सीमापारि अलपत्र परेकाहरुको आक्रोश : एउटै देशका नागरिकमाथि किन फरक व्यवहार ?

 बैशाख २०, २०७७ शनिबार १७:३१:५९ | सीताराम ओझा
unn.prixa.net

कैलाली - 'लकडाउन'कै बीच भारतको फिरोजाबादबाट ३३ दिनअघि सीमामा पुगेपछि कैलालीको घोडाघोडी नगरपालिका ९ का जयबहादुर थापा कम्ता खुसी हुनुभएको थिएन ।

चार सय ५० किलाेमिटर (कीमी) पार गरेर आइपुग्नुभएका थापालाई धनगढीबाट झण्डै ४५ कीमीकाे दुरीमा घोडाघोडी नगरपालिका ९ मा रहेको घर पुग्न एक घण्टा पनि लाग्थेन । 

तर उहाँ त्यही एक घण्टाको बाटो पार गर्न नपाएर छटपटिएको आज ३३ दिन भइसक्यो । उहाँ साथीसहित सीमाबाटै सुरक्षाकर्मीको नियन्त्रणमा पर्नुभयो र उहाँलाई ४५ कमी टाढा रहेको पलिया बजार पुर्‍याइयाे । जहाँ उहाँ ३३ दिनदेखि वैदिक इन्टर कलेजको क्वरेण्टीनमा घर फर्किने दिन गन्दै बसिरहनुभएको छ । उहाँसँगै त्यहाँ पुर्‍याइएका ५६ जनासहित एक सय ३५ जना क्वरेण्टीनमा कष्टपूर्ण जिन्दगी बिताइरहेका छन् । 

त्यसैमा शुक्रबार भारतको विभिन्न भागबाट आएका २२ जना थपिएका छन् । हाम्रो ‘समस्या सुनिदिने सरकार भएन’, थापा गुनासो गर्दै भन्नुहुन्छ, ‘यता हामी छटपटिएका छौँ । उता परिवारका सदस्यहरु । प्रदेश सरकार र स्थानीय प्रशासनले अन्तर्राष्ट्रिय सीमा खोल्न केन्द्रीय सरकार र भारत सरकारका बीचमा सहमति हुनुपर्ने बताएर पन्छिन्छ ।’ 

धार्चुला र पिथौरागढमा रहेका दुई हजार नेपाली नेपाल प्रवेश गर्न पाएको खबर सुनेर अन्तर्राष्ट्रिय सीमा खोल्न केन्द्रीय सरकार र भारत सरकारका बीचमा सहमति हुनुपर्ने स्थानीय प्रशासन र प्रदेश सरकारको कुरामाथि विश्वास उठिसक्यो ।

उनीहरु भन्छन्, ‘धार्चुला र पिथौरागढमा रहेकाहरुलाई भित्र्याउन हुने हामीलाई चाँहि किन नहुने ? अब के हामीलाई मरेपछि यहाँबाट हाम्रो शव उठाउने हो ?

कैलाली र कञ्चनपुरको सीमापारि अलपत्र परेका नेपालीले आफूहरुमाथि विभेद भएको गुनासो गरेका छन् । बैतडी र दार्चुलाको सीमापारि रहेका नेपाली मजदुरको उद्धार भइसकेको बताउँदै उनीहरुले आफूहरुमाथि विभेद भएको गुनासो गरेका हुन् ।

‘झण्डै ४० दिनदेखि पलियाको कलेजमा राखिएको छ । क्वरेण्टीनकाे अवधि सकिएको छ’, कैलालीका भुपेन्द्र अधिकारीले भन्नुभयोे, ‘बैतडी र दार्चुलाका सीमाबाट नेपालीको उद्धार भएको सुनिन्छ । कैलालीमा प्रदेशका मन्त्रालय भएर पनि अहिलेसम्म हामीहरुको उद्धार गरिएको छैन ।’ झण्डै डेढ सय नेपालीहरुलाई पलियाको क्वरेण्टीनमा राखिएको छ ।  ४० दिनसम्म पनि उद्धार नहुँदा क्वरेण्टीनमा बसेका नेपालीलाई समस्या भएको छ । 

कैलालीको लम्की चुहा नगरपालिका १ बसपार्कका केशव तिमिल्सेनाको पीडा पनि थापाको भन्दा फरक छैन । ‘सीमामा पुगिसकेका हामीलाई अपराधीलाई झैँ छोपेर पलिया पुर्‍याइयाे । यहाँ दुई हप्ता क्वरेण्टीनमा राखेपछि घर जान दिइने भनिएको थियो’, तिमिल्सेनाले गुनासो सुनाउँदै भन्नुभयो, ‘तर ३३ दिन पुगिसक्दा पनि कसैले हाम्रो समस्या सुनेन ।’

क्वरेण्टीनमा चार महिला र तीन बालबालिकासमेत छन् । आठ महिनाको बालकसहित गुजरातबाट गाडी रिजर्भ गरेर कञ्चनपुर पुगेका उनीहरुलाई त्यहाँबाट फर्काएर पलिया पुर्‍याएर क्वरेण्टीनमा राखिएको हो ।  

उनीहरुले एउटै देशका नागरिकमाथि पनि फरक फरक व्यवहार भएको भन्दै गुनासो पोखका छन् । एक महिनादेखि भारतको पिथौरागढको धार्चुलाका र आसपासको क्वरेण्टीनमा राखिएका दुई हजार ६ सय जना नेपाली मजदुरलाई स्वदेश ल्याइएपछि उनीहरु आफूहरुको पनि उद्धार हुने भन्दै खुसी भएका थिए ।

तर स्थानीय प्रशासनहरुले भने कैलाली र कञ्चनपुरका सीमापारि रहेकाहरुको हकमा कुनै निर्देशन प्राप्त नभएको जनाएका छन् । चार हप्ताभन्दा पलिया क्वरेण्टीनमा बिताइरहेकाहरु आफूहरुमा कोरोनाको सङ्क्रमण नभएकोमा ढुक्क छन् । 

तर हरेक दिन थपिने नयाँ मान्छे देखेर भने उनीहरु निकै भयभित छन् । एउटै हलमा ४५ जना लहरै सुत्छन् । कोठाहरुमा पनि पाँचदेखि १० जनासम्म सुत्छन् । 

सबैको खाना खाने ठाँउ एउटै छ । अनि शौचालय पनि एउटै । धारा पनि एउटै । त्यही कारण पनि पहिलेदेखि नै क्वरेण्टीनमा बसिरहेकाहरु नयाँ मान्छे भित्रिएको देखेपछि डराउँछन् ।  

उनीहरु भन्छन्, ‘अहिलेसम्म त हामी सुरक्षित थियौँ । अब हामी कोही सुरक्षित छैनौँ । सबैले प्रयोग गर्ने शौचालय र धारा एउटै भएकोले हामी सबै अत्यन्त जोखिममा छौँ ।’ यहाँ आउने नयाँ व्यक्तिले पनि आफू आएको ठाँउसम्म खुलाउँदैनन् । मुम्बईबाट आएकाहरु पनि बरेली र लखनउबाट आएको बताउँछन् ।

थापा भन्नुहुन्छ, ‘हामीलाई यहाँबाट जति सक्दो चाँडो उद्धार गर्न सरकारसँग अनुरोध गर्दछौँ । हाम्रो समस्या सरकारलाई सुनाइदिनुहोला ।’ भारतीय प्रहरी प्रशासनले उनीहरुलाई खानाका रुपमा भात, दाल र पुरी दिने गरेको छ । पिउने पानी ट्याङ्करमार्फत उपलब्ध गराउँदै आएको छ । स्थानीय समाजसेवी तथा भाजपा नेता रवि गुप्ता र सुरक्षाकर्मीहरुले शुक्रबार उनीहरुको अवस्थाका बारेमा जानकारी दिँदै चाँडोभन्दा चाँडो उनीहरुको उद्धारका लागि पहल गर्न आग्रह गरेका छन् । 

क्वरेण्टीनमा बसेकाहरुले कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरासँग तत्काल आफूहरुलाई उद्धार गरिदिन आग्रह गरे । बोहराले क्वरेण्टीनमा रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिँदै उद्धारका लागि केन्द्रीय सरकारसँग प्रदेश सरकार र पालिकाले आग्रह गरेको बताउनुभयो । 

उहाँले स्थानीय प्रशासनबाट आवश्यक पहल भइरहेको बताउँदै केही दिनभित्र पलियामा रहेका नेपालीहरुको उद्धार गरिने बताउनुभयो । पलियामा कैलालीका ६९ जना, सुर्खेत, बैतडी, डडेल्धुरा, कञ्चनपुरलगायत जिल्लाका मजदुर रोकिएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समेत सीमा पारी रोकिएका नेपालीलाई ल्याउन अनुमति प्राप्त नभएको जनाएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भारतको वनवासा, खटिमालगायतका क्वरेण्टीनमा दुई सय ५१ जनालाई राखिएको बताउनुभयो । तर गृह मन्त्रालयबाट उनीहरुलाई ल्याउन कुनै परिपत्र नआएको उपाध्यायले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया