भक्तपुरमा घरबाहिर निस्कन निषेध

 जेठ १, २०७७ बिहीबार ७:३९:१३ | रासस
unn.prixa.net

भक्तपुर - सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुई जनामा कोभिड १९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । 

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बुधबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । 

प्रजिअ पाण्डेले जिल्लामा कोरोना सङ्क्रमण फैलिन नदिन लकडाउनलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको जानकारी दिँदै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नदिने गरी कडाइ गरेको जानकारी दिनुभयो ।

जिल्लामा कोभिड–१९ को जोखिम र समुदायमा सङ्क्रमण बढ्न नदिन कोही पनि सर्वसाधारणलाई घरबाहिर निस्कन नपाउने बताउँदै प्रजिअ पाण्डेले भक्तपुरबाट अन्यत्र जान यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको जानकारी दिनुभयो । 

अत्यावश्यक वस्तुबाहेक व्यापार, व्यवसाय, उद्योग कलकारखाना सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ भने भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यकबाहेकका व्यक्ति तथा सवारीसाधन निषेध गर्ने, स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको व्यवस्थापन एवं नियमन गर्ने, विपन्न एवं गरिबसहित खाद्यान्न अभाव भएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सङ्क्रमित व्यक्तिको यात्रा विवरणका आधारमा तत्काल कन्ट्रयाक्ट ट्रेसिङ गर्ने, उनीहरूको बासस्थान सिल गर्ने, उनीहरूका परिवारका सदस्यको तुरुन्त कोरोना परीक्षण र आवश्यक परे आइसोलेसनमा राखेर उपचार गर्ने निर्णय भएको छ । 

त्यस्तै जिल्लाका सबै नगरपालिकाले क्वारेन्टाइन चुस्त दुरुस्त राख्ने, वडामार्फत आफ्नो क्षेत्रमा बाहिरबाट आएकाको लगत सङ्कलन गर्ने, निगरानी गर्ने, कोरोना परीक्षण गराउने र त्यस्ता व्यक्तिलाई आवश्यकताअनुसार क्वारेण्टीनमा पठाउने र यसको समन्वय गर्ने निर्णय भएको छ ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, वीरदल गण सूर्यविनायक व्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलगायत चारवटै नगरपालिकाका प्रमुखको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया