गाउँघरका दुःखसँग डराएर सहर र विदेश भाग्ने प्रथा अन्त्य गरौँ

 बैशाख २७, २०७७ शनिबार १२:१२:२ | सुवाश जमरकट्टेल
unn.prixa.net

भक्तपुर - ‘जननी जन्मभुमिस्च स्वर्गादपि गरीयसी’  भनेझैं दुःख सुखको साथी गाउँघर नै रहेछ । मानवता समेत पैसामा किन्नुपर्ने सहर सहजताको लागि मात्र हो भन्ने फेरि प्रमाणित भएको छ । चाडपर्वको रमाइलो वातावरणमा मात्र गाउँघर फर्कने सहरबासीहरु विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न आआफ्ना गाउँ फर्केका छन् । लकडाउनअघिको समयमा होस् वा लकडाउन सुरु भएपछिको समयमा हप्तौं हिँडेर गाउँघर फर्कनु भनेको आफ्नै मातृभूमिको माया र न्यानो स्पर्शले तानेर हो ।

हिजो धन कमाउन भोट गएका मदन भोटमै बिरामी परेर सहाराविहिन भएपछि ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दित मनले’ भनेका थिए । हो, आज मुनामदन खण्डकाव्यको यही काव्यांशझैँ सहरमा भएका धेरै मान्छे बरु साग सिस्नु खाएर भएपनि आफ्नै गाउँघरमा बस्छौँ भन्दै रातारात गाउँ फर्केका छन् । अध्ययन, अध्यापन, ज्याला मजदुरी र विभिन्न पेसा व्यवसायमा संलग्न मानिसहरु गाउँ फर्कन लागेको लर्को देखेपछि मेरो घाइते अपाङ्ग शरीर नसके पनि मन भने उनीहरुसँगै गाउँ जान लागेको छ ।

काठमाण्डौ उपत्यकाबाहिरबाट आएर बसेका धेरै जना सहर छोडेर गाउँ फर्किएपछि काठमाण्डौ अहिले घरैघरको जङ्गल देखिएको छ । प्रायः चौबिसैै घण्टा भिडभाड र कोलाहलपूर्ण हुने ठाउँ महिनौँ दिनसम्म सुनसान र चकमन्न हुँदा दन्त्य कथामा वर्णित भूत बङ्गलाजस्तो देखिन थालेको छ । 

पुरानो राज्य व्यवस्था परिवर्तन भई नयाँ सङ्घीय व्यवस्था र स्थानीय सरकार स्थापना भएको धेरै भएपनि स्थानीय तहहरुले आफ्नो जनशक्ति गाउँमै खपत गर्न सक्ने वातावरण सृजना गर्न सकेका छैनन् । केन्द्रीकृत शक्ति संरचना विकेन्द्रित भएर गाउँगाउँमा पुगेपनि धेरै मान्छेको रोजाइ सहर नै बनेको छ ।

पुस्तौँपुस्ता खाँदै, लाउँदै र पालिँदै आएको पुर्ख्यौली सम्पति जल, जमिन र जङ्गल भएपनि युवा पुस्ता परिवर्तनको भोकले भोकाएका छन् । अझै पुस्तौँपुस्तालाई गरीखान पुग्ने गाँस, बास र कपासको व्यवस्था भएपनि आफैँ मालिक बनेर बस्ने सोच कसैमा छैन । 

हामी आजका मान्छे पैसामुखी भएका छौँ । हामीलाई प्रतिफल तत्कालै चाहिन्छ । नगदका नौ दाउ भन्छौँ । सहरमा गएर सानो रोजगारी पाउनु जीवनकै ठूलो उपलब्धि सम्झिन्छौँ । आफ्नो स्वतन्त्रता गुमाएर नोकरी गर्नु दासता हो भन्ने बुझ्न सकेका छैनौँ । गफमा मुक्तिका कुरा गर्छौँ । अनि व्यवहारमा दासत्वलाई स्वीकार गर्छौं । आफ्नो संस्कार संस्कृतिलाई तिलाञ्जली दिएर पाश्चात्य संस्कार र संस्कृतिमा रमाउँछौँ । अनि नारा लगाउँछौं – साम्राज्यवाद, विस्तारवाद मुर्दावाद । आफ्ना उर्वर खेतबारी बाँझो राखेर सहरमा बस्छौँ । अनि प्याज र लसुनको भाउ वृद्धि भयो भनेर आन्दोलन र चक्काजाम गर्छौं । आफ्नो गाउँ र देशमा केही सम्भावना छैन भनेर थुक्छौँ र लत्याउँछौँ । ती गाउँ र देश छोडेकाहरु नै एकाएक देशभक्त र गाउँप्रेमी बन्छौँ । 

सामाजिक सञ्जालमा देश प्रेमका दार्शनिक स्टाट्स लेख्छौँ । आफ्नै भविश्यको टुङ्गो नभएपछि रत्नपार्कमा बसेर अरुको भविश्य बताउने ज्योतिषीजस्तो अरुलाई अर्ती, उपदेश दिँदै सिकाउन थाल्छौँ । स्थानीय निकायका जनप्रतिनिधिदेखि केन्द्र सरकारका सदस्यहरुलाई कमजोर, असक्षम र भ्रष्टाचारी देख्छौँ । प्रमाण र तथ्यहीन कुरामा बढी बहकिन्छौँ । सकारात्मक राय, सल्लाह र सुझाब दिने हैसियत राख्दैनौँ । नकारात्मक टीकाटिप्पणी र आलोचनामा समय खर्चिन्छौँ । यी र यस्ता व्यवहार हाम्रालागि मानवीय स्वभाव बनिसकेका छन् । सबैभन्दा पहिला हाम्रो सोच, विचार र व्यवहार परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

सहर निर्मम र निर्दयी रहेछ भन्दै रातारात गाउँ फर्कनेहरु के अब आफ्नै गाउँघरलाई माया गरेर सधैँको लागि बस्लान् ? यो प्रश्न मेरो मात्र होइन, धेरैको मनमा उब्जिन थालेको छ । सहर छाड्नेहरु स्वयम् अब गाउँमै बस्ने कि सहर फर्किने भन्ने दोधारमा छन् । गाउँ र सहरको वातावरणबीच आकाश पातालको फरक छ । 
दुःखको प्रकृति फरक हो । गाउँ र सहरबीच दुःखको तुलना गर्ने हो भने सहरमा धेरै दुःख छन् । तर हामी यो बुझ्दैँनौँ । गाउँमा हलो, कुटो, कोदालो र कृषि कर्म गर्नु तल्लो दर्जाको काम सम्झन्छौँ । सहरमा रोजगारीको नाममा अर्काले चलाएको मेसिनजस्तो काम गर्नुलाई उत्तम ठान्छौँ । सहरमुखी र अर्काको दास बन्ने विचारलाई सर्वप्रथम परिवर्तन गरौँ । समाज परिवर्तन गराउन पहिला आफू परिवर्तन हुनु जरुरी छ ।

खोजी गर्ने हो भने गाउँघरमा धेरै सम्भावना छन् । ती सम्भावनाको खोजी गरौँ । समस्याले नै हो समाधान जन्माउने । गाउँघरका दुःखसँग डराएर सहर र विदेश भाग्ने प्रथा अन्त्य गरौँ । आफ्ना बाँझा र नाङ्गा खेतबारीमा श्रम रोपौँ, पसिना बगाऔँ र हराभरा बनाऔँ । संस्कार र संस्कृतिको जगेर्ना गरौँ । आफ्नै माटोको सुनमा सुगन्ध फलाउने कसरत गरौँ । जहाँ जे उत्पादन हुन्छ त्यसैमा जोड दिऔँ । भूगोल, प्रकृति र समुदाय हेरेर एकल र सामूहिक कृषि प्रणाली र प्रविधिको विकास गरौँ । उत्पादित सामग्रीको बजार व्यवस्थापन गरौँ । रोजगारीको लागि सहर होइन, गाउँमै वातावरण तयार गरौँ । स्वरोजगार बनौँ । क्षणिक होइन, दीर्घकालीन योजना बनाएर लागौँ । 

कृषिप्रधान भनेर चिनिएको हाम्रो देशका युवा पिढी विदेशी भूमिमा पसिना बगाएर रेमिट्यान्स पठाउने अनि गाउँघरमा बस्ने परिवारले आयातित महँगो रासन पानी किनेर खाने चलन बसिसकेको छ । त्यसको अन्त्य गरौँ । वर्षैपिच्छे अर्बौं रुपैयाँको कृषि उपज आयात हुन्छ । त्यसलाई रोक्नको लागि हामी आफैँ आत्मनिर्भर हुने बाटो खोजौँ । आयातको सट्टा निर्यात गर्ने सपना देखौँ । सहर र दासताको विकल्प गाउँ र कृषिलाई बनाऔँ । सहर छोडेकाहरु गाउँमै बसौँ । विदेशमा भएकाहरु गाउँ फर्कने वातावरण बनाऔँ । हामीजस्तो घाइते र अपाङ्गहरु पनि गाउँमै बस्न सक्ने वातावरण सृजना गरौँ । मन मात्र होइन, ज्यान नै गाउँ जाने वातावरण निर्माण गरौँ । गाउँघरकै विद्यालयलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाऔँ ।  

गाउँमा देखिएका मन्द विषरुपी व्यवहारहरुमा परिवर्तन गरौँ । एक अर्काको टीकाटिप्पणीभन्दा सरसल्लाह र सौहार्दताको विकास गरौँ । आखिर शोक, भोक र रोगबाट जोगिन गाउँ नै रोज्नुपर्छ भने पौरख, पसिना र यौवन सहरमा किन खेर फाल्ने । विदेशी भूमिमा बसेर देशभक्ति गाउनुभन्दा आफ्नो माटोमा रमाउँदै परिवारसँगै बसेर आँटो, पिठो खाने सङ्कल्प गरौँ । कोरोनाले हामीलाई यही सिकाउँदै छ । यो महामारीबाट विचलित नभई हाम्रो बानी, व्यवहार र सोचमा परिवर्तन गरौँ । आफ्नै भूमिमा पसिना सिञ्चित गरौँ । यसैमा हाम्रो भाग्य र भविष्य अडेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुवाश जमरकट्टेल

जमरकट्टेल चोमोलुङ्मा फाउन्डेसन नेपालका केन्द्रीय सचिव हुनुहुन्छ ।

1 Comments

  • भीमराज राई

    May 9, 2020, 12:52 p.m.

    लेखकले यसमा निकै सान्दर्भिक बिचार लेखेका छन । उल्लेख भए जस्तै सबैले प्रभाबकारी कार्यान्यन गर्ने हो भने असम्भव छैन । तब युवा पुस्ताको पलायन रोकिने छ । बाझिएका जमिनमा अन्न फल्ने छन । अनि ग्रामीण अर्थतन्त्रले गति लिई मुलुक बिस्तारै सम्बृद्दितिर उक्लिने छ । यसको लागि मात्र गाउँ का नेताहरुले प्रशिक्षित जनशक्तिलाई आकर्षण गर्ने र क्षमता अनुसारको भूमिका दिनु पर्‍यो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया