निगमको घुम्ती सेवा : दुई दिनमा २ सय ६० सिलिण्डर बिक्री

 चैत २०, २०७६ बिहिबार १०:१९:१३ | रासस
unn.prixa.net

काठमाण्डौ - नेपाल आयल निगमले अत्यावश्यक र साधारण उपभोक्तालाई ध्यानमा राखी टेकु कार्यालय र घुम्ती सेवामार्फत ग्यास बिक्री गर्दै आएको छ ।

मङ्गलबार र बुधबार दुई दिनमा घुम्ती सेवा र टेकु कार्यालयबाट निगमका विभिन्न कम्पनीका दुई सय ६० वटा  सिलिण्डर वितरण गरिएको छ ।

लकडाउन अवधिभरका लागि निगमले साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर उपभोक्ताको आवश्यकता अनुसार विभिन्न ग्यास कम्पनीका सिलिण्डर वितरण गर्दै आएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मङ्गलबार ८७ वटा सिलिण्डर ग्यास बिक्री गरिएको थियो । जसमा नेपाल ग्यास ४१, एसटीसी २०, सुगम–एभरेस्ट ग्यास १०, श्री–बाबा ६ र सगर ग्यास १० सिलिण्डर छन् । 

त्यस्तै बुधबार सात कम्पनीका एक सय ७३ वटा सिलिण्डर बिक्री गरिएको छ । तिनमा नेपाल ग्यास ७७, एसटीसी २८,  श्री १५, एभरेस्ट २३, सगर १४, बाबा १२ र शिवम् कम्पनीका चार सिलिण्डर बिक्री गरियो ।  उपाध्यायका अनुसार उपभोक्ताको माग अनुसार घुम्ती सेवामार्फत र अत्याश्यक हुनेलाई निगमको टेकु कार्यालयबाट ग्यास बिक्री गरिएको छ ।

निगमले घुम्ती सेवा र टेकु कार्यालयबाट बेच्नका लागि विभिन्न कम्पनीका तीन सय ६० वटा सिलिण्डर ग्यास तयार पारेको थियो । त्यही अनुसार निगमसँग नेपाल ग्यास ८० तथा सुगम–एभरेस्ट, एसटिसी, बाबा–श्री र सगर ग्यास ७०–७० थिए ।

निगमले बढ्न सक्ने सम्भावित माग ध्यानमा राखी नेपाल ग्यास थप ८० एवम्  एसटीसी, लुम्बिनी र सिद्धार्थ ७०–७० तथा मनोज, एचपी र गृहलक्ष्मीका ३५–३५ सिलिण्डर ग्यास मगाएर मौज्दात समेत  राखेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया