परदेशबाट श्रमिकको गुनासो : दूतावास अभिभावक बन्न सकेन

दूतावास आफैं अलमलमा, सरकार भन्छ : कलसेन्टरमा फोन गर्नुहोस्

 बैशाख १०, २०७७ बुधबार १५:४६:० | बेदानन्द जाेशी

काठमाण्डौ – देशमा छँदा सबै आफ्नो । माटो आफ्नो, हावा पानी आफ्नो । कोही नभए पनि दुःखसँग लड्ने आँट भरोसा मिल्छ । तर अरुको माटो अरुको पानी, सात समुद्रपारी अर्काको देशमा दुःखका बेला आड भारोसा दिने भने त्यहाँ रहेको दूतावास नै हो ।

तर त्यही दूतावासबाट सहयोग नमिल्दा साउदीमा कार्यरत नुवाकोटका सुरज भेटवाल निराश हुनुभएको छ । एक महिना हुन लाग्यो उहाँ कार्यरत कम्पनी बन्द भएको । काम नभएपछि कम्पनीले मार्च महिनाको तलब पनि दिएन । कम्पनीले तलब नदिएपछि सुरजले साउदीमा रहेको नेपाली दूतावासलाई खबर गर्नुभयो । 

‘दूतावासले कम्पनीमा फोन गर्दा फोन उठेनछ,’ सुरजले भन्नुभयो, ‘दूतावासबाट अहिले केही पनि गर्न सकिन्न भन्नुभयो, त्यसपछि दूतावासको पनि फोन उठ्न छाड्यो ।’

कम्पनी बन्द भयो । कम्पनी बन्द भएपछि तलब पनि रोकियो । आफैंले किनेर खानु पर्छ । साथमा भएको पैसा सकियो । दूतावासले सहयोग गर्छ कि भन्ने आशमा रहेका सुरजलाई फोन नै उठ्न छाडेपछि त्यताको बाटो पनि रोकियो । 

‘कम्पनीले फोन उठाएन भनेर पन्छिन मिल्छ ?’ सुरज प्रश्न गर्नुहुन्छ, ‘परदेशमा हामी नेपाली दुःखमा पर्दा के दूतावासको जिम्मेवारी हुँदैन र ? 

अहिले संसारभर कोरोना सङ्क्रमण फैलिएको छ । यसबाट मलेसिया लगायत खाडी देशहरु पनि प्रभावित बनेका छन् । यसको असर त्यहाँ कार्यरत नेपाली श्रमिकलाई परेको छ । 

परदेशमा पसिना बगाएर आफ्नो देशको माटो सिञ्चित गर्ने श्रमिकहरु अहिले आफ्नो कुरा सरकारले सुनेन भनेर दुखेसो पोखिरहेका छन् । यस्तो विपत्तीको बेला न त देशमा सरकारले आफूहरुको समस्यालाई गम्भीर ठान्यो, न त कुटनीतिक निकायले नै कुनै पहल गर्यो भन्ने उहाँहरुको गुनासो बढेको छ ।

आफू समस्या सुनाउन दूतावासलाई फोन गर्दा पनि हत्तपत्त सम्पर्क नहुने र सम्पर्क भए पनि समस्या समाधान तथा स्वास्थ्य सुरक्षाको लागि कुनै पहल नभएको बताउनुहुन्छ यूएईबाट बिमल पन्थी ।

उहाँ भिजिट भिसामा दुबई जानुभएको तीन महिना भयो । भिजिटमा गएर त्यहीँ रोजगारदाता खोज्ने र उतै काम गर्ने भन्ने सोच थियो । तर प्रकृतिको कहर नै यस्तो भइदियो कि जागिर पक्कापक्की हुँदै थियो, लकडाउन भयो । अब काम पनि छैन उहाँसँग, पैसा पनि छैन । ‘कतिसम्म अर्काको कोठामा बस्ने ?’ अप्ठेरो भइसक्यो भन्नुहुन्छ उहाँ । 

आफूजस्ता समस्यामा परेकालाई दूतावासले केही सहयोग पो गरिरहेको छ कि भनेर उहाँले यूएईमा रहेको नेपाली दूतावासलाई फोन लगाउनुभयो । तर दूतावासले केही सहयोग गरिदिनुको साटो जहाँ हुनुहुन्छ त्यहीँ बस्नुस् भनेपछि उहाँलाई अचम्म लाग्यो ।

‘मैले त समस्यामा पर्ने नेपालीका लागि दूतावास त घर हो, अभिभावक हो जस्तो लाग्थ्यो, तर होइन रहेछ,’ बिमल भन्नुहुन्छ, ‘जहाँ छौ त्यहीँ बस, यस्तो पनि भन्ने हो, आफ्नो नागरिक विदेशमा अलपत्र पर्दा सरकारले हेर्नुपर्दैन र ?’

आइओएमको तथ्याँक अनुसार पछिल्लो समय झण्डै २५ लाख नेपाली श्रमिक परदेशमा छन् । उनीहरुमध्ये धेरै अहिले समस्यामा छन् । कतिको काम खोसिएको छ, कसैलार्ई बेतलबी बिदामा बस्नु परेको छ । कोही यस्तो सङ्क्रमणको बेला पनि काममा खट्न बाध्य छन् । सबैका अनेकथरी समस्या छन् । कसैको भिसाको म्याद त कसैको वर्क एग्रिमेन्ट सकिएको छ । भिसा लगायत श्रम सम्झौताको म्याद सकिएकाहरुको लागि त दूतावासको पहलमा त्यहाँको सरकारले केही महिना म्याद थपिदिएका छन् । 

तर यो बाहेक अरु समस्याका बारेमा सरकारले र दूतावासले नसोचेको बताउनुहुन्छ, मलेसियाबाट मनोज थापा ।

अहिले अरु सबै कम्पनी बन्द भए पनि सुरक्षा गार्डको काम नरोकिएको भन्दै यसबारेमा त्यहाँ रहेको दूतावासले कुरा उठाउनुपर्ने उहाँको भनाइ छ । यस्तो जोखिमपूर्ण अवस्था मोलेर अग्रपंक्तिमा काम गर्ने सुरक्षागार्डको तलब भत्ता बढाइदिनको लागि त्यहाँको सरकारसँग दूतावासले पहल गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

‘यस्तो जोखिम मोलेर फ्रन्ट लाइनमा काम गर्ने सुरक्षागार्डको तलब बढाइनुपर्छ, तर यस विषयमा दूतावासले केही पनि पहल गरेको देखिदैन’, उहाँ अझै पनि दूतावासले केही गर्छ कि भन्ने आशामा हुनुहुन्छ । तर गर्ने कहिले हो, उहाँ आफैलाई थाहा छैन । 

फोन गर्न पैसा नै छैन 

कोरोनाको जोखिमसँगै परदेशमा नेपाली श्रमिकले अहिले अनेकथरी समस्या भोग्नु परेको छ । कतिपयले आफूसँग पैसा नहुँदा त्यहाँ रहेका नेपालीले आफ्नै देशको दूतावासलाई पनि फोन गर्न सक्नुभएको छैन । परदेशमा रहेका नेपालीलाई सेवा दिन स्थापित नियोगहरुमा पीडितले निःशुल्क फोन पनि गर्न नपाउनु, यो कस्तो अन्याय ! कतारबाट सुरेश राईको गुनासो यस्तै छ ।

‘हामी दुई हप्तादेखि खरभुज र पानीको भरमा बसिरहेका छौं, दूतावासमा फोन गर्नको लागि पनि हामीसँग पैसा छैन’, सुरेशजस्तै २० जना अरु नेपाली श्रमिकको पीडा हो यो । 

उहाँहरु कार्यरत कम्पनीले ६ महिनाको तलब दिन बाँकी छ । लेबर कोर्टसम्म पनि धाउनुपर्यो । मुद्दा चलिरहेको थियो । तर कोरोना भाइरसको कारणले गर्दा अहिले रोकिएको छ । यस्तो विपत्तीको बेला दूतावासबाट सहयोगको अपेक्षा सबैको हुन्छ । चाहे सहयोग  मिलोस् नमिलोस्, तर दूतावासमा फोन गर्नको लागि पनि आफूसँग पैसा नभएपछि कसलाई सुनाउने समस्या ? धेरै परदेशीहरुले अहिले यस्तै सास्ती भोगिरहेका छन् ।

फेसबुकमा सूचना राख्ने काममै सीमित दूतावास

कुवेतबाट चिरञ्जिवी खतिवडा दूतावासले आफ्नो फेसबुक पेजमा सूचना राख्नेबाहेक अरु केही काम नगरेको आरोप लगाउनुहुन्छ । आफ्नो जागिर गुम्ने खतरा नभए पनि कोरोना सङ्क्रमण हुने डर भएको भन्दै यस्तो बेला सङ्क्रमणबाट बच्न दूतावासले कुनै पहल नगरेको उहाँ बताउनुहुन्छ ।

‘नेपाली दूतावासले नेपालीहरूको बारेमा खासै चासो राखेको जस्तो मलाई लाग्दैन’, उहाँ भन्नुहुन्छ, ‘जारी गरेका सूचना हेर्नको लागि मात्र दूतावासको फेसबुक पेज काम आएको छ ।’

यस्तै दुखेसो व्यक्त गर्नुहुन्छ, अभियान शर्मा । देशले र जिम्मेवार निकायले विपतमा केही नगरेको देख्दा आफू विदेशिनुको कारण के रहेछ सोच्ने र बुझ्ने मौका पाएको उहाँ बताउनुहुन्छ । यस्तो दुःखद घडीमा पनि नेपाल सरकार तथा दूतावासले केही नगर्नुले नेपालको राजनीतिक नेतृत्व नै गैरजिम्मेवार भएको भन्दै उहाँ आक्रोश व्यक्त गर्नुहुन्छ ।

‘देशको खराब नेतृत्वका कारण विदेशमा हामीले समइा झेलिरहेका छौं, यस्तो कहिलेसम्म हो सरकार ?’, उहाँको प्रश्न छ ।

दूतावासमा चाप धेरै, स्रोत साधन सीमित

श्रम तथा आप्रवासन विज्ञ गणेश गुरुङ नेपाली दूतावासहरु थोरै कर्मचारी र थोरै स्रोत साधनमा चलिरहेकाले प्रभावकारी ढंगले काम गर्न नसकेको बताउनुहुन्छ । अहिले दूतावासले प्रदान गरिरहेको सेवा न्यूनतम पनि नभएको उहाँको भनाइ छ । सामान्य अवस्थामा त त्यहाँ रहेका नेपालीलाई सेवा दिन हम्मेहम्मे पर्ने अवस्थामा रहेको नेपाली दूतावासको स्रोत साधन यो बेला पर्याप्त हुन नसक्ने उहाँको भनाई छ ।

‘अहिलेको अवस्थामा त्यहाँ कार्यरत कर्मचारीहरुले हामीलाई नै सर्छ कि भनेर दूतावास बन्द गर्नुभयो । तपाईं यति यति बेला फोन गर्नुहोस् भनेको छ । तर त्यहाँ दुई, चारवटा फोन होलान् । फोन गर्ने नेपाली हजारौं छन् ।  त्यो गलत हो ।’, उहाँ भन्नुहुन्छ, ‘अहिले झन् नेपाली दूतावासहरु, खासगरी खाडी  देश, मलेसिया र कोरियामा दूतावास खुलेकै कारण नेपाली श्रमिकहरु त्यहाँ भएकाले हो । उनैको हकहितको लागि खोलेको हो । तर उनीहरुलाई नै समस्या पर्दा बन्द भएपछि त्यसको अर्थ नै भएन नि ।’

नेपाली दूतावासमा कामदारहरु आउने परिस्थिति नै सिर्जना नगरेर पनि सेवा दिन सकिने उहाँको भनाइ छ । त्यसको लागि दूतावासले कर्मचारी सँख्या बढाउन र आफूसँग जे स्रोत साधन छ, त्यसको अधिकतम प्रयोग गरेर केही नयाँ तरिकाले अगाडि बढ्न उहाँ सुझाव दिनुहुन्छ ।

कल सेन्टरमा गुनासो टिपाउनुहोस्

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले श्रमिकको गुनासो सुन्न हटलाइनको व्यवस्था गर्न र तयारी अवस्थामा रहन दूतावासलाई निर्देशन दिएको भन्दै यदि फोन नउठ्ने लगायत समस्या भएमा त्यसबारे खोजी गर्ने बताउनुभएको छ । ‘दूतावासले हामीलाई नियमित त्यहाँको अवस्थाको बारेमा रिपोर्ट पठाउनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘के भएको रहेछ बुझ्नेछु ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव बिनोद के.सी.ले श्रमिकबाट यस्ता गुनासाहरु आएको  भन्दै दूतावासका फोन नउठेनमा ११४१ मार्फत सिधै श्रम मन्त्रालयमा आफ्नो गुनासो राख्न अनुरोध गर्नुभयो । 

‘त्यस्तो हुँदा परराष्ट्र मन्त्रालयमार्फत हामी दूतावाससँग कुराकानी गर्ने थियौं, उहाँहरुले दूतावासमा फोन कुन समयमा गर्नुभयो त्यो कुराको पनि ख्याल गर्नुपर्छ, उपयुक्त समयमा टेलिफोन गर्दा अझ सहज हुन्छ,’ सचिव के.सी.ले भन्नुभयो । 

दूतावासको फोन उठेन भने श्रम मन्त्रालयको कलसेन्टरमा भाइबर, फेसबुकबाट आफ्नो गुनासो टिपाउन सकिने र आफूसँग पैसाको अभाव भएमा परिवारले पनि कलसेन्टरमा फोन गरेर आफ्नो मान्छेको बारेमा जानकारी गराउन सक्ने उहाँको भनाई छ । 

सचिव के.सी.ले भन्नुभयो, ‘तपाईँहरुको समस्या कसरी फुकाउन हामी दूतावास, परराष्ट्र र रोजगारदातासँग पनि छलफल गर्छौं र हामी आवश्यक पहल चाल्छौं ।’

 

 

अन्तिम अपडेट: चैत २३, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया