पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनसँगको सीमामा पुग्ने सडक बनाएको छ । २०७२ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन जाँदा लिपुलेक हुँदै चीनको सीमासम्म सडक पुर्याउने सम्झौता गरेपछि नेपालले तत्कालै विरोध जनाएको थियो ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले लिपुलेकमा नेपालको दाबी पुष्टि हुने गरी प्रमाण खोजेर प्रतिवेदन बुझाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय नेतृत्वको पाँच सदस्यीय टोली गठन गर्नुभएको थियो । टोलीले प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो । तर अहिलेसम्म प्रतिवेदनमा भएका प्रमाण राखेर सरकारले भारतसँग कुरा गरेको छैन ।
अहिले पनि भारतले सडक बनाएर उद्घाटन गरेपछि मात्रै यो कुरा थाहा पाएजस्तो गरेको छ । लिपुलेकको वास्तविकता खोज्न बनेको समितिका संयोजक तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसँग अर्जुन पोख्रेलले गर्नुभएको कुराकानी :
अहिले भारतले लिपुलेकमा कस्तो ठाउँबाट सडक खनेको छ ?
अहिले भारतले सडक खनेको ठाउँ नेपालकै हो । भारतले सडक खनेको ठाउँ ठ्याक्कै सीमा पनि होइन, धेरै वरसम्म आएर आफ्नो भूमि दाबी गर्दै सडक खनेको छ । नेपालको सीमा लिम्पियाधुरासम्म छ, लिपुलेक लिम्पियाधुरा भन्दा धेरै वर पर्छ । भारतले लिम्पियाधुरा हुँदै सडक खनेको भए पनि नेपालकै भूमि पथ्र्यो, अहिले भारतले त झन लिपुलेकमै सडक बनाएको छ । सीमाभन्दा धेरै नै वर आएर उसले सडक खनेको छ ।
यो अवस्था कसरी सृजना भयो?
यो पुरै भारतको जबर्जस्ती हो । नेपाललाई यिनिहरु को हुन् र भनेको, अनि हामीलाई गन्दै नगनेको हुनाले यो अवस्था सृजना भयो ।
यसमा त चीनको पनि सहमति थियो, होइन र ?
मलाई पुरापुर थाहा त छैन, तर चीनको सहमति पनि होला भन्ने लाग्छ । लिपुलेकमा ब्यापारिक मार्ग बनाउने दुई देशको सहमति भएको थियो क्यारे । त्यसैअनुसार भारतले बाटो खनेको हो ।
तर एउटा कुरा हामीले दह्रो गरी उठाउनुपर्छ र त्रिदेशीय बिन्दु पहिचान गर्नुपर्छ । अहिलेसम्म त्रिदेशीय बिन्दु नै निधो भएको छैन । पहिले भारतले मिचेको भूमि फिर्ता गर्नुपर्छ तथा नेपाल, भारत र चीनबीचको त्रिदेत्रीय सीमाको निधो गर्नुपर्छ ।
भारतले महिनौसम्म ठूल्ठूला उपकरण प्रयोग गरेर सडक खनुञ्जेल हाम्रो सरकारले थाहा पाएन होला र पाएर पनि चुप रहेको होला ?
किन थाहा नहुनु, नेपाल सरकारलाई थाहा थियो, बोल्न चाँहि नसकेको होला । भारतमा रहेको राजदूतावासमा सोध्दादेखि पनि हामीले नेपाल सरकारलाई पहिले नै खबर गरेका थियौं भन्यो रे । सरकारलाई थाहा नहुने कुरा त पक्कै होइन । शायद बोल्न सकेनन् होला ।
सीमाको बारेमा दुवै देशमा धेरै समितिहरु बने, टोली बने, कयौं प्रतिवेदन पनि बने । तर पनि भारतले एकलौटी रुपमा सीमामा किन यस्ता हर्कत गर्छ ?
भारतीयहरुको मानसिकतामा नेपाल स्वतन्त्र र सार्वभौम देश हो भन्ने नै छैन । नेपालको पनि छुट्टै पहिचान छ, यसका पनि हाम्रा जस्तै संवेदनशील कुराहरु छन् भन्ने भारतले सोच्दै सोच्दैन ।
सीमाका विषयमा नेपालसँग पनि छलफल गर्नुपर्छ र सहमतिमा जानुपर्छ भन्ने भारतलाई लाग्दैन । नेपाल त कोही पनि होइन भन्ने व्यवहार गरिरहेको छ । नेपालको मामलामा हामीले जे गरे पनि हुन्छ भन्ने भारतीयको निरंकुश सोच भएकैले नै बारम्बार हाम्रो सीमामा धावा बोल्छ, हाम्रो सम्प्रभुतामा हस्तक्षेप गर्छ । भारतका कुनै पनि प्रधानमन्त्री र प्रशासनले नेपाललाई राम्रो नजरले हेरेका छैनन् ।
सीमाको बारेमा कुरा गरौं भन्दा भारतले आपत्ति त जनाउँदैन, तर कुरा गर्न पनि चाहँदैन । ईपीजी लगायतका कयौं संयन्त्र बने, तिनले दिएको प्रतिवेदन भारतले बुझ्नै चाहँदैन ।
भारतले यसरी हेप्नुमा के कुराले भूमिका खेलेको छ ?
हाम्रो यहाँको फोहोरी राजनीति, नेताहरुमा सत्ताको मात्रै लोभ, भारतको चाकडी यस्ता कुराले भूमिका खेलेको छ । नेताहरुलाई आफ्नो देशको सिमाना भन्दा कुर्सी प्यारो भएपछि भारतले हेप्नु स्वभाविक हो नि । कुर्सी जोगाउन जुनसुकै शर्त पालना गर्छौं भनेर दिल्ली पुग्ने नेताहरुलाई भारतले कुन दृष्टिले हेर्छ होला भन्नुस् त । नेपाली नेताहरुलाई फुटाउने, यहाँ झगडा गराउने अनि आफ्नो स्वार्थ पूरा गर्ने भारतको चलन हो । यहाँ जे जे हुन्छ, सबै भारतको इशारामा हुन्छ, अनि उसले सीमा मिच्दैन होला त ?
भारतसँग पटक पटक छलफल हुने, विभिन्न समिति बन्ने अनि प्रतिवेदन बुझाउने काम हुन्छ, तर सीमा मिच्न भारतले छाडेको छैन । अब नेपाल कसरी अघि बढ्नुपर्ला ?
हामी सानो देश हौं, भारतसँग युद्ध गरेर र विवाद गरेर यो विषय टुंगोमा पु¥याउन सकिन्न । भारतले यत्तिकै मान्ला जस्तो मलाई लाग्दैन, त्यसैले यो कुरालाई हामीले अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । भारतले यसरी नेपालको सीमामा सडक खनेको कुरालाई संयुक्त राष्ट्रसंघको महासभामा उठाउनुपर्छ । सुरक्षा परिषद्मा भएका देशहरुलाई जानकारी गराएर सुरक्षा परिषदमा पनि यो विषयलाई नेपालले उठाइदिन भन्नुपर्छ ।
त्यस्तै हाम्रा छिमेकीहरुलाई पनि लौ न भारतले यस्तो हर्कत गरिरहेको छ भनेर जानकारी दिनुपर्छ । उनिहरुको पनि सहयोग खोज्जुपर्छ र आवाज बलियो बनाउनुपर्छ । भारतसँग मात्रै कुरा गरेर यो कुराको समाधान निस्कन्छ भन्ने मलाई लाग्दैन ।
यदि वार्ता छलफल गरेर मान्ने भए आजसम्म सीमाको विवाद सकिसक्थ्यो होला । पछिल्लो समय भारतले नयाँ नक्सा जारी ग¥यो, हामीले असहमति जनाएर नोट पठायौं, तर उसले वास्तै गरेन । अब हामीजस्ता सानो देशको लागि एउटै बाटो भनेको संयुक्त राष्ट्रसंघ हो ।
अर्को कुरा चीनसँग पनि हामीले कुरा गर्नुपर्छ, उत्तरतर्फ त्रिदेशीय सीमाको लागि चीन पनि बोल्नुपर्छ र उसले पनि नेपालको कुरा सुन्नुपर्छ ।
भारतसँग उत्तर र पश्चिमको सीमामा मात्रै समस्या होइन, दक्षिणतर्फ पनि समस्या छ, के गर्न सकिन्छ दक्षिणको विषयमा ?
दक्षिणको सीमामा पनि भारतको बलमिच्याईं बढिरहेको छ । हामीले दक्षिणतर्फ तारबार लगाउन ढिला भइसकेको छ । अहिले यो कोरोना भाइरसले हामीलाई ठूलो पाठ पढाएको छ । यही मौकामा नेपालले तारबार लगाउनुपर्छ ।
खुला सिमाना हुँदा यताका मान्छे मारेर उता लैजाने, यता अपराध गरेर उता लुक्न जाने, हाम्रा नेपालीको वस्तुभाउ नै चोर्ने, लागुऔषध ओसारपसार गर्ने, अनाहकमा हामीलाई दुःख दिने, भन्सार छल्ने जस्ता कयौं अपराध भइरहेका छन् । यस्ता कुरालाई रोक्न तारबार नै लगाउनुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।