अस्पताल आफैँ थला पर्‍याे, रुँदै फर्कन्छन् बिरामी

 साउन १३, २०७५ आइतबार १०:३९:२ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – हरेक स्थानीय तहमा विशेषज्ञ डाक्टर सहितको अस्पताल बनाउने सरकारको नीति भए पनि महाकाली अञ्चल अस्पतालमा भने दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर नभएर सेवा प्रभावित भएको छ । 

सरकारले पटकपटक गरी २८ जना चिकित्सकको दरबन्दी कायम गरेपनि पदपूर्ति भने हुन सकेको छैन । एकजना मेडिकल सुपरिटेण्डेन्ट, ६ जना मेडिकल अफिसर र १९ जना विशेषज्ञ डाक्टर, एकजना डेण्टल र एक जना परिवार नियोजनतर्फ गरी हालसम्म २८ जना चिकित्सकको दरबन्दी कायम गरेको छ । जसमध्ये अहिले १ जना मेडिकल अफिसर र ३ जना विशेषज्ञ चिकित्सक मात्रै अस्पतालमा कार्यरत रहेको महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताउनुभयो ।

अञ्चल अस्पताल भए पनि यहाँ सामान्य किसिमका रुघाखोकी, झाडाबान्दा, ज्वरोलगायतको मात्र उपचार हुने गरेको छ । दैनिक ५० देखि ७०–८० जना बिरामी स्वास्थ्य जाँचको लागि अस्पताल आउने गरेका छन् । अस्पतालमा स्त्रीरोग, हाडजोर्नी र जर्नल फिजिसियन गरी तीन जना विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् । तर दक्ष जनशक्ति नहुँदा सामान्य किसिमको शल्यक्रिया वा प्रसुतिका लागि पनि बिरामीले अन्यत्र जानुपर्ने बाध्यता छ ।

केही समयअघि अस्पतालमा जडान गरिएको आइसीयू सेवासमेत दक्ष जनशक्तिकै कारण थला परेको छ । अस्पतालले सामाजिक सेवा इकाइबाट अति बिपन्न र गरीब परिवारका सेवा लिन पाउने बिरामीलाई दिने औषधिसमेत तीन महिनादेखि पूर्ति हुन सकेको छैन । सरकारले दिएको रकम अपुग भएपछि अस्पतालले पटकपटक यसबारे मन्त्रालयमा जानकारी गराएको जनाएको छ ।

‘हामी कहाँ ५ महिना नपुग्दै औषधी सकिन्छ’ महाकाली अञ्चल अस्पताका सूचना अधिकारी केशवदत्त अवस्थीले भन्नुभयो ‘यसबारे मन्त्रालयमा धेरै पटक खबर गर्‍याेँ । तर औषधीको अभाव कायमै छ ।’

निःशुल्क पाइने औषधी किन्न लगाउँदा रुँदै हिँडिन् वृद्धा

खुट्टाको घाउको उपचारका लागि अस्पताल आएकी भीमदत्त नगरपालिका १८ की ६५ वर्षीया जानकी भट्ट सामाजिक इकाइका स्वास्थ्यकर्मीले क्लिनिकबाट औषधी किन्न भनेपछि रुँदै निस्किनुभयो ।

जनशक्ति नै नभएको बेला उपकरण खरिदका लागि होडबाजी चल्ने अञ्चल अस्पतालमा औषधी खरिदका लागि भने कसैको ध्यान जान सकेको छैन् । जसले गर्दा गरिब, असाह्य, अपांग तथा वृद्ध लगायत सरकारकोे वर्गिकरणभित्र परेका सेवाग्राहीले समेत निःशुल्क भनेका औषधी पाउन सकेका छैनन् ।

खुट्टाको घाउको उपचारका लागि अस्पताल आएकी भीमदत्त नगरपालिका १८ की ६५ वर्षीया जानकी भट्ट सामाजिक इकाइका स्वास्थ्यकर्मीले क्लिनिकबाट औषधी किन्न भनेपछि रुँदै निस्किनुभयो । श्रीमान र छोराछोरी गुमाएर एकल जीवन बिताइरहेकी उहाँ सरकारी अस्पतालमा निःशुल्क औषधी पाइने सुनेपछि उपचारका लागि आउनुभएको थियो । तर औषधी सकिएको भन्दै स्वास्थ्यकर्मीले बाहिर क्लिनिकबाट औषधी किन्न भनेपछि उहाँ रुँदै निस्किनुभयो । 

आधुनिक उपकरण खरिदका लागि यो अस्पतालमा आर्थिक वर्ष २०७३/७४ मा एक करोड १० लाख रुपैयाँ छुट्याइएको थियो भने आर्थिक वर्ष २०७४/७५ मा २ करोड २५ लाख रुपैयाँ छुट्याईंदा औषधी खरिदका लागि १८ लाख रुपैयाँ मात्रै छुट्याइयो । जसले गर्दा  ५ महिना नपुग्दै औषधीको अभाव सिर्जना भएको अस्पतालले जनाएको छ ।

टिक्दैनन् डाक्टर

महाकाली अञ्चल अस्पतालमा डाक्टरहरु आउन नचाहनु र आएका डाक्टरहरु पनि धेरै समय बस्न नचाहनु एउटा ठूलो समस्या बनेको छ । यसको प्रमुख कारण हो कञ्चनपुर जिल्लालाई सुगम जिल्लामा पारिनु । डाक्टरको स्तर वृद्धि, बढुवा प्रक्रियालगायतका सम्पूर्ण वृत्ति विकासका लागि दुर्गम जिल्लामा बढी अंक पाइन्छ ।

सेवासुविधा कम भएपनि कञ्चनपुर बसेवापत कम अंक पाइने र यसले स्तरवृद्धिमा समस्या देखिनुले पनि महाकाली अञ्चल अस्पतालमा डाक्टर आउन चाहँदैनन् । 

साथै बेलाबेला हुने गरेका अस्पतालभित्रका लापरबाही लगायतका घटनाले बिरामी पक्ष र अस्पताल प्रशासनबीचको तनावले प्रचारबाजी पाउँदा अन्यत्रबाट डाक्टर यहाँ आउन आउन चाहँदैनन् । 

उपकरणका किन्न होडबाजी 

सामान्य किसिमका उपचार बाहेक अन्य विशेषज्ञ सेवा दिन नसेके पनि महाकाली अञ्चल अस्पतालमा वर्षेनि महंगा तथा अत्याधुनिक उपकरण भित्र्याउने होडबाजी चल्ने गर्दछ । दरबन्दी अनुसार चिकित्सक तथा प्राविधिक नभए पनि अस्पतालले अत्याधुनिक उपकरणका लागि भने वर्षेनी करोडौ रकम माग गर्दै आएको छ ।

त्यसो त, महाकाली अञ्चल अस्पताल भौतिक संरचना अनुसार सुविधा सम्पन्न अस्पतालका रुपमा चिनिन्छ । एकसय शैय्या सञ्चालनमा रहेको यो अञ्चल अस्पतालमा आवश्यक उपकरण पनि छन् । तर, दक्ष चिकित्सक र जनशक्तिको अभावले गर्दा ती उपकरणहरु त्यसै थन्किएका छन् भने विशेषज्ञ सेवा नपाउँदा बिरामीले चर्को मूल्य तिरेर निजी क्लिनिक तथा भारतीय सीमावर्ती बजारस्थित अस्पतालहरुमा उपचार गराउनु परेको छ ।

आधुनिक उपकरण भित्र्याउने नाममा विकास समिति र अस्पताल प्रशासनले वर्षेनि करोडाैं रकम खर्चिए पनि त्यसको सदुपयोग हुन सकेको छैन । 

मेडिसिटीसँग सहकार्य गरेर अस्पताल चलाउन प्रयास

अस्पताल र मेडिसिटीले तयार पारेको मोडालिटीमा आर्थिक र प्रशासनिक काम सरकारले हेर्ने उल्लेख गरिएको छ भने डाक्टर, उपकरण, सरसफाई लगायतको जिम्मेवारी मेडिसिटीलाई दिने उल्लेख छ ।

सरकारले दरबन्दी अनुसारको डाक्टर पठाउन नसकेपछि अञ्चल अस्पताल विकास समिति र अस्पताल प्रशासनले नेपाल मेडिसिटीसँग सहकार्य गरेर अञ्चल अस्पताल सञ्चालन गर्न प्रक्रिया थालेको छ । 

सरकारले अस्पताल विकास समिति खारेज गरेपछि अस्पतालले यसअघि नै मेडिसिटीसँगको सहकार्यमा मोडालिटी तयार पारेर स्वास्थ्य मन्त्रालयमा पठाईसकेको छ । ‘अहिले देशभरीकै अस्पताल विकास समिति खारेज भइसकेका छन् ।

तर हामीले यसअघि स्वास्थ्य मन्त्रालयमा पठाएको मोडालिटी अहिले चिकित्सा महाशाखामा पुगेको छ’ अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले भन्नुभयो ‘त्यसलाई पोलिसी कोर्डिनेशन कमिटीले पास गर्नुपर्छ । त्यहाँबाट पास भयो भने मेडिसिटीसँगको सहकार्यमा अञ्चल अस्पतालको सम्पूर्ण सेवा सञ्चालन हुन्छ ।’

पाण्डेयका अनुसार अस्पताल र मेडिसिटीले तयार पारेको मोडालिटीमा आर्थिक र प्रशासनिक काम सरकारले हेर्ने उल्लेख गरिएको छ भने डाक्टर, उपकरण, सरसफाई लगायतको जिम्मेवारी मेडिसिटीलाई दिने उल्लेख छ ।

यसरी तयार पारिएको मोडालिटी दुई चरणको छ । पहिलो ६ महिनामा डाक्टरको व्यवस्था सरसफाई, नर्सको संचालन, तालिम, अनुशासन लगायत छन् भने दोस्रो चरणमा अस्पतालको भौतिक पूर्वाधारको व्यवस्थापनलाई जोड दिइएको छ । यसमा स्थानीय स्रोतबाट आम्दानी बढाउने र बिस्तारै डाक्टरहरुको तलबको व्यवस्था समेत आन्तरिक स्रोतबाट जुटाउनुपर्ने उल्लेख गरिएको पाण्डेयले बताउनुभयो ।   
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया