गाउँपालिकाको काम कसरी हुन्छ ? उपाध्यक्ष र सदस्यलाई नै थाहा दिइँदैन

 साउन १४, २०७५ सोमबार १४:१२:१२ | केसी लामिछाने
unn.prixa.net

पर्सा – ‘पाँच महिना भयो कार्यपालिकाको बैठक भएको छैन’, धोबिनी गाउँ कार्यपालिका सदस्य मगनी देवीले पत्रकारहरुका सामु गुनासो गर्नुभयो ।

‘गाउँपालिकाको काम कसरी हुन्छ हामीलाई जानकारी हुँदैन’, उहाँले भन्नुभयो, ‘हामीलाई जोत्ने गोरुको रुपमा उपभोग गरिएको छ, आवश्यक परेको बेलामा जोत्ने ।’ उहाँले गाउँकार्यपालिकाको अध्यक्ष र कार्यकारी प्रशासकीय अधिकृतले मनलाग्दी गरेको भन्दै असन्तोष व्यक्त गर्नुभयो । 

स्थानीय तहको चुनावमा अधिकार सम्पन्न स्थानीय सरकारको कार्यपालिकाको सदस्यमा निर्वाचित भए पनि अहिले सम्मको कार्यसम्पादनका आधारमा उहाँ सन्तुष्ट नभएको बताउनुभयो ।  

मगनी देवी मात्र होइन,  गाउँपालिकाका उपाध्यक्ष पारसनाथ कुर्मीले समेत केही भेउ नपाएको बताउनुभयो । ४० वर्ष सरकारी सेवामा रहेका कुर्मीले केही भेउ नपाउन झनै उद्धेकलाग्दो छ । तत्कालीन गाविस सचिवको रुपमा काम गरेका कुर्मीलाई साविकको गाविसको बजेट, त्यसको परिचालन, अख्तियार, नेताका दबाब सबै विषयमा लामो अनुभवसहितको ज्ञान छ ।  ‘नगरसभाले नीतिगत निर्णय त गर्‍यो’, कुर्मीले भन्नुभयोे ‘ती निर्णयहरु कसरी कार्यान्वयन भए या भएका छैनन, मलाई त्योसमेत जानकारी छैन ।’ उहाँले  गाउँपालिका अत्यन्तै अपारदर्शी रुपमा चलेको दावी गर्नुभयो ।  

कार्यपालिकाका सदस्य बिकर्माजित प्रसाद कलवारले  गाउँपालिकामा हुने गतिविधिको बारेमा आफूलाई  केही जानकारी नदिइएको बताउनुभयो, ‘करोडौंको बजेट आएको छ भनेर सुनिन्छ तर  कहाँ कसरी खर्च गरिरहेका  थाहा नै हुँदैन ।’ गाउँपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत कसैले पनि आफूहरुसँग समन्वय नगरेको उहाँको भनाई छ ।

धोविनी गाउँपालिकाको १० जना कार्यपालिका सदस्यहरुले वीरगञ्जमा सोमबार पत्रकार सम्मेलनकै आयोजना गरेर गाउँप्रमुख सुरेश कुर्मी र प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीको गतिविधिका बारेमा असन्तुष्टि जनाएका छन् । उनीहरुले आर्थिक अनियमितता भएको भन्दै सम्बन्धित निकायलाई छानविन गर्न समेत माग गरेका छन ।

१३ जना कार्यपालिका सदस्य रहेको गाउँपालिकाका उपाध्यक्ष पारसनाथ कुर्मीसहित १० सदस्यले अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले अरुलाई बाइपास गरेर मनोमानी गरिरहेको आरोप लगाए । गाउँपालिकाले कृषिको  विकासका लागि आर्थिक वर्ष ०७४–७५ मा २ करोड बजेट छुट्याएका थियो । ‘कहाँ कसरी खर्च गर्ने सल्लाह नै नगरी खर्च गरिसकेछन्’, बोर्ड बैठकमा छलफल नै गरिएन उपाध्यक्ष कुर्मीले भन्नुभयो,  ‘अन्य विकासका बजेट खर्च गर्दा पनि कार्यपालिकाको बोर्ड बैठकमा प्रस्तुत गरिएको छैन ।’ 

गाउँपालिकामा अनियमितता भएको दावी गर्दै उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला समन्वय समिति पर्सा र प्रदेश सरकारलाई छानविनको माग गर्दै उजुरीसमेत दिइसकेको बताएका छन् ।

तर, गाउँपालिकाका अध्यक्ष सुरेश कुर्मीले भने गाउँपालिकामा बोर्ड बैठकबाट भएको निर्णय अनुसार नै बजेट खर्च भएको बताउनुभयो  । ‘परिषद कहिले र कसरी गर्ने भनेर कुरा चल्दै थियो, एक्कासि उहाँहरुले पत्रकार सम्मेलन गरेको कुरा आयो’, उहाँले भन्नुभयो ‘पक्ष विपक्षको कुरा हो, खर्च सबै पारदर्शी ढंगले भएको छ, सबै काम जनताकै लागि भएको हो । बिल भर्पाइसमेत सार्वजनिक हुन्छ ।’ तर गाउँपालिकाले अहिलेसम्म आर्थिक वर्ष ०७५-०७६ को गाउँसभा भने गर्न सकेको छैन  ।

केही दिनअघि मात्रै त्यही गाउँपालिकाका लेखा प्रमुख र नायब सुब्बा १ लाख १० हजार घुस रकमसहित पक्राउ परेका थिए ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया