मनोरम दृष्यावलोकनको गन्तव्य टोड्के (फोटोफिचर)

 जेठ १३, २०७५ आइतबार १०:५२:१६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी, जेठ १२ – प्रकृतिको अनुपम उपहार । डाँडाकाँडाले घेरिएको प्राकृतिक सुन्दरता । वरिपरी वन जङ्गलको साथ । चराचुरुङ्गीको आवाज । पहाडको टुप्पो । केही सानो वस्ती । स्वर्गको आश्रम । मनोरम दृष्यावलोकन गर्न सकिने टोड्के पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको क्षेत्रका रुपमा चिनिन्छ ।

पश्चिम म्याग्दीको मंगला गाउँपालिका, बेनी नगरपालिका र उत्तरी रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने पर्यटकीय क्षेत्र टोड्के कृषि उत्पादन तथा धार्मिक हिसाबले महत्वपूर्ण छ । समुद्री सतहदेखि झण्डै २ हजार चारसय मिटरको उचाइमा अवस्थित पर्यटकीयस्थल टोड्के आसपासको क्षेत्रबाट मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । निकै आकर्षक, मनमोहक र सुन्दर दृश्य देखिने टोड्के पर्यटकीय गन्तव्य बन्न थालेको छ ।

साविकको पुलाचौर, कुहुँ र झीँ गाविसको सिमानामा पर्ने टोड्के क्षेत्रमा पर्यटकहरुलाई लक्षित गर्दै नेपाल टेलिकमको टावर जडान गरिएको छ । यसका साथै एनसेलको टावर पनि स्थापना गरिएको छ । 

पछिल्लो समय मंगलाको कुहुँ, पूर्णगाउँ र रघुगंगाको झीँ गाउँबाट सडक सञ्जाल जोडिएसँगै टोड्के रिङरोड बनेपछि थप आकर्षणको क्षेत्र बनेको छ । माघ र फागुन महिनामा लालीगुराँसले राताम्मे हुने टोड्केमा विभिन्न समयमा पिकनीक खानका लागि मानिसहरु त्यहाँ पुग्ने गरेका छन् ।

टोड्केको प्रचारप्रसार र विकास गरी पर्यटक भिœयाउनका लागि बेलाबेलामा गुराँस महोत्सव तथा टोड्के महोत्सवको आयोजना गर्ने गरिएको टोड्के क्षेत्र विकास कोषका उपाध्यक्ष बाबुराम आचार्यले बताउनुभयो । आउँदो वर्षमा मंगला र रघुगंगा गाउँपालिकाले बजेट विनियोजन गरेर आवश्यक पूर्वाधारहरु निर्माण गरिने गाउँपालिकाले जनाएका छन् ।

टोड्के पर्यटकीयस्थल रहेको हुँदा आउँदो वर्ष बजेटसहित कार्यक्रम सञ्चालन गरिने र टोड्केसम्म पुग्ने मोटरबाटोको स्तरोन्नति गरिने मंगला गाउँपालिकाका उपाध्यक्ष सृजना केसीको भनाई छ ।

मनोरम हिमश्रृङ्खलाको दृष्यावलोकन

पर्यटकीयस्थल टोड्केबाट धौलागिरि, अन्नपूर्ण, मानापाथी, निलगिरीलगायत मनोरम हिमश्रृङ्खलाको दृष्यावलोकन गर्न पाइन्छ । विगत केही समययता टोड्केमा म्याग्दीसहित बिभिन्न जिल्लाका साथै विदेशी पर्यटकहरु जान थालेका छन् । टोड्केको धुरीबाट म्याग्दी जिल्लाका धेरै भू–भागका साथै हिमाली जिल्ला मुस्ताङ र पर्वतको डाँडाकाँडा समेत देखिन्छ । पर्यटकीयस्थलको रुपमा रहेको टोड्केमा हेलिप्याड पनि रहेको छ ।

धजरा तथा आलु उपहार

न्युन घरधुरी भएको टोड्के क्षेत्र व्यावसायिक रुपमा मुला खेती तथा आलु खेतीका लागि प्रसिद्ध छ । टोड्केलाई अग्र्यानिक उत्पादनको क्षेत्र भन्ने गरिएको पाइन्छ । टोड्केमा पुग्ने पाहुनाहरुलाई स्थानीयले मुलाको चाना, धजरा र आलु कोसेलीको रुपमा उपहार दिने गरेका छन् । टोड्केका स्थानीयले परम्परागत रुपमा विषादीरहित मुला लगाउँदै आएका छन् । टोड्केमा उत्पादित मुला स्थानीय बजारसँगै विभिन्न ठाउँमा पुग्ने गरेको छ ।

स्वर्गद्वारीको शाखा स्वर्गाश्रम

पर्यटकीय क्षेत्र टोड्के आफैमा सुन्दर क्षेत्र त छँदैछ त्यसमा पनि एकसय वर्ष पुरानो स्वर्गाश्रमले झन् सुन्दरता थपेको छ । टोड्केमा रहेको स्वर्गाश्रममा देशका विभिन्न जिल्लाबाट समय समयमा ऋषिमुनिहरु आएर तपस्या गर्ने गरेका छन् । 

प्युठान जिल्लामा रहेको प्रसिद्ध स्वर्गद्वारी मन्दिरको शाखा मानिने टोड्केको स्वर्गाश्रम आसपासका क्षेत्रमा अन्य धार्मिक संरचनाहरुको पनि विस्तार गरिएको छ । स्वर्गाश्रमले समेत पर्यटकीय क्षेत्र टोड्केमा थप आकर्षण थपेको स्थानीयवासिन्दा बताउँछन् । 

भौतिक पूर्वाधार विस्तार

पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको टोड्के क्षेत्रमा भौतिक पूर्वाधार निर्माणले गति लिन थालेको छ । टोड्के क्षेत्र अवलोकन तथा भ्रमणमा जाने आन्तरिक एवं बाह्य पर्यटक र प्रसिद्ध मानिने मालिका मन्दिर दर्शन पुजनमा जाने भक्तजनहरुलाई लक्षित गरेर भौतिक पूर्वाधारको निर्माण कार्यलाई तिव्रता दिइएको छ ।

टोड्केमा गएको वर्ष पर्यटन बोर्डबाट प्राप्त ३४ लाख रुपैयाँको बजेटबाट पदमार्ग र गोलघर (प्रतिक्षालय) निर्माण गरिएको छ । यसैगरी यस क्षेत्रमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना (वास) दोस्रो चरणको आर्थिक सहयोगमा सटरसहित बाथरुम र शौचालयको निर्माण गरिएको छ ।

पदमार्ग निर्माणमा जोड

पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि टोड्केमा पदमार्ग निर्माणको कार्यलाई जोड दिइएको छ । चालू आर्थिक वर्ष २०७४÷७५ मा पर्यटन विभागबाट ३० लाख रुपैयाँ बजेट परेको टोड्के क्षेत्र विकास कोषले जनाएको छ ।

यो बजेटले बेनी–अर्थुङ्गे–गुफा–पुलहाश्रम–ढोल्ठान–जगन्नाथ–टोड्के–मालिका हुँदै विम पुग्ने पदमार्ग निर्माण गर्न लागिएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र टोड्केको विकास गरेर स्वदेशी र विदेशी पर्यटकहरुको आवागमन बढाउनेतर्फ स्थानीयहरु अग्रसर भएका छन् । जिल्लाबाट समेत पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धन गर्न आवश्यक पहल थालिएको छ ।

 

 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया