‘म कुनै व्यक्ति विशेषको सहयोगले गभर्नर बनेको होइन’

 चैत २५, २०७६ मंगलबार १३:३९:७ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले चिन्तामणि शिवाकोटी र राजन खनाललाई पञ्छाउँदै लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत रहनुभएका  अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो । तीस वर्ष राष्ट्र बैंकमा जागिरे भएर पाँच वर्षअघि डेपुटी गभर्नर हुनुभएका अधिकारी त्यतिबेला पनि गभर्नरको दौडमा हुनुहुन्थ्यो । तर चिरञ्जीवी नेपालले बाजी मारेपछि उहाँ लगानी बोर्डको सिईओ हुुनुभएको थियो । यसपटक भने अर्थमन्त्री डाक्टर युवराज खतिवडाको जोडबलमा अधिकारी गभर्नर नियुक्त हुनुभएको छ । कोरोना महामारीको कारण अर्थतन्त्रमा विश्वव्यापी रुपमा मन्दी आएको बेला नवनियुक्त गभर्नर अधिकारीसामु थुप्रै चुनौती छन् । नवनियुक्त गभर्नर अधिकारीसँग अर्जुन पोख्रेलले गरेकाे सङ्क्षिप्त कुराकानी: 

पाँच वर्षअघि गभर्नरको दौडमा रहनुभएकोमा अहिले बल्ल त्यो धोको पुरा भयो । कतिको खुसी हुनुहुन्छ ?

मैले निकै लामो समय राष्ट्र बैंकमा काम गरेँ । कामको क्रममा मैले धेरै अनुभव हासिल गरेको छु । विभिन्न विभागमा रहेर काम गर्ने अवसर पाएको थिएँ । केही सुुधारका काम पनि गरेको थिएँ । तीस वर्षको यात्रापछि पछिल्लो पाँच वर्ष राष्ट्र बैंकमा रहन पाइनँ । तर अहिले गभर्नर बनेर फर्कन पाएको छु । धेरै खुसी छु । मेरो मिहिनेतको कदर भयो भन्ने लागेको छ । 

तपाईं पाँच वर्षअघि पनि गभर्नर पदको दौडमा हुनुहुन्थ्यो । डा. युवराज खतिवडालाई धेरै गुण लगाउँदा लगाउँदै पनि उहाँले तपाईंलाई गभर्नर बनाउन असफल हुनुभएको चर्चा थियो । यसपटक भने अर्थमन्त्री डा. खतिवडाबाट निकै सहयोग पाउनुभएको जस्तो छ नि ?

यस पटक मैले सबैको साथ पाएको हुनाले गभर्नर हुन पाएँ भन्ने लाग्छ । राष्ट्र बैंकमा मैले गरेको काम र सुधारलाई जसले बुझ्नु भएको छ, उहाँहरु सबैले यसपटक मलाई साथ दिनुभएको छ । कुनै व्यक्ति विशेषले मात्र सहयोग गरेर म यहाँ पुगेँ भन्न मिल्दैन । मलाई बुझेका र यसलाई राष्ट्र बैंकमा पठायो भने जिम्मेवारी पुरा गर्न सक्छ भन्ने लागेर सिफारिस गर्नेदेखि अनुमोदन गर्ने सबैको साथ पाएको छु । मलाई भरोसा गरेर यो पद दिएको भन्ने लाग्छ मलाई । 

पाँच वर्षअघि गभर्नर हुन पाउनुभएन । त्यतिखेर गर्न नपाएको तर अब पुरा गर्ने अवसर आयो भन्ने खालको कुनै सुधारको योजना छ ?

केन्द्रीय बैंक भनेको अरु निकायजस्तो प्रचारबाजी गर्ने संस्था होइन । यसका आफ्नै नीति छन् । आफ्नै उद्देश्य छन् । हामीले स्वायत्त भएर काम गर्नुपर्ने हुन्छ । देशको अर्थतन्त्र र सारा नेपालीको पुँजी यसैसँग जोडिएको हुनाले नागरिक र सरकारको पुँजीको रक्षा तथा यसको सही उपयोगमा नै हामी केन्द्रित हुुनुपर्छ । बैंकिङ प्रणालीलाई व्यवस्थित गर्न सकिएन भने यसले धेरै समस्या निम्त्याउँछ । कुनै एउटा संस्थामा मात्रै नभई समग्र अर्थतन्त्रमा नै समस्या आउन सक्छ । त्यसैले राष्ट्र बैंकभित्रका सबै विभाग बलियो बनाएर राम्रो नियमन गर्ने हरेक गभर्नरको इच्छा हुन्छ । मेरो पनि त्यही इच्छा छ ।  राष्ट्र बैंकलाई थप बलियो बनाउने, बैंंक तथा वित्तीय संस्थाहरुलाई थप पारदर्शी बनाउने र नागरिकको धनलाई पूर्ण सुरक्षा दिनेमा म र मेरो टिम केन्द्रित हुनेछ । 

कोरोना महामारीले गर्दा विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्रमा पनि खतराको सङ्केत देखिएको बेला गभर्नर बन्नुभएको छ । चुनौती कतिको देख्नुभएको छ ?

वित्तीय क्षेत्र जहिले पनि सम्वेदनशील र चुनौतीपूर्ण नै हुन्छ । सामान्य अवस्थामा पनि यो चुनौतीमै रहन्छ । अहिले त अझ कोरोना भाइरसको कारणले पक्कै पनि हाम्रो अर्थतन्त्रमा समस्या देखिन थालेका छन् । हामीले यसलाई ठूलो चुनौतीको रुपमा लिएका छौं । यो कति परसम्म जान्छ भन्ने कुराले हामी कति खतरामा पर्दैछौं भन्ने जनाउनेछ । अहिलेलाई महामारी नियन्त्रण र राहत प्याकेजमा जोड दिनुपर्ने हुन्छ । तर महामारी सकिएपछि भने अहिले खलबलिएको क्षेत्रलाई सुधार गर्न लागिहाल्नुपर्छ । 

तीस वर्ष सेवा गरेको संस्थाबाट पाँच वर्ष टाढा रहनुभयो । पाँच वर्षसम्म राष्ट्र  बैंकको बारेमा के के सोच्नुभयो ? कतिको सम्झिनुभएको थियो ?

तीस वर्षसम्म काम गरेपछि आफू त्यही परिवारको सदस्य भइयो भन्ने ‘फिल’ हुने रहेछ । अपनत्व जागृत हुने रहेछ । बाहिर बसेपनि राष्ट्र बैंकको बारेमा नराम्रा विषय आउँदा मन पोल्दोरहेछ । नराम्रो लाग्दोरहेछ । राम्रो कुरा या सफलताको खबर आएमा म पनि यो सफलताको भागीदार हुँ जस्तो लाग्नेरहेछ । पाँच वर्षसम्म मैले राष्ट्र बैंकलाई खुब ‘मिस’ गरेको थिएँ । अब फेरि परिवारको सदस्य मात्रै होइन, अभिभावक नै भएर आएको छु । निकै खुसी लागेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया