बालिका हत्या प्रकरण : पाँचौ दिनमा बालिकाको शव जलाइयो

 साउन १४, २०७५ सोमबार १०:५१:२९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – बलात्कार गरि फालिएको अवस्थामा फेला परेकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ की निर्मला पन्तको पाँचौं दिन दाह संस्कार गरिएको छ । उनको हत्या भएको पाँचौ दिन सोमबार महाकाली नदीमा दाह संस्कार गरिएको हो । मृतकका बुवा यज्ञराज पन्तले छोरीको चितामा दागबत्ती दिएका हुन् । बालिकाको कडा सुरक्षा व्यवस्थाकाबीच दाहसंस्कार गरिएको छ । 

यसअघि, बालिकाको बलात्कार गरी हत्या गरिएको विषयलाई लिएर स्थानीय बासिन्दा र जिल्ला अधिकारकर्मीले विरोध प्रदर्शन गर्दै आएका थिए । उनीहरुले घटनास्थल वरपर प्रहरी बिट स्थापना गर्नु पर्ने, दोषिको पहिचान गरी छिट्टै कारवाही गर्नुपर्ने, पीडित पक्षलाई न्याय दिनुपर्नेलगायतका माग राख्दै विरोध प्रदर्शन गर्दै आइरहेका छन् । 

शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पीडित पक्ष र प्रहरी प्रशासनबीच सहमति भएको थियो । सहमति पछि पीडित परिवारले आइतबार शव बुझेर दाहासंस्कार गर्ने तयारी गरे पनि स्थानीयले भने शव उठाउन दिएका थिएनन् । 

बालिकाको हत्या भएको चारदिन बितिसक्दा समेत अहिलेसम्म अपराधि पहिचान हुन नसक्दा स्थानीय अझै आक्रोशित छन् । प्रहरीको चौतर्फी विरोध भएपछि अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)कोे टोली महेन्द्रनगर पुगेको छ । प्रहरी नायव उपरीक्षक अगुंर जीसीको नेतृत्वमा तीन जनाको टोली महेन्द्रनगरमा आइतबार आएको हो । 

प्रदर्शनमा राजनीतिक हस्तक्षेप भएको आरोप लागेपछि प्रमुख राजनीतिक दलहरु संयुक्त व्यक्तव्य निकाल्दै त्यसमा आफूहरुको हात नभएको स्पष्ट पारेका छन् । उनीहरुले दोषिलाई कारवाहिका लागि आवाज उठाउने उल्लेख गरेका छन् । 

राजनीतिक दलको संयुक्त व्यक्तव्य जारी गरेपछि सोमबार बिहान बालिकाको दाहसंस्कार गरिएको कञ्चनपुरका प्रहरी नायव निरीक्षक ज्ञान बहादुर सेटीले बताउनुभयो । उहाँले पीडित परिवारले यसअघि नै शव बुझेर दाहसंस्कार गर्न सहमत भए पनि स्थानीयको अवरोधका कारण सोमबार दाहासंस्कार हुन नसकेको बताउनुभयो । 

हत्याको विरोधमा प्रदर्शन गरिरहेका केही आन्दोलनकारीले भने बालिकाको दाहासंस्कार पछि पनि आफूहरुको प्रदर्शन जारी रहने बताएका छन् । ‘हाम्रो आन्दोलन र प्रदर्शन रोकिएको छैन’ आन्दोलनमा सहभागी वडा नम्बर १९ की सन्तोषी ऐरले भन्नुभयो ‘बालिकाको दाहसंस्कार पछि पनि हाम्रो स्थानीय प्रशासन, प्रहरी र जिल्ला प्रशासनमा प्रदर्शनका कार्यक्रम जारी रहने छ । ’

निर्मलाको गएको शुक्रबार बलात्कार गरी उखुबारीमा फालिएको अवस्थामा शव फेला परेको थियो । शवको शुक्रबार बेलुका नै पोष्टमार्टम गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया