मलेसियामा थप ६ जना नेपालीमा कोरोना सङ्क्रमण

 बैशाख २२, २०७७ सोमबार १८:२४:४६ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – मलेसियामा थप ६ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको छ । योसहित अहिलेसम्म मलेसियामा ९ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएको र सङ्क्रमितमध्ये तीन जना भने निको भएर काममा फर्किएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।

सङ्क्रमित सबैजना पुरुष रहेको र सबैको अवस्था सामान्य रहेको राजदूत पाण्डेले बताउनुभयो । तीन जना निको भएर फर्किएको भए पनि बाँकी ६ जनाको उपचार भइरहेको छ ।

मलेसियामा कोरोनाबाट निको हुनेको सङ्ख्या धेरै भएकाले क्षेत्रगत हिसाबमा आज सोमबारदेखि मलेसियाले लकडाउन पनि केही खुकुलो बनाएको छ । मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि १२ मेसम्म लकडाउन घोषणा गरेको थियो ।

मलेसियामा अहिलेसम्म ६३ सय ५३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ४४ सय ८४ जना निको भएका छन् भने १७ सय ६४ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा कोरोनाका कारण १०५ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया