धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ नियुक्त, चलखेल भएको माओवादीको...
मंसिर ११, २०८१ मंगलबार
बाग्लुङ - कोरोना सङ्क्रमणको जोखिम हुन नदिन सदरमुकाममा सञ्चालित बैंकले आलापालो गरी सेवा दिने भएका छन् ।
२८ बैंकमध्ये अधिकांश हप्ताको दुई दिन र केही तीन दिन खुल्ने भएका हुन् । बाग्लुङ नगरपालिका र बैंकर्स एशोसिएसनबीचको समझदारीमा यस्तो निर्णय भएको हो ।
बैंकले बिहान ११ देखि १ बजेसम्म मात्र सेवा दिने गरी प्रबन्ध मिलाइएको बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणि शर्माले जानकारी दिनुभयो ।
नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक आइतबार, मङ्गलबार र बिहीबार खुल्नेछ । ग्लोबल आइएमई, एभरेष्ट, सिटिजन, बैंक अफ काठमाण्डौ, सेञ्चुरी कमर्सियल, गण्डकी विकास बैंक, गरिमा विकास बैंक, ग्रिन डेभलपमेण्ट, हिमालयन र ज्योति विकास बैंकले आइतबार र बुधबार सेवा प्रवाह गर्नेछन् ।
यस्तै कुमारी, लक्ष्मी, माछापुच्छे, नबिल, नेपाल बंगलादेश, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक सोमबार बिहीबार खुल्नेछ ।
एनआइसी, एनएमबी, प्राइम कर्मसियल, कृषि विकास, साङ्ग्रिला विकास, नेपाल एसबीआइ र सिद्धार्थ बैंकले मङ्गलबार र शुक्रबार सेवा दिनेछन् । सबै बैंक एकसाथ खुल्दा सेवाग्राहीको भिडभाड हुने र कारोना सङ्क्रमणको जोखिम बढ्ने देखिएकाले आलोपालो गरेर बैंक खोल्ने निर्णय भएको बैंकर्स एशोसिएसनले जनाएको छ ।
खाद्यान्न पसल बिहान र साँझ मात्र खुल्ने
सरोकार भएका पक्षको बैठकले खाद्यान्न, तरकारी र फलफूल पसल पनि निश्चित समयमा मात्र खोल्ने निर्णय गरिएको छ । त्यस्ता पसल बिहान ६ देखि १० र साँझ ४ देखि ७ बजेसम्म मात्र खोल्ने निर्णय भएको बागलुङ नगरपालिकाले जनाएको छ ।
दिनभर पसल खोल्दा अनावश्यकरूपमा मानिसको आवतजावात बढेपछि कडाइ गरिएको हो । व्यवसायी तथा उपभोक्तालाई पनि केही समय जिल्लामै उत्पादित तरकारी बेच्न र उपभोग गर्न भनिएको छ ।
बाहिरबाट हुने खाद्य पदार्थको ढुवानीलाई समेत केही समय रोक्न आग्रह गरिएको छ । सदरमुकामबाट गाउँमा अत्यावश्यक खाद्य पदार्थ ओसार्ने सवारी साधान पनि बिहान, बेलुकाको समयमा मात्र सञ्चालन हुने भएका छन् ।
स्थानीय प्रशासनले बिहीबारदेखि बन्दाबन्दीलाई थप कडा तुल्याएको छ । जिल्ला बाहिर जाने सबै सवारी अनुमतिपत्र रद्द गरिएको छ । शनिबारदेखि जिल्लाभित्र जारी गरिएको सवारी अनुमतिपत्र पनि खारेज हुने भएको छ ।
बागलुङ कोरोना सङ्क्रमणको उच्च जोखिममा छ । गएको चैतमा भेटिएका दुई सङ्क्रमित उपचारपछि निको भएपछि थप सङ्क्रमण हुन नदिन उच्च सतर्कता र निगरानी बढाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।