बन्द गरेर मात्रै कोरोना रोकथाम हुँदैन, 'लकडाउन'लाई फरक हिसाबले बुझौँ

 जेठ ४, २०७७ आइतबार १४:४०:२० | सुमन दाहाल
unn.prixa.net

विश्वव्यापी कोरोनाको महामारी फैलिएको अवस्था छ । जनवरी २२ मा पाँच सय ८० जनामा देखिएको सङ्क्रमण पहिलो महिनामा ७८ हजारले, दोस्राे महिनामा दुई लाख ५० हजारले, तेस्राे महिनामा २३ लाखले र चौथो महिनामा आजसम्म २१ लाखले बढेको देखिएको छ । दोस्राे महिना फेब्रुअरीबाट मार्चमाभन्दा मार्चबाट अप्रिलमा १२ सय गुणाले बढेकोमा अप्रिलबाट मे महिनाको आजसम्म हेर्दा वृद्धिदर ऋणात्मक देखिन्छ । अर्थात् बृद्धि त भैरहेको छ, गएको महिनाको तुलनामा बढेको छैन । 

अप्रिल २४ मा मात्र एकदिनैमा एक लाख सङ्क्रमित भएका थिए । अरु कुनै पनि दिनमा सङ्क्रमणको दर एक लाख नाघेको छैन । कुल ४७ लाख सङ्क्रमितमा झण्डै ३८ प्रतिशत अर्थात् १८ लाख निको भइसके, बाँकी सङ्क्रमित २६ लाखमध्येमा पनि १ दशमलव ७२ प्रतिशत अर्थात् ४८ हजारमात्र गम्भीर छन् । कुल सङ्क्रमितको सङ्ख्यालाई हेर्दा मृतकको सङ्ख्या ६ दशमलव ६७ प्रतिशत हुन आउँछ ।

याे मानव जीवन नै समाप्त हुने महामारी नभएको हुँदा फेरि पनि मानवीय जीवन चलाउनु नै पर्ने भएकोले सावधानीपूर्वक हाम्रा गतिविधि नियमित गरौँ ।  

ठ्याक्कै भन्न त कसैले सकेका छैनन् । अनुमान मात्र लगाउने हो सबैले । हामीले लगाउने अनुमान भनेको पनि सकारात्मक र आशावादी सोच राखेर हाम्रासामु रहेका तथ्य र हाम्रा अनुभवलाई हिसाब गरेर नै हो । अहिलेको तथ्य हेर्दा अबका महिनाहरुमा महामारीको फैलावट बिस्तारै कम हुँदै जान्छ । तर हामीले के अनुमान चाहिँ लगाउन सक्दैनौँ भने यो कहिलेसम्ममा शून्यमा झर्छ भनेर । 

यसलाई मार्न वा निर्मूल गर्नका लागि हामीले कुनै अस्त्र वा यन्त्र अहिलेसम्म प्रयोग गरेका छैनौँ । हामीले गरेको/भनेको भइरहेको भाइरसलाई सर्न नदिनका लागि वा भनौँ नसरोस् भन्नका लागि मात्र प्रयत्नहरु गरिरहेका छौँ । 

तसर्थ,कोरोना पनि नसकिने र हामी पनि यसैगरी डराइरहने हो भने भोलिका दिन हामीलाई धेरै नै कष्टकर हुनेछन् । सम्भवतः हामी कङ्गाल बन्नेछौँ ।

कोरोनाबाट त बचिएला तर हामीले लड्न बाँकी धेरै यस्ता विविध भाइरसहरु छन् । तिनीहरुसँग लड्नका लागि चाहिने खजाना पनि हामीले यसै कोरोना अभियानमा स्वाहा पार्दैछौँ कि भन्ने चाहिँ सोच्नुपर्दछ ।  

समाज चलायमान बनाउने उपाय

पहिलो कुरा, निम्न कुराहरु/सन्देशहरु जनमानसमा प्रष्टसँग बुझ्ने भाषामा स्थानीयस्तरबाट बुझाऔँ । यति बुझेपछि नागरिकले आफै आफ्ना दैनिकी व्यवस्थित गर्नेछन् । 
– काेरोना भनेको सरुवा रोग हो । यो जोसुकैलाई पनि लागेको हुन सक्छ । तपाईँको परिवारको सदस्यलाई पनि हुनसक्छ । तसर्थ कसैको पनि विश्वास नगर्नुस् ।     ऊ त मेरै आफन्त वा साथी हो भनेर हेलचेक्र्याइँ नगर्नुस् । कोरोनाले साथीभाइ वा इष्टमित्र वा परिवार भन्दैन ।
– कोरोना मानिसको हाच्छिउँ गर्दा वा थुकबाट सर्न सक्छ । तसर्थ अरुको नजिक जाँदा मास्क (मुखावरण) अनिवार्य लगाऔँ । 
– प्रहरीको आँखा त छल्न सकिएला, समाजको आँखा त छल्न सकिएला तर कोरोना तपाईँमा सर्न सक्छ र तपाईँमा रहेछ भने अर्कोलाई सर्न सक्छ । 
– सवारी पास दिने भनेको तपाईँको जोखिममा हिँड्नका लागि दिइने अनुमति हो । यसमा जोखिमको जिम्मा तपाईँकै रहन्छ । यो अनुमति कोरोनाले दिएको हैन  । बाटोमा तपाईँले बहुमूल्य सामान छोड्नुभयो, त्यो छोड्नका लागि कसैले असहमति जनाएन अर्थात् अनुमति दिए भने पनि त्यो सामान त्यहाँ छोड्न हुन्छ कि हुँदैन भन्ने कुरा कसले जान्नुपर्दछ ? समाजले, प्रहरीले वा तपाईँ आफैले ? हो, त्यस्तै हो यो कोरोनाको डर पनि, तपाईँ आफैले जान्नुपर्दछ । 
– स्वयंसेवक भनेको पनि कोरोनाले खटाएका हैनन् । उनीहरुलाई पनि सङ्क्रमण हुन सक्दछ । प्रहरी वा स्वास्थ्यकर्मीलाई पनि कोरोना भएको हुन सक्छ वा सर्ने सम्भावना हुन्छ । 
– अत्यावश्यक सेवामा खटिएकाहरुबाहेक बाहिर ननिस्किनुहोला भनेको के हो भने अरु सबै घरमै सुरक्षित रहनु हाे । तर अत्यावश्यक सेवाका व्यक्तिहरुको जिम्मेवारी यस्तो हुन्छ कि उनीहरु बाहिर जस्तोसुकै डर भए पनि निस्कनै पर्दछ भन्ने हो । 
– बाहिर सयौँ बाघ, भालु, सर्प, बिच्छी छोडिएको छ भन्ने सोच्नुहोस् तपाईँ बाहिर निस्किएमा त्यसको सिकार हुन सक्नुहुन्छ । तर यस्तो डरलाग्दो बेलामा पनि     अत्यन्त जरुरी काम भएकाहरु त निस्कनु नै पर्‍याे । हो, त्यस्तो बेलामा सावधानीका उपायहरु अपनाउनुपर्छ भनिएको हो । 

दोस्राे कुरा सिमानामा नेपाल छिर्नका लागि आएकाहरुलाई उनीहरुको स्थायी ठेगाना रहेको सम्बन्धित गाउँपालिकासम्म पुर्‍याएर स्थानीय गाउँलेकै पहलमा नै क्वरेण्टीनको व्यवस्था गरौँ । 

सीमामा रोकिएका कारण, नागरिक लुकिछिपी गाउँ पसेका कारण अहिले यो सङ्क्रमणको सङ्ख्या बढेको देखिएको छ । पालिकामा रहेका पदाधिकारी तथा अगुवाहरुको पहलमा गाउँमा यसको व्यवस्थापन गरौँ । यसको लागि सबैले केन्द्र सरकारकै मुख ताक्नु आवश्यक छैन । 

क्वरेण्टीन तपाईँहरुकै लागि हो । यो तपाईँ र तपाईँको परिवारको हितका लागि हो । यसले तपाईँलाई समाजको अनुशासन पालना गरेकोमा उच्च सम्मान गरेको छ भन्ने भाव जगाउनु आवश्यक छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन दाहाल

दाहाल भन्सार विभागका महानिर्देशक हुनुहुन्छ ।

1 Comments

  • Sudip Gautam

    May 17, 2020, 4:32 p.m.

    सर लाइ भन्सार नचलेर गारो भएजस्तो छ . यसो गर्नु भनेर कोरोना ले सर लै फोन मा भनेको हो सर

  •  0 Reply

तपाईको प्रतिक्रिया