खच्चडकै भरमा सामान ढुवानी

 साउन १३, २०७५ आइतबार ९:२२:२३ | रासस
unn.prixa.net

जाजरकोट – डोल्पा जाने आन्तरिक सडक अवरुद्ध भएपछि ढुवानीको विकल्प नहुँदा घोडा तथा खच्चडको प्रयोग पढ्न थालेको छ । 

डोल्पामा दुई विमानस्थल भए पनि त्यहाँ नियमित रुपमा उडान हुन नसक्दा तथा भाडादर सर्वसाधारणले थेग्न नसकेको कारण घोरेटाहरुमा अझै खच्चडका लस्कर मात्र देखिन्छन् । जाजरकोट र डोल्पामा दैनिक ४०० भन्दा बढी खच्चडले खाद्यान्न, दैनिक उपभोग्यवस्तु र निर्माण सामग्री ओसार्ने गरेको सम्बद्ध व्यवसायी बताउँछन् । 

चामल, चिनी, तेल, नुन, ग्यास, दाललगायत खाद्यान्न तथा लत्ताकपडा, पुस्तक र सिमेन्ट, छडलगायत विकास निर्माण सामग्री घोडा–खच्चडबाटै ढुवानी गर्ने गरिएको छ । जाजरकोट र रुकुमका विभिन्न बजारबाट दैनिक ४०० खच्चडले डोल्पातर्फ सामान ओसापसार गर्ने गरेको खगेनकोटका पूर्णबहादुर खत्रीले बताउनुभयो । गत वर्ष सरकारले एक वर्षभित्र मोटरबाटो पुर्‍याउने भने पनि तल्लो डोल्पामा मात्र यातायातका साधनहरु सञ्चालन हुन सकेका छन् । जाजरकोट–दुनै सडक निर्माणमा संलग्न सैनिक कार्यदलले यो वर्षभित्र दुनैमा सडक पुग्ने बताएको छ । यातायातको साधनका रुपमा हवाई सेवा छ तर नियमित तथा भरपर्दो छैन । खच्चडबाट ढुवानी गर्दा भन्दा निकै महँगो पनि पर्ने जुफाल त्रिपुराकोटका रामबहादुर न्यौपानेले बताउनुभयो । 

“खच्चडले रु ६० प्रतिकिलोमा ढुवानी गर्ने सामान जहाजले १५० लिन्छ,” उहाँको भनाइ छ । दैनिक घोडा–खच्चडले ढुवानी गर्दा पनि डोल्पामा खाद्यान्न र विकास निर्माण सामग्री अभाव हुने गरेको न्यौपानेको भनाइ छ  

जाजरकोटको तल्लुबगरसम्म यातायात सञ्चालन हुने गरेको छ । कच्ची सडक, विभिन्न खोलामा पुल नहुँदा यातायात नियमित बन्न नसक्दा डोल्पा लैजाने सामग्री टाढाको दूरीबाटै खच्चडद्वारा ढुवानी हुने गरेको छ । सेनाले जाजरकोट–डोल्पा सडक निर्माण कार्यलाई तीव्र पारेको छ । वर्षायाम भएका कारण अहिले अधिकांश जाजरकोट सडकखण्ड बन्द भएका छन् ।

चालु वर्षमा डोल्पा खण्डमा भिर काट्ने कार्य जारी भएको सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिनुभयो । जाजरकोट र डोल्पामा सडक निर्माण कार्य तीव्र भए पनि वर्षाको कारण सडक भत्किएपछि सबै यातायातका सेवा ठप्प भएको हो । अहिले खच्चडको भरमा ढुवानी कार्य सञ्चालन हुँदै आएको छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया