ओलम्पियनलाई आजीवन मासिक भत्ता

 साउन १४, २०७५ सोमबार ६:११:१९ | रासस

काठमाडौं - राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ । 

राखेपद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा शुरुआतका रुपमा ओलम्पियनलाई साउनको भत्ता उपलब्ध गराइयो । असी ओलम्पियनलाई जनही रु तीन हजारका दरले रकम उपलब्ध गराइएको हो । नेपालले सन् १९६४ मा टोकियोमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन शुरु गरेको थियो । 

त्यस्तै पहिलो दक्षिण एसियाली खेलकूद ९साग० देखि १२ औँ सागका स्वर्ण विजेतालाई पनि सोही कार्यक्रममा पुरस्कृत गरियो । चौरानब्बे ९४ स्वर्ण पदकधारीलाई मासिक रु पाँच हजारका दरले कूल रु ४० लाख वितरण गरियो । विसं २०७४ मंसिरदेखि २०७५ असारसम्म जम्मा आठ महिनाको मासिक रु पाँच हजारका दरले दिनुपर्ने पुरस्कार वितरण गरिएको हो । 

त्यस्तै एसियाली खेलकूदका पदक विजेतालाई पनि २०७४ मंसिरदेखि २०७५ असारसम्म आठ महिनाको एक पदकका लागि रु पाँच हजारका दरले रकम प्रदान गरिएको थियो । आठ जनालाई जम्मा रु चार लाख ४० हजार वितरण गरिएको छ । 

आर्थिक वर्ष २०७४÷७५ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता पुरस्कृत भए । ४१२ खेलाडीलाई जम्मा रु १९ लाख २५ हजार प्रदान गरियो । 

त्यसैगरी राखेपको आयोजनामा भएको राखेप च्याम्पियनसिपका विभिन्न खेलका उत्कृष्ट पुरुष र महिला खेलाडी पनि पुरस्कृत भए । गत माघको पहिलो साता सम्पन्न प्रतियोगितामा विभिन्न ३० खेल समावेश गरिएका थिए । तीस खेलकै उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही रु १५ हजार पाए । तेक्वान्दोको हकमा भने ग्योरोगी र पुम्सेमा छुट्टै उत्कृष्ट पुरुष÷महिला खेलाडी चयन गरिएकाले चारै जनालाई जनही रु सात हजार ५०० नगद पुरस्कार दिइयो । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया