रोल्पा र दाङका ३ दर्जन मजदुर रामेछापमा अलपत्र

 जेठ ५, २०७७ सोमबार १८:४:४७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रोल्पा र दाङ जिल्ल्ला घर भएका तीन दर्जन मजदुर मन्थलीमा अलपत्र परेका छन् । रामेछापको उमाकुण्ड गाउँपालिकामा निर्माणाधिन सडक निर्माणको काम गर्दै आएका ती मजदुरहरु काम रोकिएपछि घर फर्कने क्रममा मध्य बाटाेमा नै अलपत्र परेका हुन् । 

३५ जनामध्ये १० जना आइतबार दिउँसो सदरमुकाम मन्थली आइपुगेकाे र बाँकी सबै सोमबार साँझसम्ममा मन्थली नै आइपुग्ने पीडितहरुले बताएका छन् ।रातको समेत परवाह नगरि झण्डै तीन दिनको कठिनपूर्ण यात्रापछि आइतबार बिहान मन्थली आएका सबै मजदुरहरु थकान र भोकले लखतरान देखिएका थिए । 

उनीहरुको बारेमा जानकारी पाएपछि सबैलाई खानपानको व्यवस्था रामेछाप उद्योग वाणिज्य सङ्घले मिलाएको र बाँकी आउँदै गरेका कामदारहरुलाई पनि खाने प्रबन्ध मिलाइने सङ्घका कार्यकारी अधिकृत नविन केसीले जानकारी दिनुभयाे ।  

उहाँले भन्नुभयाे, ‘घर हिँडेका मजदुरहरुले होटल तथा पसलहरु बन्द भएका कारण खान पाएका छैनन् । खाना, खाजा र पानी खान नपाएका मजदुरहरुलाई हामी खानापिनाको व्यवस्था गर्दैछाैँ ।' 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसकाे कारण सरकारले गरेको लकडाउनकाे कारण आफूले श्रम गरेको रकमसमेत ठेकेदारले नदिएको मजदुर विशाल भण्डारीले गुनासो गर्नुभयो । उहाँले तत्काल लकडाउन हट्ने अवस्था नदेखेपछि विना बाटो खर्च नै आफूहरु घरतर्फ लागेको उहाँले गुनासो गर्नुभयो । 

उहाँले लकडाउन र सम्भावित कष्टको बारेमा थाहा पाएर पनि आफूहरु घर जान लागेको बताउनुभयो । 

उनीहरुको अवस्थाका बारेमा जानकारी पाउनासाथ आफूले सम्बन्धित निर्माण व्यवसायीसँग समन्वय गरी उनीहरुलाई घर पठाउनका लागि पहल सुरु गरिसकेको जिल्ला प्रशासन कार्यालय रामेछापका उपप्रशासकीय अधिकृत भोला दाहालले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया