भारतको पिथौरागढबाट हिँडेर जुम्ला !

 बैशाख २७, २०७७ शनिबार २०:२५:१४ | रासस
unn.prixa.net

जुम्ला – कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा पनि भारतको पिथौरागढबाट पैदलयात्रा गरी १२ जना जुम्ला आइपुगेका छन् ।

हप्ता दिनको पैदलयात्रापछि हिमा गाउँपालिका २ ओदीगाउँका ती स्थानीय यहाँ आइपुगेका हुन् । रोजगारीका लागि उनीहरु तीन महिनाअघि पिथौरागढ गएका थिए । हप्ता दिनको पैदलयात्रा गरेर यसै हप्ता यहाँ पुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार ती युवा भारतको पिथौरागढ हुँदै दार्चुलाको झुलाघाट नाका भएर यहाँ आएको थिए । उनीहरु सीमापारि २१ दिन क्वरेण्टीनमा बसेर फर्केका हुन् । उनीहरुलाई अहिले गाउँपालिका २ ओदीगाउँको विद्यालयमा निर्माण गरिएको क्वरेण्टीनमा राखिएको छ । 

वडाध्यक्ष नैनसिंह रोकायले भन्नुभयो, ‘भारतबाट आएको थाहा पाउनासाथ परिवारसँग घुलमिल नहुँदै उनीहरुलाई क्वरेण्टीनमा राखेका छौँ । क्वरेण्टीनमा बसेको २१ दिन पुगेपछि कोरोना परीक्षण गरेर मात्रै घर पठाउने तयारी गरेका छौँ ।’

बाहिरबाट आएका नागरिकलाई गाउँपालिकाले गाँसबासको व्यवस्थापन गरी क्वरेण्टीनमा राखेको छ । लकडाउन अवधिमा यहाँ १० हजार सात सय ६५ भित्रिएका छन् । पाँच सय २१ शय्याको क्वरेण्टीनमा दुई सय ३० जना बसेका छन् भने आठ सय ८० जना १४ दिनपछि घर फर्केको शुक्रबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

त्यसैगरी पाँच सय १६ जना होम क्वरेण्टीनमा बसेका छन् । शुक्रबारसम्म तीन सय ७३ को पीसीआर र दुई सय ५४ जनाको आरडीटी परीक्षण भएको र सबैको रिपोर्ट नेगेटिभ रहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया