नरैनापुरका काेराेना सङ्क्रमितलाई २४ घण्टापछि नेपालगञ्ज ल्याइयाे

 जेठ ६, २०७७ मंगलबार २०:३३:३९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –  नरैनापुर गाउँपालिकामा सोमबार काेराेना सङ्क्रमण पुष्टि भएका ५९ जनालाई २४ घण्टापछि नेपालगञ्ज ल्याइएको छ ।

जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रकाे बैठकले २५ जनालाई लायन्स डेन्टल अस्पताल र ३४ जनालाई कोहलपुर पिपरीकाे कृषि तालिम केन्द्रमा राख्ने निर्णय गरे अनुसार नरैनापुरका सङ्क्रमितलाई मङ्गलबार साँझ नेपालगञ्ज ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहका अनुसार २८ जनालाई लायन्स डेन्टल अस्पतालमा राखिएको छ । अन्य विरामीहरु आउने क्रममा रहेको सिंहले बताउनुभयो ।

सात महिनाकी शिशुसहितकी एक महिलालाई खजुराकाे सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राख्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिनुभयो ।

लायन्स डेन्टललाई नेपालगञ्ज उपमहानगरपालिकाको पहलमा दुई महिना पहिले कोरोना विशेष अस्थायी अस्पतालको रुपमा स्थापना गरिएको हो । यसअघि प्रशासनले सोमबार साँझ नरैनापुरमा रहेको लक्ष्मणपुर प्राथमिक केन्द्रमा सङ्क्रमितलाई राख्ने निर्णय गरेपछि नेपालगञ्जमा बेड सङ्कलन गरिएको थियो । मङ्गलबार फेरि नेपालगञ्ज ल्याउने निर्णय भएको हो ।

दिउँसो नरैनापुरमा केही स्थानीयले सङ्क्रमितलाई अन्यत्र लैजान नदिने भन्दै विरोध गरे भने कोहलपुर पिपरीमा समेत सङ्क्रमित राख्न नहुने भन्दै स्थानीयले विरोध जनाएका थिए । नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले मङ्गलबार साँझ सङ्क्रमित सबैको खानाको व्यवस्था नेपालगञ्ज उपमहानगरपालिकाले गर्ने बताउनुभयो । लायन्स डेन्टलमा उपमहानगरपालिकाका स्वास्थ्यकर्मी परिचालन गरिएको उपप्रमुख थापाले बताउनुभयो ।

जिल्लास्तरीय केन्द्रले खजुरा अस्पतालको सम्पूर्ण भवनलाई कोरोना सङ्क्रमितको उपचारका लागि प्रयोग गर्ने गरी निर्णयका लागि केन्द्रीय सङ्कट व्यवस्थापन केन्द्रमा सिफारिस गरेको छ । बैठकले लक्षण नभएका सङ्क्रमितलाई आइसोलेशन केन्द्रको रुपमा राख्नका लागि खजुराकाे कृषि व्यवसाय सहयोग प्रवर्द्धन तथा तालिम केन्द्र र लक्षण भएकालाई कोहलपुरकाे शिक्षण अस्पताललाई उपयोग गर्ने गरी निर्णय गर्न केन्द्रमा सिफारिस गरेको छ ।

यसैगरी परीक्षण, उपचार, मृतकको शवको व्यवस्थापनलगायतका कार्यका लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्री र किट्सको थप व्यवस्थापनका लागि केन्द्रमा अनुरोध गर्ने निर्णय गरेको छ । बाँकेको नरैनापुरमा एक जना मृतकसहित ६८ जनामा सङ्क्रमण देखिएको छ भने नेपालगञ्जमा २५ जनामा सङ्क्रमण देखिएकाे छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया