‘किसानले दुध पोखेको र तरकारी नष्ट गरेकोजस्तो लाग्दैन’

 बैशाख ७, २०७७ आइतबार १४:३०:४५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - लकडाउनको कारण अहिले अत्यावश्यक कामबाहेकका मानिस र गाडीको आवतजावत बन्द छ । सरकारले दुध, तरकारी र माछामासुलगायतका वस्तु निर्बाध ओसारपसार गर्न दिने भनेको छ । तर कतै ढुवानीको समस्याले त कतै पसल खोल्न प्रशासनले रोक लगाउँदा किसानका उत्पादन बिक्री भएका छैनन् । केही ठाउँमा किसानहरुले दुध सडकमै पोखेका, तरकारीसहितको बारीमा ट्याक्टर चलाएका अनि कुखुरा गाडेका खबर आइरहेका छन् । आफ्ना व्यवसाय चौपट भएको उनीहरुको गुनासो छ । यस बारेमा सरकारले केही बोलेको छैन । यसै विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालसँग अर्जुन पोख्रेलले गर्नुभएको सङ्क्षिप्त कुराकानी

किसानले दुध पोखेका छन् । यस्तै बारीमै तरकारी नष्ट गरेका र कुखुरा गाडेका खबरबारे तपाईं कतिको जानकार हुनहुन्छ ?

म सुरुदेखि नै अपडेट छु । लकडाउनको पहिलो, दोस्रो र तेस्रो दिन अलि धेरै समस्या थियो । त्यसपछि क्रमशः सहजीकरण गरियो । दुध, तरकारी र माछामासुलाई बजारसम्म सहजै पुर्याउनको लागि सरकारले काम गरिरहेको छ । त्यस्ता सामग्री बोक्ने साधनलाई पास दिइएको छ । किसानलाई आफ्ना उत्पादन बिक्री गर्न रोकटोक छैन । तर धेरै पसल बन्द छन् । मानिसहरु घरभित्रै छन् । त्यसैले कम बिक्री भएको हुन सक्छ । त्यसलाई किसानले सहनु पर्छ । अर्को उपाय छैन । दुध र तरकारी बिक्रीमा खासै समस्या छैन । सबैभन्दा ठूलो समस्या पोल्ट्री व्यवसायमा भयो भन्ने आएको छ । त्यसलाई पनि सहजीकरण गर्नुपर्छ । 

तरकारी र दुधजस्ता उत्पादन किसानबाट न्यूनतम मूल्यमा किनेर सरकारले राहतको रुपमा वितरण गर्न सक्थ्यो । यसमा स्थानीय सरकारहरुले पनि भूमिका खेल्न सक्थे । त्यतातिर ध्यान किन गएन ?

हामीले धेरै प्रयत्न गरेका छौँ । स्थानीय सरकारहरुले पनि धेरै मिहिनेत गरेका छन् । त्यसैले ठूलो समस्या आएको छैन । दुधकै कुरा गर्दा हाम्रो किन्ने क्षमता दैनिक एक लाख २० हजार लिटर हो । तर दुई लाख लिटरजति किनेका छौँ । प्राइभेट डेरीहरुले अलि कम बेच्दा केही समस्या भए होला । प्राइभेट डेरीलाई दुध दिने किसानहरुको केही दुध गएन होला ।

यस्तै सहकारीले पनि दुध सङ्कलनमा केही कम गरेका छन् । केही अप्ठ्यारो परेको छ । तर पोख्नैपर्ने छैन । पोख्नुभएको छैन भन्ने लाग्छ मलाई । आएका समाचारमा हामीले सत्यता खोज्नुपर्छ । कतै कतै मिश्रित समाचार आएका छन् । 

यो परिस्थिति धर्तीभरि नै छ । मानव जाति आफ्नो अस्तित्व जोगाउन लडिरहेको छ । यो कसैको कमजोरीबाट भएको कुरा होइन भन्ने बुझ्नुभएको छ होला । मैले दुध पोखेकोभन्दा छिमेकमा बाँड्ने, पनिर, खुवा र कुराउनी बनाउने गर्नुभएको छ  भन्ने सुनेको छु । 

अहिले सहरमा कुखुराको मासु झण्डै तीन सय रुपैयाँ किलोमा बिक्री भइरहेको छ । पोल्ट्री फर्महरुले ५०/६० रुपैयाँमा पनि बिक्री भएन भन्दैछन् । बिचौलिया झनै सलबलाएजस्तो लाग्दैन ?

लागतको हिसाबले तीन सय रुपैयाँ किलो मासु महँगो होइन । केहीले यो मौकालाई कमाउने धन्दा बनाएका छन् भने सरकारले ‘एक्सन’ लिन्छ । तर आमरुपमा रोग लागेको बेला र महामारी फैलिएको बेला मासु खानु हुन्न भन्ने हल्ला फैलाएकै कारण मासुको कारोबार घटेको हुन्छ । जबकि यो भ्रामक धारणा हो । अन्धविश्वास हो । यस्तो बेलामा अझ शक्ति दिने कुराहरु माछामासु खानुपर्नेमा गलत हल्लाले गर्दा मासु बिक्री नभएको हुन सक्छ । भ्रामक हल्ला कम भएमा मासुको व्यापार फेरि ठाउँमा आउँछ । 

तपाईंले स्वीकार गर्न हिच्किचाए पनि किसानले उत्पादन नष्ट गरेकै छन् । किसानलाई भन्नुपर्ने कुरा, ढाडस दिनुपर्ने केही छैन तपाईंसँग ?

अहिले जुनसुकै हिसाबले पनि हाम्रो उद्योग बचाउनुपर्ने छ । यो विश्वव्यापी महामारीले हामीभन्दा असाध्यै शक्तिशाली र सम्पन्न देशलाई पनि आच्छु आच्छु पारेको छ । यस्तो बेलामा हामीले हाम्रो ग्रामीण अर्थतन्त्र अर्थात् कृषि अर्थतन्त्रलाई टिकाउनुपर्छ । यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । अरु उद्योगभन्दा यस्ता उद्योगलाई टिकाउन सकिने अलि धेरै सम्भावना पनि छ । धेरै नआत्तिऔँ । अहिलेलाई उद्यमसम्म बचाउन सके बिस्तारै सहज भएपछि उठाउन सकिन्छ । 

अहिले जस्तो घाटा भएपनि सहनुको विकल्प छैन भन्न खोज्नुभएको हो ?

अहिले हामीले उद्योग बचाउनुपर्छ । न्यूनतम मूल्य पाए पनि उत्पादन बेचौँ । खेर नफालौं । सडकमा दुध पोख्ने, बारीमा तरकारी नष्ट गर्ने होइन । थोरै मूल्य पाए पनि बेचौँ । अहिलेको क्षतिलाई सहन सकौँ । सरकारले पनि केही योजना बनाइरहेको छ । यो महामारी सकिएपछि समीक्षा गरौँला । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया