हाय ! ‘लकडाउन’

 चैत २९, २०७६ शनिबार ९:३४:४९ | दामोदर न्याैपाने
unn.prixa.net

साँघुरो गल्ली, गल्लीभित्र चिया पसल
स्टोभमा कित्ली अनि कित्लीभित्र चिया
थोरै चिनी अनि अलि धेरै कडा रङ्ग
हो त्यही चियाको चुस्कीसँगै सुरु हुन्थ्यो मेरो दिन
तर अचेल ती मेरा लागि दिन कटाउने याद बनेका छन् ।

दिनभरि कोठामै उकुसमुकुस गुम्सिएको छु
घरि यता पल्टेको छु, घरि उता पल्टेको छु 
कहिले उठ्छु अनि बिस्तारै ढोका खोलेर बाहिर चियाउँछु
साइरनको आवाज सुन्छु अनि हत्त न पत्त भित्र पस्छु
खान्छु, सुत्छु अनि उठ्छु अरु केही छैन 
यही छ आजभोलिको दिनचर्या नयाँ केही छैन ।

युट्युब खोल्छु, प्रियदर्शनको फिल्म सर्च गर्छु
अनि एउटै डाइलगमा नयाँ नयाँ तरिकाले हाँस्न खोज्छु
कहिले हाहा हिहि हुहु गर्छु, कहिले खित्का छोडेर हाँस्छु
गुगलको हिस्ट्रीभरि फिल्मदेखि गीतसम्मको ओइरो लागेको छ 
अनि मनमनै सोच्छु मनोरञ्जनको दुनियाँको म विकिपिडिया हुँ 
गीतमा मोडलले कति पटक आँखा झिम्काको
हिरोहिरोइनले कति पटक अङ्कमाल गरेको सबै याद छ 
एक्सन सिनमा हिरो कति फिटमाथि उडेको
गीतमा कति पटक देब्रे घुमेको सबै दुरुस्तै छ ।

हो, अहिले दिन कटाउन गाह्रो छ
त्यसैले मैले घडीको ब्याट्री झिकेर राखेको छु
क्यालेण्डरलाई पनि बाकसमा खाँदेको छु
आकाश हेरेर अहिले ठ्याक्कै कति बज्यो
बिहानदेखि बेलुकासम्म छिमेकीले मलाई कति सराप्यो
सबै ठिक ठिक थाहा हुन्छ 
उडिरहेको चराको शरीरको रौँदेखि
थालमा पस्केको भातको सिता कति छन्
मलाई सोधे हुन्छ 
एक टिप रोडादेखि चोक्करको सङ्ख्या गन्न मलाई खोजे हुन्छ ।

हो, म अहिले साँच्चै फाल्तु भएको छु
हल्का पर्दा खोलेर छिमेकीको घर चियाउन थालेको छु 
लोग्ने स्वास्नी बाँझेकोदेखि लवर जोडी नाचेकोसम्म मलाई थाहा हुन्छ
कसको घरमा के भइरहेको छ देखि तरकारी के पाकेको सम्म थाहा हुन्छ ।

यो मेरो अद्भूत क्षमताको कदर गर्दै मलाई गोदबा दिइनुपर्ने हो
तर यो मान्छेहरुको शहर हो
लक्ष्मीप्रसाद जस्तालाई राँची पठाउन मनुवाहरु उत्तेजित हुन्छन् ।
हाय ! लकडाउन

अन्तिम अपडेट: बैशाख ९, २०८१

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया