भारतको महाराष्ट्रमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनलाई अत्यधिक...
मंसिर ९, २०८१ आइतबार
लकडाउनको महिना दिनसम्म सबैलाई ढुक्कै भयो । न हिँड्नुपर्यो, न काम गर्नुपर्यो, न पढ्नु पर्यो, न पढाउनै पर्यो । शिक्षक, विद्यार्थी, अभिभावक सबैलाई आनन्द ।
तर कति दिन यसरी बस्नु ? मोबाइलमा भएका गेम खेलेर, सिनेमा हेरेर, टिकटक बनाएर, च्याटमा भुलेर, सुतेर, उँघेर, उट्पट्याङ गरेर सबैथोक सिध्याइयो । अब त यसो पढेजस्तो, पढाएजस्तो पनि गर्नुपर्यो । त्यसपछि सुरु भयो अनलाइन कक्षाको ताउरमाउर ।
बल्लतल्ल मोबाइलमा जुम चलाउन जानेका शिक्षकले अभिभावकलाई फोन गरे: ‘ल अब मोबाइलबाटै पढाई हुन्छ, जुम डाउनलोड गर्नुपर्यो ।’
घरमा धुम्धुम्ती बस्नुपरेको बेला फेरि कहाँबाट आयो यो जुम ? शिक्षकले भनेको मान्नैपर्ने होला । नत्र छोराछोरीको पढाई बिग्रिएला भन्ने डर । त्यसमाथि छोराछोरी पनि कराउँदैछन्: ‘अरुले अनलाइन कक्षा लिन थालिसके रे, खै हाम्रो स्कुल मात्रै के हो के ?’
‘ल ल तिमीहरुका स्कुलले पनि अनलाइनमा पढाउने रे, खै जुम हो कि धुम के हो डाउनलोड गर्नुपर्छ रे ।’ अनि बाआमा र छोराछोरी मोबाइलमा जुम खोज्न थाले । आमाको मोबाइलमा मिलेन । गेम खेल्न र च्याट मात्रै हुने छोराछोरीको मोबाइलमा पनि जुम जमेन ।
बल्लतल्ल बाबुको मोबाइलमा मिल्यो । जुम त डाउनलोड भयो, तर कुरा कसरी गर्ने ? सात दिन लगाएर जुम चलाउन सिकेका शिक्षकले युजर नेम र पासवर्ड राखेर कुरा गर्ने तरिका सिकाए । शिक्षकलाई सिक्न सात दिन लाग्यो, विद्यार्थी र अभिभावकलाई अर्को सात दिन लाग्यो । त्यसपछि सुरु भयो अनलाइन कक्षा ।
‘ल अब आजदेखि अनलाइन कक्षा सुरु भयो । सबै विद्यार्थीहरु मोबाइलमा बस’ सरमिसले उताबाट भने । अस्तिताकासम्म मोबाइल नखेलाउ भन्ने सरमिस र बाउआमा नै अब मोबाइल चलाउ भन्न थाले । रमाइलै भयो । सरमिसले १० बजे पढाई हुने भनेका थिए ।
मोबाइलबाट सबैलाई खोज्न अनि यसको, उसको, त्यसको सबैको मोबाइलमा अनुहार देखिन र आवाज जोडिने बेलासम्म पर्खंदा १२ बज्यो । त्यसपछि सुरु भयो अनलाइन कक्षा ।
उताबाट सर कराए: रोल नं. १
कोही बोल्दैनन् । यसकोमा बच्चा रोएको, उसकोमा बाउआमा झगडा गरेको, त्यसकोमा कुकुर कराएको आवाज मात्रै सुनिन्छ । सरको उत्तर कसैले दिंदैन ।
‘हैन को हो रोल नं. १, किन नबोलेको ?’ श्रीमतीलाई चुप लाग्न भन्दै उताबाट सर कराए ।
‘सर भर्ना नै भएको छैन, कसको रोल नं. कति हो, को बोल्ने ?’ यताबाट विद्यार्थी गलल्ल हाँसे ।
‘ए हो त, ल त्यसो भए पुरानै कक्षाको रोल नं. अनुसार भन्ने है त’ शिक्षकले फेरि भट्याए । रोल नं. १: सुनिएन सर ।
रोल नं. २ : झ्यारझ्यार आयो सर ।
रोल नं. ३ : भन्नै आएन सर ।
..........।
रोल नं. १२ : बत्ती गयो सर ।..........
हाजिर नै सक्न नभ्याउँदै नेट र बिजुली गयल भयो । तर पनि विद्यार्थीलाई रमाइलो भयो । दुई महिनादेखि देख्न नपाएका साथी, केटासाथी, केटीसाथी देख्न पाइयो । सर र मिसलाई पनि गजब नै भयो । विद्यार्थीको हाजिर गर्न नसके पनि अनलाइनमा पढाइयो भनेर गजक्क पर्न पाइयो ।
साना केटाकेटीका बाआमालाई चाहिँ झण्झट मात्रै । उताबाट सरमिसले नै जुम चलाउन जान्दैनन्, यताबाट आफूले झन् कसरी जान्नु । बल्लबल्ल जोडियो, अलिअलि सरमिसको अनुहार देखियो । सरमिसको त बल्लतल्ल अनुहार देखियो । तर सबै केटाकेटीको देखिएन । छोरो रुन्छ : ममी मेरो फोटो खै ? छोरी भन्छे : नाईं साथीको पनि फोटो हेर्ने । अनि सरमिस देख्नेबित्तिकै विद्यार्थीले गुड मर्निङ भन्न परिहाल्यो ।
गुड मर्निङ भन्न नपाउँदै सरको अनुहार हरायो, मिसको बोली बिलायो । यता आफ्नो मोबाइल ह्याङ भयो, उता अर्कोको लाइन गयो । बरु यो भन्दा फेसबुकको च्याट र टिकटक नै ठिक । केटाकेटीलाई पनि गेम नै ठिक । बेकारको झण्झट मात्रै ।
यो त शहरबजार, त्यसमा पनि सबैको हातमा मोबाइल भएका र नेट चलाउन जान्नेहरुको कुरा । गाउँमा त के को अनलाइन पढाई ? मोबाइल छ, टावर छैन । फेसबुक छ, इन्टरनेट छैन । तर डाँडा छ, रुख छ । केही नभए घरको आँगन र भकारोको थुप्रो छ । सरहरु रुखको हाँगा र डाँडामा चढून् । मिसहरु भकारोको थुप्रोमा बसून् । अनि विद्यार्थीले आँगनको डिलबाट हेरुन् ।
रोल नं. १ : हजुर मिस ।
रोल नं. २ : भकारोको डिल त भत्किन लाग्यो मिस ।
चुप लाग, रोल नं. ३ : मकै बुढ्यो मिस, आमाले गोड्न आउनु भन्नुभएको छ ।
गाउँको अनलाइन पढाई पनि बिथोलियो ।
लकडाउनभन्दा पहिले मान्छेले फेसबुक च्याटमा मात्रै भुल्न जानेका थिए । लकडाउनपछि जुममा झुम्न खप्पिस भए । जुममै सल्लाह, जुममै भाषण, जुममै बैठक, हुँदाहुँदै अब जुममै कक्षा । बल्लतल्ल मन्त्रीले जुममा बैठक गर्न जाने, त्यसपछि शिक्षकले सिके, अनि पालो आयो विद्यार्थीको । तर पारा चाहिँ यस्तो ।
जेठमा पनि स्कुल खुल्ने छाँट नदेखेपछि सबैभन्दा धेरै निजी स्कुलका सञ्चालक आत्तिए । स्कुल नै नखुलेपछि भर्ना कसरी गर्ने ? भर्ना नै नभएपछि पैसा कहाँबाट कमाउने ? त्यसपछि उनीहरुले जुक्ति निकाले, स्कुल नखुलेर के भयो त, जुमबाटै पढाएझैं गर्ने, अनि पछि अभिभावकबाट लौ पढाएको पैसा लेउ भन्ने ।
तर विद्यार्थीको हाजिर पनि गर्न नसकिने अनलाइन कक्षाले सरमिसका खातामा पैसाको हाजिर लाग्ला या नलाग्ला ? त्यो त कोरोना सकिएपछि कमरेड वामदेव गौतम प्रधानमन्त्री बन्नुभयो भने मात्रै थाहा पाइएला !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।
Prakash Kumar Sah
May 8, 2020, 9:40 p.m.एकदम राम्रो छ, अहिले यहि भईरहेको छ /
चन्द्र पुन
May 3, 2020, 8:38 p.m.व्यंगमा वास्तविकता छः मोबाइल को नेटवर्क त बल्लतल्ल मिलने गाऊँ बेसी मा यो सम्भव देखिदैन , नेटवर्क सुधार भय पनी इन्टरनेट किन्ने पैसा सबैमा छैन,इंटर्नेट किनिहाले पनी उसलाई सदुपयोग कसरी गरने जम्मै युट्युब , फेसबुक र इमोमा नै सकिभ्याउँछन्, ,अनि कसरी संभव छ??
Sujit
May 3, 2020, 9:59 a.m.Phscology says, 'if u focus on problem, Thera will be more problem,if u focus on solution ,u will get one'. Mindset is everything. Online class gonna definitely work😇
Dr Ananda Aryal
May 3, 2020, 12:12 a.m.मिलनजीले चलचित्रको स्कृष्ट लेख्नु भए राम्रो, तपाईंको यो लेख चाँही पुंग न पुछ्छरको छ । हामीले पनि नेताको गुलामी गर्ने, ह्रस्व-दीर्घ नचिन्ने पत्रकार देखेका छौं, त्यसको अर्थ सबै पत्रकारलाई गाली गर्दैनौं । अब आयो अनलाइन कक्षाको कुरा: तपाईंको लेखले म जस्तो युवा शिक्षकलाई पक्कै अपमानित गरेको छ । अनलाइन कक्षा नेपाली सन्दर्भमा आजको समयको माग हो । हो अनलाइन माध्यम धेरै विद्यार्थी र शिक्षकहरूलाई नौलो हुन सक्छ तर सिक्न नै नखोज्नु, आफूमा परिवर्तन नै गर्न नचाहनु विकास विरोधी अवधारणा हो । तपाईंमा हिम्मत छ भने आउनुहोस् मैले संचालन गर्ने अनलाइन कक्षामा अनि म बताउने छु यो कति प्रभावकारी छ भनेर । अर्को कुरा हल्ला हुन्छ भन्ने तर्क नै हास्यास्पद छ, जुममा कक्षामा संचालकले सबैलाई mute गर्न सक्छन् यो संभावत तपाईंलाई नै थाहा रहनेछ । अन्त्यमा शिक्षकले प्रयास मात्र गर्ने हो, बाँकी विद्यार्थी र अभिभावकको प्रयास र नियतमा पनि निर्भर रहन्छ । नपढ्नेहरू त कक्षा कोठा, घर कहीं पनि पढ्दैनन् ।
aagaman khanal
May 2, 2020, 11:28 p.m.I would love to join online class to continue my study.
दिल बुढाथोकी
May 2, 2020, 7:15 p.m.रसिलो अंगुर टिप्न नसकेपछि भालुले अंगुर अमिलो छ भन्थ्यो रे, त्यस्तै जस्तो आफुले गर्न नसक्ने अनि अनाबस्यक नकारात्मकता बढाउने र ब्यङ्ग गर्नु राम्रो होइन |अनलाइन कलास गर्न सक्नु पर्छ असाद्धै प्रभावकारी हुन्छ र भैराखेको छ, जो हामीले गरिरहेका छौ| सकारात्मक हुन सिकौ|
तारा बराल
May 3, 2020, 11:06 a.m.दुनियालाई तनाव खेलाएर भए पनि कालो अाम्दानी गर्ने षडयन्त्रको पर्दाफास गर्दा भनाइ खानु सामान्य हो,शिक्षा धनीमानी र पहुचवालाका लागि मात्रै हैन,सबैलााई पढ्ने सुविधा,मोवाइल,इन्टरनेट उपलव्ध गराउंछ स्कुल र सरकारले भने मात्रै अनलाइन क्लास चलाउन दिनुपर्छ,नत्र पाइदैन!
Samir mukhiya
May 2, 2020, 4:13 p.m.लेख्नु भएको ठिकै हो कुनै कुनै कुरा बास्तबिकता पनि होला तर नराम्रो छ भन्दैमा अझै नराम्रो बनाउनु मुर्खता हो त्यसैले कमि कम्जोरिलाइ सुधार गर्दै लैजानु आबस्यक छ एउटा दुधे बालक त्यतिकै खुरुखुरु हिंड्न् सक्दैन अभ्यास चाहिनछ त्यसैले अभ्यास गर्नुपर्छ र गर्न सहयोग गर्नु उपयुुक्त हुनेछ ।
Gobinda
May 2, 2020, 1:20 p.m.Negative minded article. If you cannot educate, spend your time on how to use technology. Why to scold children parents school or government? All nonsense!