

अस्पतालमा पूर्वाधार व्यवस्थापन गर्न र त्यहाँ उपचाररत बिरामीलाई अन्यत्र सार्ने तयारी भइरहेको सशस्त्र प्रहरीका प्रवक्ता प्रविनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल सरकारले अब विभिन्न उपकरण जडान र डाक्टर तथा नर्सको व्यवस्था गर्ने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

यस्तै नेपाली सेनाले पनि देशका विभिन्न पृतनामा दुई हजार २२ वटा क्वारेन्टाइन बेड र आठ सय ३८ वटा आइसोलेशन बेड तयार पारेको छ । कोरोनाको उपचारको लागि नेपाली सेनाले चीनबाट सहयोग प्राप्त मोबाइल अस्पताल पनि प्रयोगमा ल्याउनेछ । दुई वटा मोवाइल अस्पतालमा एकैपटक सय जनाको उपचार गर्न सकिनेछ । 

यस्तै सेनाले आफूसँग भएका विशेष खालका आठ वटा एम्बुलेन्स पनि प्रयोग गर्ने जनाएको छ । चीनले दिएका यस्ता एम्बुलेन्समा भित्रै राखेर उपचार गर्न मिल्नेछ ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया