परदेशीले पाएनन् तलब, आफ्नो भन्दा घरपरिवारको चिन्ता बढी

 बैशाख ५, २०७७ शुक्रबार १८:७:४६ | बेदानन्द जाेशी

काठमाण्डौ – आफ्नै देशमा त समयमा तलब नआउँदा कति धेरै चिन्ता हुन्छ, झन् परदेशमा के होला ? 

साउदीमा धादिङका सुनिल गुरुङलाई पनि यस्तै भएको छ । मोबाइलमा तलब आएको नोटिफिकेसनको घण्टी सुन्न नपाएको दुई महिना भइसक्यो । कहिलेकाहीँ मोबाइलमा अरु नै नोटिफिकेसन आउँदा उहाँलाई लाग्छ, अब त पक्कै कम्पनीले तलब हालिदिएछ । तर उहाँको आशा सेकेण्डभरमै निराशामा परिणत हुन्छ ।

लकडाउन हुनेबित्तिकै बन्द भएको थियो सुनिलले काम गर्ने कम्पनी । 

‘फेब्रुअरी महिनाको तलब पनि आएको थिएन, अब त मार्च महिनाको तलब आउनुपर्ने दिन गुज्रिसक्यो’ तलब आउने दिन कुरेर बसेको दुई महिना भइसक्दा पनि तलब आउने हो नआउने हो उहाँ अन्यौलमा हुनुहुन्छ, ‘काम गरेको महिनाको तलब त आएन, अप्रिलमा त काम नै भएन के आउला र खै ।’ 

कम्पनीले पनि कुनै जानकारी नदिएको उहाँ बताउनुहुन्छ । म्यानेजरलाई सोध्दा लकडाउनले गर्दा ढिलो भएको भनेको छ । साथमा भएको पैसा पनि सकिन लाग्यो, अब के खाने कहाँ बस्ने उहाँलाई चिन्ता थपिएको छ ।

यस्तै कुबेतबाट विष्णुप्रसाद न्यौपानेको पीडा पनि उस्तै छ । उहाँ काम बन्द भएर कोठामै बस्दै आएको ४३ दिन भयो । लकडाउन हुनुभन्दा अगाडिदेखि नै भिसाको म्याद सकिएर उहाँ कोठामै बस्दै आउनुभएको थियो । लकडाउनपछि झन् कम्पनी नै बन्द भयो । अर्काको देशमा यति लामो समयसम्म तलब नपाउँदा खानेबस्ने समस्या बढ्दै गएको छ । आफू लगायत अरु १२ जना नेपाली तलब नपाएर कोठामै बसिरहेको उहाँको भनाइ छ ।

आफूजस्तै बेतलबी भएर बसेका नेपाली श्रमिकलाई नेपाल सरकारले उद्धार गरेर स्वदेश फर्काउला भन्ने आशामा आफूहरु बसेको उहाँ बताउनुहुन्छ ।

खाडी लगायत विश्वका विभिन्न देशमा रहेका नेपाली श्रमिकहरु अहिले कोरोना सङ्क्रमणका कारण निकै प्रभावित भएका छन् । कसैलाई यस्तो अवस्थामा पनि काममा खटिनुपरेको छ भने कसैलाई लामो समयदेखि तलब नपाएउँदा के खाने कहाँ बस्ने भन्ने चिन्ता बढेको छ । 

मलेसिया पनि अहिले लकडाउनमा छ । सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै मलेसियाले अप्रिल २८ सम्म लकडाउन लम्ब्याएको छ । सुरक्षागार्डको काम चलिरहेको भए पनि अन्य धेरै  कम्पनीहरु बन्द छन् । कम्पनी बन्द भएपछि कतिपय कम्पनीहरुले तलब नदिएको त्यहाँ कार्यरत नेपाली श्रमिकको गुनासो छ ।
मलेसियाबाट रुपक ओली अप्रिल ७ मा आउनुपर्ने तलब १७ तारिखसम्म पनि नआएको बताउनुहुन्छ । काम नगरेको तलब नदिए पनि काम गरेको महिनाको तलब त दिनुपर्ने उहाँको भनाइ छ ।

‘हरेक महिनाको ७ तारिखमा तलब दिने कम्पनीले अहिले १७ तारिखसम्म पनि दिने कुरै गर्दैन’ रुपकको गुनासो यतिमै सीमित छैन । लकडाउनअघि कम्पनीले खाना दिने गरेको तर काम बन्द भएपछि खाना पनि रोकिदिएको रुपक बताउनुहुन्छ । परदेशमा साथमा भएको पैसा कति टिक्छ र । आफूसँग भएको पैसा एक महिनासम्म खानबस्नमै सकिएको र अहिले कम्पनीले तलब पनि नदिएपछि स्थिति गाह्रो हुँदै गएको उहाँको भनाइ छ ।

यस्तै लकडाउनका कारण कतिपय कम्पनीहरुले आफ्ना कामदार कटौती गरिरहेका छन् । यसको प्रत्यक्ष असर त्यहाँ कार्यरत नेपाली श्रमिकहरुमा पर्न गएको छ । यसै कारण कति श्रमिकहरुको रोजगारी पनि गुमेको छ । 

‘कतिको रोजगारी गुमेको छ भने कतिलाई थोरै तलब दिएर राखेको छ, यस्तै कतिलाई बेतलबी बिदामा बस्न भनेको छ’, यस्तो बेला सरकारको केही दायित्व हुन्छ कि हुँदैन भनेर यूएईबाट रिता राई प्रश्न गर्नुहुन्छ, ‘अर्काको देशमा बिनातलब कसरी बस्ने होला ?’

तलब काटियो 

कतारमा एउटा कम्पनीमा कार्यरत मनोज जिसी महिनाभरी काम गरेर पनि तलब बुझ्ने बेला २० प्रतिशत काटिएर आएकोमा दुखित हुनुहुन्छ । पहिलेको जति काम गर्नु नपरे पनि समस्याको बेला आफ्नो तलब काटेकोमा उहाँ असन्तुष्ट हुनुहुन्छ ।

‘जति काम गराए नि हामी त गरिरहेकै थियौं नि, एकहप्ता कम काम भयो भन्दैमा यसरी तलब नै काट्नुपर्छ र ?’ उहाँ प्रश्न गर्नुहुन्छ ।

यस्तै यूएईबाट एसके लामा पनि कम्पनीले आफै छुट्टी बस्न लगाउने र छुट्टी बसेको पैसा काट्ने गरेको बताउनुहुन्छ । 

‘कम्पनीले अहिले महिनामा ४ दिन छुट्टी अनिवार्य रुपमा बस्न लगाएको छ तर छुट्टीमा बसेको पैसा काटेर दिन्छ’, उहाँ भन्नुहुन्छ, ‘आफ्नो न्यूनतम तलबबाट यसरी काट्न नहुने हो, कम्पनीसँग कुरा राख्दा मारौंला झैं गर्छ ।’

तलब नपाएपछि आफ्नो भन्दा घरपरिवारको चिन्ता बढी

आम्दानीको बाटो केही नभएपछि परिवारको साँझ, बिहानको छाक टार्नकै लागि पनि रोजगारीको लागि परदेशिनेहरु धेरै छन् । यस्तोमा आफू कार्यरत कम्पनीबाट तलब नपाउँदा आफ्नो परिवारको के हालत भयो होला भन्ने चिन्ता थपिएको छ, धेरै श्रमिकहरुमा । 

यस्तै समस्या छ, साउदीमा रहेका नविन रानाको पनि । 

‘तीन महिना भयो मैले घरमा पैसा नपठाएको, घरबाट फोन आएको थियो तर मसँग पैसा नै छैन’, आफू कार्यरत कम्पनीले काम बन्द भनेर अघिल्लो महिनाको समेत तलब नदिएकोले घरमा पैसा पठाउन नसेको उहाँ बताउनुहुन्छ । ‘पहिलेको केही पैसा थियो, बन्दको बेला कम्पनीले खाना पनि नदिएपछि आफ्नै खर्चमा खाँदा सकियो, अब के हुने हो थाहा छैन’, यही कुराले नविनको राति राम्रोसँग निन्द्रा लाग्नै छाडेको छ ।

नविनको त तलब नआएर पैसा पठाउन सक्नुभएन । तर आबुधाबीबाट निरेन थापा र बहराइनबाट शिवराज पौडेल भने लकडाउनका कारण प्राविधिक समस्या भएर आफूहरुले पठाएको पैसा हप्तादिनसम्म पनि घर नपुगेको दुखेसो गर्नुहुन्छ ।

आफूले दुःख गरेर पठाएको पैसा यस्तो कठिन अवस्थामा घरका मान्छेको हातमा नपुगे के खालान् भन्ने चिन्ता बढेको उहाँहरु बताउनुहुन्छ ।

सुरक्षा गार्डको तलब बढाइदिन माग

अहिले धेरै कम्पनीहरु बन्द भएको अवस्थामा सुरक्षा गार्डको काम भने बन्द भएको छैन । धेरै नेपाली युवाहरु मलेसिया, यूएई, कतार लगायतका देशहरुमा सुरक्षा गार्डको रुपमा कार्यरत छन् । यस्तो महामारीको बेला आफ्नो काम बन्द नभएकाले आफूहरु कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको उनीहरु बताउँछन् । 

‘यस्तो जोखिम मोलेर फ्रन्ट लाइनमा काम गर्ने सुरक्षा गार्ड हरुको तलब बढाइनुपर्छ’, मलेसियामा सुरक्षा गार्डको काम गर्दै आउनुभएका मनोज थापा ‘हाम्रो नेपालको दूतावासले यहाँको सरकारसँग कुरा गरेर सुरक्षा गार्डको तलबमा केही प्रतिशत रकम बढायो भने अथवा हौसलास्वरुप बोनस दियो भने राम्रो हुन्थ्यो ।’

‘लकडाउनको बहाना पारेर कम्पनीले फाइदा उठायो ’

लकडाउन भए पनि कम्पनीमा काम चलिरहेकै छ । श्रमिकहरुले पहिले जस्तै काममा खटिनु परेकै छ । तर तलब भने छैन । 

‘लकडाउन चलिरहेको छ अहिले पैसा छैन पछि दिउँला भनेर तीन महिना देखिको तलब रोकेको छ’, बहराइनबाट डीएन शाह गुनासो गर्नुहुन्छ । डीएन जस्तै धेरै नेपाली श्रमिकहरुले खाडी लगायतका देशमै यस्तै समस्या भोगिरहेका छन् । लकडाउनको बहाना गर्दै धेरै कम्पनीहरुले तलब दिन ढिलाइ गरिरहेको देखिन्छ ।

साउदीबाट पूर्ण मेम्बा पनि कम्पनीले तलब दिन कञ्जुस्याइँ गरिरहेको बताउनुहुन्छ ।

‘काममा नजानेलाई तलब पनि नदिने खानाको पैसा पनि नदिने भनेको’ उहाँ भन्नुहुन्छ, ‘यस्तो बेला पनि काम गर्न बाध्य पारेर कम्पनीले हामीलाई कोरोना सङ्क्रमणको जोखिममा धकेलेको छ ।’


 

 

अन्तिम अपडेट: बैशाख २, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया