दिलबहादुरको पीडा - 'आमाको मृत्यु हुँदा भारतको लकडाउनमा थिएँ, काजकिरिया गर्ने बेला नेपालको क्वरेण्टीनमा छु'

 जेठ ६, २०७७ मंगलबार १८:४:३७ | नेत्र शाही
unn.prixa.net

जुम्ला - राति १० बजे नेपाल भारत सीमाको जमुनाहा नाकाबाट दिलबहादुर रोकायाले भारतले नेपालको सिमानामा हामीलाई ल्याइपुर्यायो, अब कता जाउँ ? भन्दै चिनेजानेका सबैलाई फोन गर्नुभयो । तर मध्यराततिर उहाँको केही लागेन । खाना खान नपाएर अलपत्र अवस्थामा उहाँसँगै सयौँले खुला ठाउँमा रात बिताए । 

जुम्लाको हिमा गाउँपालिकाका रोकायाले लकडाउनले धेरैलाई समस्या पार्यो तर गाउँमा आमाको मृत्यु हुँदा पनि आफू सीमा नाकाबाट घर जान नसकेको पीडा सुनाउनुभयो । भारतमा मजदुरी गर्न गएका जुम्लाका २७ जनाको समूहसहित कर्णालीका २ सय ५० भन्दा बढी मानिसलाई भारतले जमुनाहा सीमा नाकामा पुर्यायो । त्यसअगावै सात सयभन्दा बढी नेपाली नेपालगञ्ज आइसकेका थिए । 

जमुनाहा सीमामा आएका जुम्लाका २७, हुम्लाका एक र मुगुका एक जना गरी २९ जनालाई कडा सुरक्षा व्यवस्थासहित नेपालगञ्ज हुँदै २ दिन लगाएर जुम्ला पुर्याइयो र कर्णाली प्राविधिक शिक्षालयको क्वरेण्टीनमा राखियो । रोकायालाई पनि उद्धार गरेर प्राविधिक शिक्षालयको क्वरेण्टीनमा राखिएको छ । उहाँले क्वरेण्टीनबाटै फोनमार्फत आमाको मृत्यु भएको समयमा पनि घर जान नपाएको यो कस्तो परिस्थिति आयो भन्दै मलीन स्वरमा पीडा पोख्नुभयो । 

गएको वैशाख ३ गते उत्तर प्रदेशको अयोध्यामा लकडाउनमा बसिरहेका वेला उहाँले गाउँमा आमाको मृत्यु भएको खबर पाउनुभयो । चैत्र महिनामै घर आउने उहाँको योजना थियो । तर भारतले चाँडै लकडाउन गरेकोले उहाँको योजना सफल भएन । 

लकडाउनमा अड्किएको वेला आमा बाचुँकला रोकायाको निधन भएपछि उहाँको मनले मानेन । अयोध्याबाट नेपालको लागि पैदलै यात्रा सुरु गर्नुभयो । भोकै दुई दिनसम्म हिँडेपछि बीच बाटोबाट भारतीय प्रहरीको ट्रकले उहाँलाई रुपैडिहा पुर्यायो । त्यहाँ थप कडा भएकोले उहाँ फेरि बाबागञ्ज फिर्ता हुनुभयो र क्वरेण्टीनमा बस्नुभयो । आमाको मृत्युमा एक्लो छोरा सीमाबाट छिर्न नसक्दा घरमा काजकिरिया कसले गर्यो होला भन्दै उहाँ रुदै बस्नुभयो । ‘अहिले पनि क्वरेण्टीनमा सेतो कपडामा बसेको छु,’ उहाँले भन्नुभयो । 

आउँदो जेठ १७ गते ४५ दिनको तिथि हुन्छ । त्यो समयमा पनि उहाँ घर जान पाउनुहुन्न । अहिले सङ्कटको समय भएकोले आमाको मृत्युको पीडालाई बिर्सिएर एक महिना भएपनि क्वरेण्टीनमा बस्ने उहाँ बताउनुहुन्छ । 

यसरी सरकारले उद्धार गरेर गृह जिल्ला पुर्याउला भन्ने उहाँले कल्पना गर्नुभएको थिएन । आफ्नो जिल्ला आएपछि सरकारले गरेको कामप्रति धन्यवाद दिँदै रोकायाले ढिलै भएपनि परिवारका सदस्यसँग भेट हुन्छ भन्ने आशा पलाएको बताउनुभयो । न पकेटमा पैसा थियो न भेटभरि खाना पाइन्थ्यो । आमाको मृत्युको खबर सुनेपछि पीडाका बीच कयौँ दिन दुःखमा बितेको उहाँले सुनाउनुभयो । 

रोकायासँगै भारतबाट आएकाहरुले लकडाउनमा डेढ महिना परेर सीमामा धेरै दुःख पाए । ‘भारतबाट फर्किने क्रममा दुई छाक भोको रहेपछि बल्ल नेपालगञ्जमा खाना खायौँ । त्यहाँबाट जुम्ला पुग्दा ४ छाकपछि खाना खान पायौँ,’ उहाँले भन्नुभयो । अहिले खाना, नास्ता र योग समेत गर्न सिकाइएको  र व्यवस्थित रुपमा प्राविधिक शिक्षालयको क्वरेण्टीनमा बसेको हिमा गाउँपालिका वडा नम्बर १ का गगनबहादुर शाहीले बताउनुभयो । 

पछिल्लो समय जिल्लाका सरोकारवालाहरु र सबै गाउँपालिकाले एकीकृत क्वरेण्टीनको रुपमा प्राविधिक शिक्षालयलाई तय गरेपछि हिमा गाउँपालिकाका २५ जनासहित २९ जना त्यहाँ बसिरहेका छन् । हिमा गाउँपालिकाका अधिकांश नागरिक क्वरेण्टीनमा रहेकाले त्यस गाउँपालिकाले क्वरेण्टीनलाई आर्थिक सहयोग गरेको छ । उनीहरुलाई प्रहरी र सेनाले सुरक्षा दिइरहेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया