बालिकाको हत्याको विरोधमा शनिबार पनि प्रदर्शन, आफन्तले शव बुझ्न मानेनन्

 साउन १२, २०७५ शनिबार १७:४४:४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा फेला परेकी १३ वर्षीय बालिकाको हत्यारालाई कारबाहीको माग राख्दै शनिबार पनि प्रदर्शन भएको छ ।

स्थानीय बासिन्दा र कांग्रेस निकट भातृ संगठनहरुले शनिबार महेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । हत्याराको पहिचान गरी दोषीलाई कारबाही हुनुपर्ने, घटनास्थलमा अस्थायी प्रहरी बिटको स्थापना गर्नुपर्ने माग राख्दै स्थानीय र कांग्रेस निकटका नेपाल महिला संघ, नेपाल दरुण दल र नेविसंघले बजार बन्द गर्नुका साथै नगरपालिकाको मुल गेटमा प्रदर्शन गरेका छन् ।

सरकारले घटनालाई गम्भीर रुपमा नलिएकाले स्थानीय सरकार र प्रहरी प्रशासनलाई दबाब दिनका लागि आफूहरु सडकमा आएको नेविसंघ कञ्चनपुरका सदस्य किशोरप्रसाद जोशीले बताउनुभयो ।

आफन्तले शव बुझ्न मानेनन्

मृतक निर्मालाका आफन्तले विभिन्न माग राख्दै शव बुझ्न मानेका छैनन् । उनीहरुले दोषीलाई सार्वजनिक गर्न तथा घटनास्थलमा प्रहरी बिट राख्नु पर्ने माग गर्दै शुक्रबार घटनास्थलबाट शव उठाउन समेत अवरोध गरेका थिए । सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत पन्तको शव शुक्रबार वडा नम्बर १८ मा पर्ने यज्ञराज जोशीको उखुबारीमा फेला परेको थियो ।

अबरे राति मात्रै शव उठाएर पोष्टमार्टम गरिए पनि आफन्तले अहिलेसम्म शव बुझेका छैनन् । मृतकका आफन्त भोजराज पन्तले दोषीलाई सार्वजनिक गर्नुपर्ने, घटनास्थलमा प्रहरी बिट राख्नुपर्ने र पीडित परिवारले न्याय नपाएसम्म शव नबुझ्ने बताउनुभयो ।

मृतक निर्मलाको शव पोष्टमार्टमपछि महाकाली अञ्चल अस्पतालमै राखिएको छ । सुरक्षाको लिखित प्रतिबद्धता नआउन्जेलसम्म शव नबुझ्ने आफन्तले अडान लिएका छन् । 

घटनाको सर्वत्र भर्त्सना

१३ वर्षीय बालिकाको बलात्कार गरी हत्या गरिएपछि त्यसको सवत्र भर्त्सना गरिएको छ । कञ्चनपुरका विभिन्न चार विद्यार्थी संगठनले समेत घटनाको भर्त्सना गर्दै घटनाको यथाशीघ्र छानबिन गरेर दोषीलाई कारबाहीको माग गरेका छन् । कांग्रेस निकट नेविसंघ, नेकपा (पूर्व एमाले) निकट अनेरास्ववियू, पूर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा विप्लव निकट क्रान्तिकारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग राखेका छन् ।

यता, भीमदत्त नगर कार्यपालिकाले पनि विज्ञप्तिमार्फत दुःख व्यक्त गरेको छ । नगरपालिका कार्यालयले बालिकाको बलात्कारपछि मृत अवस्थामा भेटिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै छानबिन गरी घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको माग गरेको छ ।

सोधपुछ र अनुसन्धान जारी

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले घटनामा शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले तीन युवकसहित दुई युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताउनुभयो । 

शुक्रबार छात्राको हत्याको विरोधमा प्रदर्शनका क्रममा भएको धरपकडमा दुई जना प्रहरीसहित एक दर्जनभन्दा बढी स्थानीय र नेपाल महिला संघका सदस्य समेत घाइते भएका थिए । प्रहरीले भीडलाई नियन्त्रणमा लिन २२ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • मनसुन मान

    July 29, 2018, 6:25 p.m.

    बलात्कारीलाई साफीको सजाय हुनुपर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया