सुदूरपश्चिममा पीसीआरबाट कोरोना परीक्षण सुस्त

 बैशाख १२, २०७७ शुक्रबार १८:१६:५३ | सीताराम ओझा
unn.prixa.net

धनगढी - सुदूरपश्चिम प्रदेशमा पीसीआर विधिबाट कोरोना परीक्षणले तीव्रता पाउन सकेको छैन । 

प्रदेशका शङ्कास्पद र सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिहरुको परीक्षण अझै सुस्त गतिमा भइरहेको छ । र्यापिड टेष्टले तीव्रता पाएपनि धनगढीमै दुई वटा प्रयोगशाला हुँदा समेत पीसीआर विधिबाट निकै कमको मात्रै परीक्षण भएको छ । 

प्रदेश स्वास्थ्य आपत्कालीन केन्द्र डोटीले दिएको जानकारी अनुसार पछिल्लो पाँच दिनमा धनगढी प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र एक सय ४९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । 

बैशाख ७ गते ११, ८ गते पनि ११, ९ गते एक सय, १० गते १४ र ११ गते १३ जनाको मात्रै परीक्षण भएको प्रदेश स्वास्थ्य आपत्कालिन केन्द्र डोटीले जनाएको छ । 
परीक्षणको लागि नमुना सङ्कलन नहुँदा समस्या भएको कोरोना परीक्षण प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताउनुभयो । थ्रोट स्वाबको पर्याप्त नमुना प्रयोगशालामा नपुगेको बताउँदै उहाँले भन्नुभयो, ‘हामीले प्रयोगशाला स्थापना भएको दिनदेखि नै क्षमताअनुसार परीक्षण गर्न सकेका छैनौँ । त्यसको मुख्य कारण हामीसँग पर्याप्त मात्रामा नमुना नहुनु हो ।’ 

स्वास्थ्य आपत्कालीन केन्द्रको अनुसार सुदूरपश्चिम प्रदेशमा पछिल्लो पाँच दिनमा मात्र एक सय २९ जनाको नमुना सङ्कलन भएको छ । प्रदेशमा थ्रोट स्वाब पर्याप्त मात्रामा सङ्कलन नभएपछि कर्णाली प्रदेशबाट ९९ वटा थ्रोट स्वाब ल्याएर धनगढी प्रयोगशालामा परीक्षण गरिएको थियो । 

यस्तै, प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले थ्रोट स्वाब सङ्कलनको लागि भिटिएमको अभाव रहेको बताउनुभयो । 
‘थ्रोट स्वाबलाई परीक्षण गर्दासम्म निश्चित तापक्रममा राख्नका लागि भिटिएम आवश्यक हुन्छ । अहिले भिटिएमको देशभरि अभाव छ । त्यसैले पर्याप्त थ्रोट स्वाब सङ्कलन गर्न नसकिएको हो ।’ उहाँले भन्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया