प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
रुकुम पश्चिम - लकडाउनका कारण कालोपत्रेको काम अन्तिम चरणमा पुगेकाे मध्यपहाडी लोकमार्गको काम राेकिएकाे छ ।
रुकुम पूर्वको भुमे पाथिहाल्नादेखि रुकुम पश्चिमको चौरजहारीसम्म कुल १ सय २३ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्गको सडकखण्डमा सात वटा उप-खण्ड कायम गरिएको छ।
यसमध्ये दुईवटा उप-खण्ड अन्त्तर्गत ३२ किलोमिटर गएको वर्ष नै कालोपत्रे भैसकेको, तीनवटा उप-खण्डको ६७ किलोमिटरमा आउँदो असार समान्तसम्म कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम थालिएको थियो ।
तर, कालोपत्रेको काम अन्तिम चरणमा पुगेका बेला कोरोना भाइरसको कारण भएको लामो लकडाउनले काम ठप्प भएकाे छ । सरकारले विशेष सावधानी अपनाएर निर्माणको कामलाई अघि बढाउन सकिने भनेर भनेपनि राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको रुकुम पूर्व-पश्चिम खण्डको निर्माणको काम भने रोकिएको छ ।
स्वास्थ्य सावधानी अपनाउँदै ठूला आयोजनाहरु सञ्चालन गर्न सरकारले भन्छ । तर, यस परियोजना लकडाउनको बहानामा साढे एक महिनायता रोकिएको छ ।
जनशक्ति र सामग्रीको अभाव : निर्माण व्यवसायी
लकडाउनका कारण घर गएका कामदार नफर्केको र अन्य प्राविधिक समस्याका कारण काम रोक्नुपरेको लोकमार्ग निर्माण जिम्मा लिएका कम्पनीहरुको भनाइ छ ।
निर्माण व्यवसायी संघ रुकुम पश्चिमका अध्यक्ष समिरजंग मल्लले जिल्लामा दक्ष जनशक्ति नभएकोले व्यवसायीहरुलाई काम सञ्चालनमा समस्या आएको बताउनुभयो । उहाँले आवश्यक सामाग्रीहरु स्टक नहुँदा पनि काम नियमित गर्न नसकेको उल्लेख गर्नुभयो ।
मजदूरको सट्टा मेसिनले काम गराउन आग्रह : आयोजना कार्यालय
मध्यपहाडी लोकमार्ग आयोजनाको कार्यालय दैलेखले व्यक्तिगत सुरक्षालाई ध्यान दिएर काम गर्न सकिने बताएको छ । तर, मेसिनमार्फत गरिने कामसमेत चालक नहुँदा प्रभावित बनेको छ ।
मध्यपहाडी लोकमार्ग कार्यालय दैलेखका सब-इन्जिनियर तेजेन्द्रकुमार चन्दले सामाजिक दूरी कायम गरेर मजदूरले भन्दा पनि मेसिनले काम गर्ने कुरालाई प्राथमिकता दिनु भनेर सहजिकरण गरिरहेको जनाउनुभयो ।
स्थानीय जनशक्ति उपयोग गर्ने मौका : प्रजिअ
रुकुम पश्चिमका प्रमुख जिल्ला उपेन्दराज पौड्यालले यसअघि काममा रहेका कामदारलाई जिल्ला बाहिरबाट कार्यक्षेत्रमा फर्काउदा कोरोना भाइरस संक्रमणको जोखिम हुनसक्ने भन्दै स्थानीयलाई नै निर्माणको काममा जोड्न भनेको जनाउनुभयो ।
प्रजिअ पौड्यालले कार्यरत बाहिरी जिल्लाका मजदूरहरुलाई फेरी यतायता गराउदा जोखिम बढ्ने भएकाले यहीका मजदुरहरु परिचालन गर्न अनुरोध गरेको बताउनुभयो । मजदुर र मालसामानको समस्या देखाएर निर्माण व्यसायीहरुले काम रोक्ने बहाना गर्न नपाउँने उहाँले स्पष्ट पार्नुभयो ।
जिल्लामा अरु पनि विकास निर्माणका आयोजनाहरु रहेपनि कतिपयलाई लकडाउन बहाना बनेको छ भने कतिलाई निर्माण रोक्नु बाध्यता रहेको छ ।